कोभिड – १९ र हातको स्वच्छता बीचको सम्बन्ध


नोबल कोरोना भाइरस संक्रमित व्यक्तिको थुक, हाच्छिउँ गर्दा वा कुरा गर्दा निस्केका छिट्टाहरूमा हुने भाइरसलाई स्वस्थ व्यक्तिको नाक, मुख र आँखामा पर्नबाट बचाउन सकेमा यो रोगको संक्रमणबाट बच्न र बचाउन सकिन्छ । यसका लागि सामान्य स्वच्छता व्यवहारहरूले पनि महत्वपूर्ण भुमिका खेल्दछ । समय–समयमा साबुनपानीले मिचिमिची हात धुने, सही तरिकाले मास्कको प्रयोग गर्ने र भौतिक दुरी कायम गर्ने जस्ता स्वच्छता व्यवहारहरूले कोरोना भाइरसको जोखिमलाई धेरै हदसम्म कम गर्न सक्दछ ।

साबुनपानीले मिचिमिची कम्तिमा २० सेकेण्डसम्म हात धुनाले हातमा भएका कोरोना भाइरस लगायतका अन्य जीवाणुहरू पनि नष्ट हुन्छन्। त्यसैले, बाहिरबाट घर वा कार्यालय पसेपछि, धेरैले छुने सतहलाई छोएपछि, बिरामीको स्याहार गरेपछि वा गर्नु अघि, बजार गएर आएपछि, आफुले प्रयोग गरेको मास्क छोएपछि वा अन्य कुनै शंकास्पद सामाग्री छोएपछि अनिवार्य रुपमा साबुनपानीले हात धुनै पर्छ। साथै, हाच्छिउँ गर्दा वा खोक्दा हातले मुख छोपेको छ भने पनि राम्ररी हात धुनु पर्दछ । साबुन र पानी नभएको अवस्थामा अल्कोहलयुक्त ह्याण्ड स्यानिटाईजरको पनि प्रयोग गर्न सकिन्छ । हातको स्वच्छताका यी व्यवहारहरू अपनाउँदा नोबल कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन निकै ठूलो मद्दत पुग्दछ ।

नोबल कोरोना भाइरसको संक्रमणबाट बच्ने अर्को महत्वपूर्ण स्वच्छता व्यवहार भनेको मास्कको सहि प्रयोग गर्नु पनि हो। संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा वा बोल्दा निस्कने छिट्टाहरूमा कोरोना भाइरस हुने भएकोले ती भाइरसलाई बाहिरी हावामा फैलिन नदिन अथवा हावामा भएका भाइरसलाई कसैको पनि शरिर भित्र प्रवेश हुनबाट रोक्न सहि तरिकाले मास्कको प्रयोग गर्नु पर्दछ, साथै प्रयोग पश्चात् मास्कको सुरक्षित व्यवस्थापन गर्नु पनि निकै जरुरी हुन्छ । विशेषगरी अत्यावश्यक कामले घर बाहिर जाँदा, भिडभाड हुने स्थानमा जानु पर्दा, एक अर्काबीच संवाद गर्नु पर्दा अनिवार्य रुपमा नाक र मुख राम्ररी छोपिने गरी मास्कको प्रयोग गर्नु पर्दछ । बजारमा पाइने सर्जिकल मास्क वा तीन पत्रे कपडाको मास्कको पनि प्रयोग गर्न सकिन्छ ।

आफूले प्रयोग गरेको मास्क जथाभावी फाल्ने वा सफा नगरी एउटै मास्क पटक–पटक प्रयोग गर्नु हँुदैन । सर्जिकल मास्कको हकमा एक पटक प्रयोग गरेपछि बिर्को लाग्ने डस्टबिनमा फालेर सुरक्षित विसर्जन गर्नु पर्दछ, र कपडाको पुनः प्रयोग गर्न मिल्ने मास्क भएमा साबुनपानीले राम्ररी धोई घाममा सुकाएर पुनः प्रयोग गर्न सकिन्छ । यसरी मास्कको प्रयोग सम्बन्धी स्वच्छताका व्यवहारहरू अपनाएर पनि नोबल कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सकिन्छ ।

व्यक्ति–व्यक्ति बीचको दुरी कायम गर्नु पनि नोबल कोरोना भाइरसबाट बच्ने अर्को एक महत्वपूर्ण उपाय हो। जति सक्यो त्यति कम मानिसको सम्पर्कमा आउँदा भाइरस सर्ने सम्भावना कम भई संक्रमण नियन्त्रण गर्न सकिन्छ । धेरैजसो देशहरूले अपनाएको लकडाउन बन्दीको उद्देश्य पनि यहि हो। महामारीको बेलामा सकेसम्म घर बाहिर जाँदै नजाने, जानै परेको अवस्थामा एक अर्का बीच कम्तिमा २ मिटरको दुरी कायम गर्नु पर्दछ । यसले संक्रमित वा संभावित संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा वा शरिरमा छोएको खण्डमा नोबल कोरोना भाइरस सर्न पाउँदैन ।

खासगरी परिवार भन्दा बाहिरको व्यक्ति, अपरिचित व्यक्ति, रुघाखोकी र ज्वरो आएको व्यक्तिदेखि टाढा बसेर दुरी अनिवार्य कायम गर्नु पर्दछ । बजार जाँदा, बैंक वा अन्य कार्यक्षेत्रमा जाँदा पनि सधैं २ मिटरको दुरीको चिन्ह वा संकेतको पालना गर्नु पर्दछ वा आफैंले बुझेर दुरी कायम गर्नु पर्दछ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्रकाशन अञ्जुलीबाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार