मानव मलमूत्र व्यवस्थापन भनेको के हो ? यो किन आवश्यक छ ?

काठमाडौ : हामीले चर्पीमा गरेको दिसा फ्लस गरेपछि कहाँ जान्छ ? तपाई हामी मध्ये धेरैले यो बिषयमा सोचेका हुँदैनौं । जब फ्लस गरिन्छ उक्त दिसा ढल प्रणालीमा जोडिएको भए ढल मार्फत बग्दै खोलामा पुग्छ भने खाल्डो वा सेफ्टिक ट्याङ्की जडित शौचालयको दिसा कि सेफ्टिक ट्याङ्की कि त खाल्डोमै जम्मा हुन्छ र भरिएपछि अन्ततः ट्याङकर मार्फत खोला वा कुनै खाली ठाउँमा पुर्‍याईन्छ ।

पूर्व सचिव तथा वास विज्ञ सुमन प्रसाद शर्मा मानव मलमूत्र व्यवस्थापनलाई पूर्ण चक्रको रुपमा हेर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार शौचालयमा विसर्जनदेखि त्यसको भण्डारण गर्ने, खाली गर्ने, त्यहाँबाट उचित ठाउँमा पुर्‍याउने, प्रशोधन गर्ने र पुनःप्रयोग सम्मको चक्र यसमा पर्दछन् । ‘दिसालाई ढल प्रणालीद्वारा या त ट्रक प्रणालीद्वारा अर्थात अनसाइट डाइजेसन प्रणालीद्वारा त्यसलाई उचित ठाउँमा पुर्‍याएर प्रशोधन गरेपछि त्यो किटाणुरहित, प्रदुषण रहित र वातावरणमा प्रतिकुल प्रभाव नपार्ने खालको भएपछि विसर्जन वा त्यसको पुनःप्रयोग गर्नुपर्दछ ।’

यसर्थ मानव मलमूत्र व्यवस्थापन भन्नाले दिसापिसाबको व्यवस्थित संकलनदेखि यसको सुरक्षित विसर्जनसम्मको समग्र क्रियाकलापलाई बुझाउँदछ ।

मानव मलमूत्र व्यवस्थापनको वर्तमान अवस्था

सबै नेपालीमा आधारभूत सरसफाइको पहुँच पुगेको बताएपनि अझै पनि १० देखि २० प्रतिशत जनसंख्याले खुला ठाउँमै दिसा गर्ने गरेको अनुमान छ । विश्व स्वास्थ्य संगठन र युनिसेफले बर्षैपिच्छे प्रकाशन गर्ने जेएमपीको डाटाले त नेपालमा सुरक्षित तरिकाले व्यवस्थापन गरिएको सरसफाइ झण्डै जेरो प्रतिशत नै देखाएको सरसफाइ विज्ञ शर्माको भनाइ छ । ‘स्यानिटेशन त छ तर सुरक्षित तरिकाले व्यवस्थापन गरिएको सरसफाइ छैन । त्यसो हुनुको लागि सबै सरसफाइको अवस्थाहरु सफा हुनुपर्‍यो । हाम्रो चर्पीहरु सफा हुनुपर्‍यो ।’ शर्मा भन्नुहुन्छ ‘हामीले संरचनागत कुरा गर्‍यौ भने पनि जुन चर्पीहरु छन् तिनीहरु प्रदुषणमुक्त हुनुपर्‍यो ।’

खुला दिसामुक्त घोषणाका क्रममा बनाएका सेफ्टिक ट्याङ्कहरु समेत ठीक तरिकाले नबनाएको उहाँको विश्लेषण छ । ठीक तरिकाले नबनाएको सेफ्टिक ट्याङ्कमा डाइजेसन हुन पाउँदैन । अथवा त्यो सेफ्टिक ट्याङ्कबाट जथाभावी लेदो निस्किरहेको हुन्छ । जसले गर्दा भूमिगत पानी प्रदुषण भईरहेको हुन्छ । त्यसको डिजाइन राम्रो भईरहेको छैन ।

वास विज्ञ शर्माका अनुसार काठमाडौका झण्डै ६० देखि ७० प्रतिशत क्षेत्र ढल प्रणालीमा आबद्ध छ । तर सडक विभागले बर्षातको पानी हाल्ने ढलसँगै शौचालयको ढल मिसाईदिएको छ । यसले गर्दा शौचालयबाट फ्लस गरेर पठाए पनि वाग्मती तथा विष्णुमति र टुकुचा जस्ता नदी प्रदुषित भएका छन् । वातावरणलाई प्रदुषित बनाएको छ । त्यसकारण यसलाई सुरक्षित भन्न मिल्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार