कोरोनाबाट मृत्यु भएकाको शव जलाउने घाटमा फोहोर थुप्रिएपछि स्थानीयको विरोध


पोखरा : कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जलाउने ठाउँमा फोहोर थुप्रिएपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् । पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा फोहोर थुप्रिएपछि स्थानीय बासिन्दा रुष्ट बनेका हुन् ।

उनीहरुका अनुसार संक्रमितको शव सुरक्षित रुपमा गाडेर व्यवस्थापन गर्ने सहमति भए पनि अहिले शव जलाउने गरिएको छ । घाट वरपर अव्यवस्थित ढंगले पीपीई, मेडिकल पञ्जा र शवलाई बाँधिएको डोरीको थुप्रो लागेको र त्यसलाई सुरक्षित व्यवस्थापन नगरिदा संक्रमण फैलिने त्रास बढेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुभयो ।

‘पहिले गाड्नको लागि मात्रै भनियो । तर, अहिले जलाउन थालेका छन् । त्यहाँको फोहोर व्यवस्थापन गर्न महानगरले टिम पनि बनाएको छ । तर, काम भएको छैन ।’ उहाँले भन्नुभयो ।

घाटको फोहोर व्यवस्थापन गर्न महानगरले एक महिना अघि नै टिम बनाइसकेको र जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई पनि खबर गरिसकेको भएपनि कुनै कदम नचालिएको वडाध्यक्ष कार्कीको गुनासो छ ।

आफूहरुले सुरुमा गाड्न मात्रै दिएको तर, अहिले आएर जलाउन पनि सुरु गरेको कार्कीले बताउनुभयो । ‘बस्तीभन्दा टाढा गाड्ने भनेर स्थानीयले मानेका हुन् । जलाउने भए आ–आफ्नै वडाको घाटमा व्यवस्था गर्ने सहमति भएको पनि थियो, हामीले विरोध गरेका होइनौं । त्यहाँबाट फोहोर र दुर्गन्ध हुनु भएन ।’ उहाँले भन्नुभयो ।

गत वर्ष असारमा कोरोनाबाट मृत्यु भएका एक पुरुषको शव व्यवस्थापन गर्दा यो घाटमा स्थानीयले विरोध गरेका थिए । बस्ती नजिकै संक्रमितको शव व्यवस्थापन गर्न लागेको भन्दै स्थानीय सहित जनप्रतिनिधि नै बाटोमा टायर बाल्दै विरोधमा उत्रिएका थिए । विवादले चर्को रुप लिँदै गएपछि भीड नियन्त्रण गर्न ८ राउन्ड हवाइ फायर नै गर्नु परेको थियो । महानगर र जिल्ला कोभिड नियन्त्रण समितिको छलफलसँगै अहिले स्थानीयले विरोध गर्न छाडेका छन् । त्यसयता उक्त घाटमा ४ सयभन्दा बढी संक्रमितको शव व्यवस्थापन भइसकेको छ ।

शव व्यवस्थापन स्थानमा फोहोर थुप्रिएकोबारे आफूहरुलाई जानकारी आइसकेको र मंगलबार अनुगमनमा जाने तयारी रहेको महानगरले जनाएको छ । महानगरस्तरीय कोभिड नियन्त्रण मूल समिति संयोजक तथा उपप्रमुख मञ्जुदेवी गुरुङले शव धेरै हुँदा फोहोर जम्मा भएको हुन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार