कोरोना बिरुद्ध सचेतना फैलाउन सरसफाइदूतहरु घरघरमा

सिरहा : देश व्यापीरुपमा फैलिएको दोस्रो भेरियण्ट सहितको कोरोना महामारी तथा झाडापखाला र पानीजन्य रोगबाट बच्ने उपायबारे जनचेतना फैलाउन सरसफाइदूतहरु घरघरमा पुगेका छन् । स्वास्थ्य मापदण्डको पालना गर्दै आम नागरिकलाई यसबाट बच्ने उपायहरुका बारेमा, पालना गर्नु पर्ने स्वास्थ्य मापदण्डका बारेमा सचेतना विस्तारमा सिरहाको गाउँ गाउँमा सरसफाइदूतरु खटिएका हुन् ।

पहिलो चरणको माहामारीबाट सिक्दै यसबाट बच्ने उपायहरु बिशेष गरी साबुनपानीले हातधुने अभ्यास, कम्तिमा २ मीटरको भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग र मानिसहरुको अनावश्यक हिडडुललाई न्यूनीकरण गर्ने अभियानमा सरसफाइकर्मीहरु खटिएका छन् ।

वेल्टहंगर हिल्फेको सहयोगमा स्थानिय साझेदारसंस्थाहरु सबल नेपाल र महुलि सामुदायिक विकास केन्द्रको सहकार्यमा सञ्चालित खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रममा आवद्ध भएका कर्मचारी तथा स्वयंसेवकहरु अहिले घरदैलोमै पुगेर सचेतना अभियान सञ्चालन गर्न व्यस्त छन् । कोरोना भाइरसबाट बच्ने उपायहरुबारे रेकर्ड गरिएको सूचना संदेश सहितको माइकिंग, पोष्टर तथा पम्प्लेटिंगको माध्यमबाट सिरहा जिल्लाका कल्याणपुर, कर्जन्हा र सिरहा नगरपालिकाका साथै सप्तरी जिल्लाका डाक्नेश्वरी नगरपालिका र विष्णुपुर तथा राजगढ गाउँपालिकामा स्थानिय तहहरुसँगको समन्वयमा करिब १०० जना कर्मचारी तथा स्वयंसेवकहरु घरदैलोमा खटिएका छन् ।

यसरी समुदायमा खटिएका कर्मचारी तथा स्वयंसेवकहरुले पालना गर्नुपर्ने स्वास्थ्यका मापदण्डहरुबारे राम्ररी जानकारी गराएको तथा पालना गरेको नगरेकोबारे मातहतका निकायहरुबाट सुक्ष्म अनुगमन गरिएको छ । माहुलि सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीका अनुसार सामाजिक संघसंस्थाले देश व्यापीरुपमा फैलिएको यस प्रकोप तथा महामारीको समयमा आफ्ना कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई फिल्डमा खटाइएको छ । कोरोना महामारीको समयमा हामी सबै निष्कृय बस्नु भन्दा आवश्यक मापदण्ड अपनाई कर्मचारी तथा स्वयंसेवकहरुलाई जनचेतना फैलाउन परिचालन गर्नुले आमनागरिमा यसबारे सचेतना विस्तार गर्न र यसबाट बच्न मद्धत पुग्ने वहाँको विश्वास छ । यसकार्यमा स्थानीय प्रहरी, स्वास्थ्यकर्मी तथा प्रशासनले समेत सहयोग गरेको वहाँको भनाइ छ ।


अन्य जिल्लाहरुको तुलनामा सिरहा र सप्तरीमा कोरोनाको सक्रिय संक्रमित केही कम रहेको र फैलिने दर पनि अन्य जिल्लाको तुलनामा कम नै रहेकोले हाल यी दुबै जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ । सप्तरीमा मूख्य सहरी क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ भने सिरहा जिल्लामा जिल्लाव्यापी रुपमा नै जोरबिजोर प्रणाली मार्फत यातायातलाई व्यवस्थापन गरिएको छ भने बजारपसल सञ्चालनमा कडाई गरिएको छ ।

सचेतना विस्तारमा खटिन पाउँदा खुसी

कोरोना महामारीको बिरुद्धमा काम गर्न पाउँदा र आमनागरिकमा सचेतना अभिबृद्धि गर्न पाउँदा गर्व महसुस भएको सबल नेपालमा कार्यरत खानेपानी तथा सरसफाइ अधिकृत लक्ष्मण मोचीले बताउनुभयो । त्यसै गरी कर्जन्हा नगरपालिकामा रहेर गाउँस्तरमा नै कार्यरत र हाल यस अभियानमा खटिनुभएका शिलाकुमारी महतो र रोमा बस्नेतले केही जोखिमका बाबजुद पनि सचेतना विस्तारमा खटिन पाउँदा खुसी लागेको बताउनुभयो ।

सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा कार्यरत कृष्णदेव यादव र बिरेन्द्र मण्डलको समेत उस्तै धारणा छ । परियोजनाको माध्यमबाट अरु समयमा पनि सघनरुपमा नै खटिएको र हाल कोरोना महामारीमा पनि काम गर्न र सचेतना विस्तारमा खटिन पाउँदा खुसी लागेको वहाँहरुको अनुभव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार