अब बन्ने कमलपोखरी वरिपरी चिल्ड्रेन पार्क, ढुंगेधारा र अपाङ्गमैत्री शौचालय समेत हुने

🔗
58
Shares

काठमाडौ : काठमाडौँ महानगरपालिकाले पुनः निर्माण गरिरहेको कमलपोखरी वरिपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने भएको छ । काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुल ढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिनुभयो । पोखरी पुनःनिर्माण गर्दा पोखरीको आकारमा एक इन्च पनि नमिचिने गरी डिजाइन तयार पारिएको उहा्ँले बताउनुभयो ।

पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिनेछ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँच ओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाको तयारी छ । पोखरी छिर्ने गेटलाई भने नेपाली स्वरुप दिइने सहरी पूर्वाधार विकास विभाग प्रमुख थापाले बताउनुभयो ।

कमलपोखरीको पहिलो चरणको पुनःनिर्माण चैत मसान्त सम्ममा सम्पन्न गर्ने गरी तिव्र गतिमा काम भईरहेको महानगरपालिकाले जनाएको छ । केही दिनमै कमलपोखरीमा साढे दुई करोड लिटर पानी भर्ने महानगरपालिकाको तयारी छ । पुनर्निर्माणकै क्रममा आकाशेपानी पोखरीमा जम्मा हुने व्यवस्था मिलाएको र अब केही दिनमै पहिलो चरणमा पोखरीमा टनाटन पानी भरिने काठमाडौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताउनुभयो ।

महानगरपालिका प्रमुख शाक्यले पहिला बेवारिसे र फोहोर जमेको पाखरीलाई परम्परागत, सांस्कृतिक र पर्यटकीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको बताउनुभयो । संघीय र प्रदेश सांसद तथा स्थानीयको सल्लाह अनुसार नै कमलपोखरीमा कंक्रिट प्रयोग भएका भौतिक संरचना भत्काएकाले पोखरीमा कंक्रिट प्रयोग गर्ने भन्ने कुरा भ्रम फैलाउने प्रयास मात्रै उहाँको भनाइ छ ।

कसैले व्यक्तिगत स्वार्थ राख्दै अवरोध नगर्ने हो भने यही चैत भित्रमा पोखरी पुनःनिर्माणको पहिलो चरणको काम सम्पन्न हुने उहाँको दाबी छ । ‘दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बीट जुन भत्काइसकेका छौँ त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ, कमलपोखरीमा केहीले राजनीतिक मिसन चलाउने ढंगले महानगरपालिकाले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्यो भनी आरोप लगाए । म फेरि भन्न चाहन्छु । त्यो आरोप मिथ्या हो । अरुलाई भ्रमित पार्न चलाएको राजनीतिक मिसन बाहेक केही होइन । कंक्रिटको पोखरी बनाउने भन्ने महानगरपालिकाको कुनै योजना छैन र डिजाइनमा पनि त्यस्तो कतै छैन ।’ उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुनर्निर्माण भैरहेको कमलपोखरी करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको महानगरपालिकाका इञ्जिनियर प्रेम श्रेष्ठले बताउनुभयो ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार