
ललितपुर : हात धुने बानीको विकास र स्वच्छता सम्बन्धी अन्य आनीबानीमा सुधार ल्याउन स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सफल भएको छ । परियोजनाद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरुले पारेको प्रभाव, घरधुरी सर्भेक्षण तथा अनुगमन, सेवाग्राहीहरुको प्रतिक्रिया, परियोजना सञ्चालन हुनुपूर्व र भए पश्चातको अवस्था विश्लेषण गर्दा हातको स्वच्छता लगायत अन्य आनीबानीमा सुधार ल्याउन परियोजना सफल भएको निष्कर्ष निकालिएको हो ।
कोभिड-१९ को रोकथाम र न्यूनीकरण गर्ने लक्ष्यका साथ वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले महालक्ष्मी नगरपालिकाको १० वटै वडामा स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सञ्चालन गरिएको थियो । डिफिड तथा युनिलिभरको आर्थिक सहयोग र अक्सफाम नेपालको प्राविधिक सहयोगमा सञ्चालित परियोजनाले कोभिड – १९ र स्वच्छताको कमीले हुने अन्य रोगहरुको रोकथामका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको एन्फोका वरिष्ठ वास कार्यक्रम अधिकृत सिर्जना शाक्यले जानकारी गराउनुभयो ।

उहाँले कोभिड – १९ को जोखिममा रहेका समुदायलाई केन्द्रित गरी रोकथाका लागि उपयुक्त, व्यवहारिक तथा प्रभावकारी व्यवहार परिवर्तनका विधिहरुको प्रयोग गरी घरधुरी र स्थानीय तहको क्षमता अभिबृद्धि सम्बन्धी विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिएको जानकारी गराउनुभयो ।
परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमहरु

परियोजना संयोजक एवं वरिष्ठ वास अधिकृत शाक्यका अनुसार परियोजना अवधिभित्र परियोजना सञ्चालित वडाहरुमा लक्षित समुदायको पहिचान गरी निम्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो । स्वच्छता सम्बन्धी कार्यक्रमहरु सन्चालनका लागि महालक्ष्मी नगरपालिकाको दश वटै वडामा एक एक जना सामाजिक परिचालक नियुक्त गरिएको थियो ।
१. २२ वटा संस्थाहरुमा गोडाद्वारा सञ्चालित हात धुने स्थानको जडान
परियोजनाले मानिसहरुको बढी चहलपहल हुने ठाउँ, सार्वजनिक स्थान, स्वास्थ्य संस्था लगायत स्थानमा २२ वटा हात धुने स्थान जडान गरिएको छ । बसपार्क, विद्यालय, स्वास्थ्य चौकी र मन्दिर जस्ता ठाउँमा हात धुने स्टेशनहरु जडान गरिएको वरिष्ठ वास अधिकृत शाक्यले जानकारी गराउनुभयो ।
२. १०५० घरपरिवारलाई बाल्टिन तथा स्वच्छता सामग्री वितरण
परियोजना मार्फत वडा नं. १ देखि १० सम्मका गरी १०५० घरपरिवारलाई हात धुने अभ्यासका लागि बाल्टिन तथा स्वच्छता सामग्री वितरण गरिएको छ । स्वच्छता सामग्री भित्र ह्याण्ड वास, स्यानिटाइजर, साबुन र निर्मलीकरण झोल समेत राखिएको थियो । यस्ता सामग्री पाउनेमा सबै भन्दा बढी अर्थात ४३३ जना महाडी आदिवासी जनजाति छन् भने ३२९ जना दलित समुदायका छन् । यस्तै २७६ जना ब्राम्हण क्षेत्री, घरपरिवार तराई आदिवासी जनजाति, २ घर तराई मुश्लिम र २ घर अन्य रहेका छन् ।

३. ३८१ वटा विद्युतीय केटली वितरण
परियोजनाले एकल महिला, गर्भवती, दुध खुवाउने आमा र शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी ३८१ वटा विद्युतीय केटली वितरण गरिएको छ । ती मध्ये सबै भन्दा बढी अर्थात २६८ जना एकल महिलालाई वितरण गरिएको छ । यस्तै २० जना गर्भवती महिला, ४० जना दुध खुवाउने आमा र ४९ जना शारीरिक रुपमा अपाङ्गता भएकालाई यस्तो केटली वितरण गरिएको छ । केटली प्राप्त भएपछि पानी तताएर पिउन सजिलो भएको लाभान्वित समुदायले प्रतिक्रिया दिएका छन् ।
५. जनचेतनामूलक कार्यक्रम
स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाले विभिन्न तहमा जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो । हात धुने बानीको विकास गर्न खासगरी आमाका चमत्कारिक हातहरुका विभिन्न सेसन सञ्चालन गरिएको । त्यस्तो घरायसी काममा पुरुषको सहभागिता बिषयक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता, घरायसी काममा पुरुषको सहभागिता फोटो प्रतियोगिता, आामाका चमत्कारिक हात सम्बन्धी जनप्रतिनिधीहरुलाई एक दिने अभिमुखीकरण, समुदायमा मनोवैज्ञानिक परामर्श तथा अभिमुखीकरण, मोबाइल बुथ तथा माक्समाण्ड अभियान, हात धुने दिवस समुदाय स्तरीय कार्यक्रम तथा फेसबुक सोसल मिडिया बुस्टिङ जना कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
परियोजना मार्फत कोभिड – १९ सम्बन्धी फैलिएका भ्रमहरु अन्त्य गर्न विभिन्न सूचनामूलक सामग्रीको प्रकाशन तथा प्रसारण समेत गरिएको थियो ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का वरिष्ठ कार्यक्रम अधिकृत सिर्जना कार्की परियोजनाले लैगिंक हिसाबले समेत कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुहुन्छ । ‘कतिपय काम पुरुषले पनि गरेका छन् भने त्यसलाई प्रबद्र्धन गर्न हामीले घरायसी काममा पुरुषको सहभागिता सम्बन्धी फेसबुकमा फोटो प्रतियोगिता नै गर्यौं, यसले पुरुष दाजुभाइलाई चिनाउने काम भयो भने महिलाले गर्दै आएको काम पुरुषले गर्न सक्छन्, गर्दा हुन्छ भन्ने मान्यता समाजमा बसाल्न खोज्यौं ।’ उहाँले भन्नुभयो ।
स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाको समापन कार्यक्रममा अक्सफामका प्रोग्राम म्यानेजर बिजु डंगोलले यो परियोजना अति सफल भएको महसुस भएको बताउनुभयो । विगतमा महालक्ष्मीकै लुभु तथा अन्य ठाउँमा हात धुने कार्यक्रम सञ्चालन गर्दा यस्तो पनि कार्यक्रम हुन्छ र ? जस्ता समुदायको आवाजबाट यसपाली भने हात धुने कार्यक्रमलाई नै नवीनतम तरिकाले प्रस्तुत गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
‘अक्सफाम मानवीय संस्था हो । हामीले कोभिडको समयमा समुदायलाई कसरी सहयोग गर्ने भनेर घरमै बसेर प्रपोजल तयार पार्यौं । ह्याण्ड वासिङ मात्र भन्दा प्रभावकारी नहुने भएकाले नवीनतम तरिकाले कसरी पुग्ने भन्ने ठूलो चुनौती थियो । त्यसैले स्वच्छताका विभिन्न कार्यक्रमहरु समावेश गर्यौं’ उहाँले भन्नुभयो ‘हामीले बच्चा तथा युथहरु बृद्धबृद्धालाई पनि कसरी समाहित गर्ने भन्ने टुल्सहरु बनायौं । आज समुदायको आवाजबाट यो कार्यक्रम सफल भएको अनुभूति भएको छ ।’ उहाँले भन्नुभयो ।
उहाँले यो परियोजना सफल भएपनि अबको चुनौती दिगोपनाको भएको र त्यसका लागि स्थानीय सरकारले यसको निरन्तरतामा जोड दिनुपर्ने बताउनुभयो । घरेलु स्तरमा वितरण गरिएको हात धुने बाल्टिनको प्रयोग तथा आनीबानीमा भएको विकासको निरन्तरता हुनुपर्ने र संस्थागत स्तरमा जडान भएका हात धुने ठाउँहरुको संरक्षण एवं त्यसको नियमित मर्मत सम्भारको अहम् दायित्व स्थानीय सरकारको हुनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना मार्फत जडान गरिएको संस्थागत ह्याण्ड वासिङ स्टेशनहरुमा पानी भर्ने र साबुनको व्यवस्था गर्ने काम नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडाबाट मासिक खपत हुने साबुनको परिमाण एकिन गरी वडा कार्यालयमा साबुन पठाउने र ट्याङकर मार्फत पानीको व्यवस्था गर्ने काम नगरपालिकाले गर्ने बताउनुभयो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले व्यवहार परिवर्तन गर्ने काम अति चुनौतीपूर्ण रहेको र स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाले हात धुने बानीको विकास गर्न सफल भएको बताउनुभयो । उहाँले कोभिड – १९ को संक्रमण कम हुँदै गएपछि हात धुने आनीबानी फेरि पहिलेकै अवस्थामा पुग्ने सक्दै भन्दै यसका लागि बेला बेलामा झक्झक्याई रहनुपर्ने र यसका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।
वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सुरु गर्ने बेलाको अवस्था स्मरण गर्दै त्यस्तो परिस्थितिमा पनि नगरपालिकाको सहयोगबाट कार्यक्रम सुरुवात सफल भएको बताउनुभयो । उहाँले समुदायको घर घरमा पुगेर जनचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्न सुरुका दिनमा सम्भव नभएपनि कोरोना संक्रमण कम हुँदै गएपछि कार्यक्रम व्यापक रुपमा समुदायमा लैजान सफल भएको बताउनुभयो । ‘कार्यक्रम सञ्चालन गर्नु ठूलो कुरा होइन, दिगोपना महत्वपुर्ण हो, यसका लागि समुदायको सहभागिता अपरिहार्य छ ।’ उहाँले भन्नुभयो ‘समुदायमा वडा अध्यक्षहरु आफै पुगेर अनुगमन गर्दा हाम्रा साथीहरुलाई मात्र उर्जा दिएन, यसले समुदायमा कार्यक्रम प्रभावकारी र सफल बनाउन पनि मद्दत पुग्यो’ उहाँले भन्नुभयो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख सहित विभिन्न वडाका वडाध्यक्षहरु, समुदाय परिचालकहरु, स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाबाट लाभान्वित समुदाय समेत सहभागिता थियो ।


1569 पटक हेरिएको 

