पूर्व सचिव किशोर थापाले सुनेको ‘नर्कको पानी’, तराई मधेस सबैभन्दा जोखिममा (भिडियो)

काठमाडौ : आर्किटेक्ट पृष्ठभूमिका किशोर थापालाई पानीको बिषयमा खासै थाहा थिएन । उहाँले जब जल तथा उर्जा आयोगको सचिवको जिम्मेवारी पाउनुभयो त्यसपछि पानीको बिषयमा बुझ्न करै लाग्यो । पानीकै बिषयमा जानकारी हासिल गर्ने क्रममा एक पटक उहाँलाई एक जना बिषय बिज्ञले भनिदिएछन् ‘जमिन मुनिको पानी नर्कको पानी हो ।’

जमिन मुनिको पानीलाई नर्कको पानी भनेका ती बिज्ञले उहाँलाई कारण भने बताएको रहेनछ । पूर्व सचिव थापाको दिमागमा यो बिषयले लामो समयसम्म स्थान जमाए छन् । पानी सम्बन्धी हुने कार्यक्रममा उहाँले यसबारेमा पानीको क्षेत्रमा काम गर्ने सरोकारवाला तथा विज्ञहरुसँग पनि सोध्नुभएछ । पछि शहरी विकास मन्त्रालयको सचिव भएपछि मात्र उहाँले यो बिषयको चित्तबुझ्दो जवाफ पाउनु भएछ । खानेपानी मन्त्रालय गठन हुनुपूर्व खानेपानी क्षेत्र पनि शहरी विकास मन्त्रालयले नै हेर्ने गरिन्थ्यो ।

केही समय अघि काठमाडौमा भएको ‘भूमिगत पानीको पुनर्भरण’ बिषयक कार्यक्रममा पूर्व सचिव थापाले ‘जमिनमुनिको पानीलाई किन नर्कको पानी भनिएको रहेछ भन्ने बारे बेलिबिस्तार लगाउनुभयो । उहाँका अनुसार जमिनमुनिबाट निकालिएको पानीमा आर्सेनिक जस्तो बिषालु तत्व मिसिएको हुन्छ । त्यसमा अक्सिजनको मात्रा पनि एकदमै कम हुन्छ । जमिनमुनिको पानीलाई निकाल्न उर्जा खपत धेरै हुने भएकाले खर्चालु हुन्छ भने त्यसमा मिसिएका ग्यासहरु र अरु तत्वहरुका कारण त्यसलाई प्रशोधन गर्न पनि त्यत्ति नै धेरै खर्च गर्नुपर्छ । आकाशबाट परेको पानी प्राप्ति गर्न जत्ति सहज छ जमिनमुनिको पानी निकाल्न त्यत्ति नै गाह्रो र खर्चिलो हुने भएकाले जमिनमुनिको पानीलाई नर्कको पानी अर्थात वाटर फ्रम हेल भनिएको रहेछ ।’

जमिनमुनिको पानीलाई ‘नर्कको पानी’ भनिए पनि बढ्दो शहरीकरण र सरकारले खानेपानी आपूर्ति गर्न नसकिरहेको अवस्थामा जमिन मुनिको पानी नै सबैभन्दा सजिलो माध्यम बनेको पूर्व सचिव थापाको तर्क छ । उहाँ भन्नुहुन्छ ‘आफ्नो घर जहाँ बनायो त्यहीबाट रोपपम्पबाट हुन्छ कि टयूवबेलबाट हुन्छ या त बोरिङ गरेर हुन्छ, स्वर्गको पानी पाउनुभन्दा चाहिं नर्कको पानी पाउन नै सजिलो भयो ।’

तराई मधेसको अवस्था डरलाग्दो

पूर्व सचिव थापाका अनुसार तराई मधेसको अवस्था विपद तथा खानेपानीको समस्याका दृष्टिकोणले पनि जोखिमपूर्ण छ । शहरी जनसंख्या तराई मधेसमा ज्यादा छन् । देशभरका २९३ वटा नगरपालिकाहरु मध्ये २०० भन्दा बढी मेचीदेखि महाकालीको तराई मधेसमै पर्छन् । २ नं. प्रदेशमा सबैभन्दा बढी ७७ वटा नगरपालिका छन् । जब कि भूगोलको हिसाबले प्रदेश २ सबैभन्दा सानो प्रदेश हो । जहाँ ८ वटा जिल्ला छन् ।

अब हुने जनगणनामा अनुमानित ३ करोड जनसंख्या नाघ्ने प्रक्षेपण छ । त्यसमध्ये ६० प्रतिशत जनसंख्या अर्थात १ करोड ८० लाख जनसंख्या तराई मधेसमा बसोबास गर्छन् । भौगोलिक हिसाबले कुल क्षेत्रफलको १७ प्रतिशत तराई मधेस रहेको भएपनि वन्य जन्तु आरक्ष तथा राष्ट्रिय निकुञ्जको भूभाग छुटाउने हो भने करिब १० प्रतिशत क्षेत्रफलमा ६० प्रतिशत जनसंख्या बसिरहेको छ र त्यो जनसंख्याले प्रयोग गर्ने पानी भूमिगत पानी नै हो ।

तसर्थ उक्त जनसंख्यालाई गुणस्तरीय भूमिगत पानी कसरी उपलब्ध गराउने ? त्यसले उत्सर्जन गर्ने फोहोर पानी कसरी व्यवस्थापन गर्ने ? राज्यको ध्यान यतातिर जान जरुरी छ । विपदको हिसाबले पनि तराई जोखिमयुक्त अवस्थामा छ र खानेपानीमा पनि भूमिगत पानीमै बढी निर्भर रहेकाले त्यहाँको जनसंख्याको जीउज्यानको रक्षा कसरी गर्ने भन्ने तर्फ सोच्नुपर्छ ।’

हेर्नुहोस् यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार