वास खवर सम्वाददाता/कलैया (बारा) : समयमा नै उपयुक्त सफाइ नहुँदा र सामान्य मर्मतसम्भारको अभावमा करिब ४० प्रतिशत संस्थागत खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाहरु प्रयोगविहिन बन्छन् । यसको सबैभन्दा ठूलो मार विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने विरामी तथा उनीहरुका सहयोगीहरुलाई पर्दछ ।
जीवनदर्शन सिक्ने विद्यालय र जीवनदान पाउने स्वास्थ्य संस्थामा नै खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाहरुको उपयुक्त सरसफाइ, नियमित मर्मतसम्भार तथा स्तरोन्नति नहुँदा त्यसले समुदायमा पार्ने सकारात्मक प्रभावमा समेत कमी आएको छ ।
कुनै पनि कार्यालयमा सरसफाइको जिम्मेवारी कार्यालय सहयोगीहरुले नै सम्हालि रहनुभएको हुन्छ । कार्यालय सहयोगीहरुमा मर्मत सम्भारको सामान्य प्राविधिक हुन सकेमा पनि खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाहरुको समुचित प्रयोग वृद्धि हुन्छ ।
यसै तथ्यलाई मध्यनजर गर्दै, विद्यालय तथा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीहरुको क्षमता अभिवृद्धि गरी संस्थागत खानेपानी तथा सरसफाइ सुविधाहरुको मर्मत सम्भार गर्न सक्षम बनाउने उद्धेश्यले बारा, पर्सा र रौतहटका १८ विद्यालय र बारा तथा पर्साका ४ स्वास्थ्य चौकीका कार्यालय सहयोगीहरुहरुलाई मर्मतसम्भार तालिम दिइएको छ ।

युनिसेफ नेपाल र स्थानीय सरकारसँगको सहकार्यमा पानी वातावरण र जीवन संस्था (वेल) द्वारा संस्थागत खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम अन्तर्गत विद्यालय र स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीहरुको लागि दुई दिने खानेपानी, सरसफाइ तथा स्वच्छता सुबिधाहरुको संचालन, संभार तथा मर्मत सम्वन्धि २ दिने तालिम मंगलबार सम्पन्न भयो ।
तालिममा विद्यालय तथा स्वास्थ्य चौकिमा निर्माण गरिएका खानेपानी, सरसफाइ सुविधाहरुको समुचित प्रयोग, मर्मतसम्भार तथा सामान्य स्तरोन्नतिसम्बन्धी विषयबस्तु समावेश गरिएको पानी वातावरण र जीवन संस्थाका टिम लिडर यज्ञ श्रेष्ठले जानकारी दिनुभयो ।
तालिमको सहजीकरण वेलका टिमलिडर इञ्जिनियर यज्ञ श्रेष्ठ, युनिसेफ जनकपुर कार्यालयका वास अफिसर सुनिता सुल्फे तथा इञ्जिनियर गेहेन महर्जन र बारा जिल्ला को-अर्डिनेटर उमाशंकर यादव र सामुदायिक प्राविधिक सत्यराज सुवेदीले गर्नुभएको थियो ।
युनिसेफ नेपालका वास अफिसर सुनीता सुल्फे के.सी. ले तालिमबाट सहभागीहरुको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि भएकोले यसलाई व्यवहारिक रुपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

सिंहासनी स्वास्थ्य चौकीका संगीता कुमारी चौधरी र ज्ञान ज्योती आधारभूत विद्यालयका जवाहर महतोले आफूहरुले सिकेको कुरा ब्यवहारिक रुपमा आफ्नो घर, विद्यालय तथा समुदायमा ब्यवहारिक रुपमा लागू गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रल्हाद प्रसाद बर्नवालले प्रमाणपत्र प्रदान गर्दै साझेदार संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।


1718 पटक हेरिएको 

