फोहोर व्यवस्थापनमा गड्यौला मलको भूमिका

बाकस जस्तो भाँडामा गड्यौला राखेर जैविक फोहरहरु र गोबर राखी गड्यौलाहरुलाई खुवाएर गड्यौलाको अपशिष्ट (विकार वस्तु वा अंग्रेजीमा शिष्ट) मललाई गड्यौले मल भनिन्छ । यसरी गड्यौलालाई फोहर खुवाएर मल बनाउने प्रविधिलाई नै गड्यौले कम्पोष्टङ्ग भनिन्छ । धेरै वर्ष पहिलेदेखि नै गड्यौलालाई कृत्रिम तरिकाले पाल्ने र त्यसको उपयोग गरी गड्यौले मल उत्पादन गर्ने काम भइरहेको छ ।

यसरी गड्यौला पालेर मल उत्पादन गर्ने कार्यलाई भर्मी कल्चर भनिन्छ । भारत लगायत अन्य मुलुकहरुमा भर्मी कल्चरको थालनी धेरै वर्ष पहिलेदेखि भएको छ । भारतबाट नै नेपालमा २०५२ सालतिर भर्मी कल्चर प्रविधि भित्रिएको हो। हाल नेपालमा पनि काठमाण्डौ जस्ता केही शहरी क्षेत्र, मिथेनकोट, गागल फेदी जस्ता ग्रामीण क्षेत्र र तराईका केही क्षेत्रमा भर्मी कल्चर प्रविधि अपनाएर भर्मी कम्पोष्ट उत्पादन भइरहेको छ ।

गड्यौला विभिन्न प्रजातिका हुन्छन् र संसारमा करिव ४००० प्रजातिका गड्यौलाहरु पाइन्छन्। यी गड्यौलालाई दुई भागमा विभाजन गर्न सकिन्छ ।

१. एण्डोजेइकः यी प्रजातिको गड्यौला जमीनको भित्री भागमा पाइन्छ र माटो मात्र खान्छ । तसर्थ यो प्रजातिको गड्यौला भर्मी कल्चरमा प्रयोग गरिदैन । माटोमा देखिने जतिपनि गड्यौलाहरु छन् ती सबै यही प्रजातिका हुन्।

२. इपीजेइकः यी प्रजातिको गड्यौला जमीनको सतहमा बस्छन् र जैविक पदार्य मात्र खान्छन्। तसर्थ भर्मी कल्चरको लागि यही प्रजातिको गड्यौलाको प्रयोग गरिन्छ । भर्मी कल्चरको लागि प्रयोग हुने गड्यौलाहरु निम्न प्रकारका छन्।

इस्निया फोइटिडा (Eisenia foetida) 

युड्रिलस युजिनियल (Eudrillus eugineal) 

पेरियोनक्स एक्स्याभेटस् (Perionyx excavatus)

लुम्ब्रिकस रेबेलस् (Lumbricus rebellus)

ल्यामपिटो म्याउरिटी (Lampito mauritti)

इपीजेइक प्रजातिका गड्यौलाका बिशेषताहरु

यी प्रजातिका गड्यौलाहरु करिव २/३ ईन्च लामो, मसिनो, रातो र फुस्रो पहेलो रंग र शान्त स्वभावको हुन्छ । यसको लागि १००–३२० ऋ तापक्रम तथा २०–६०% ओसिलोपना भएको ठाउँ उपयुक्त हुन्छ । यसले जन्मिएको ४०–४५ दिनपछि सन्तान उत्पादन गर्न शुरु गर्छ। गड्यौलामा अरु प्राणी जस्तै भालेपोथी छुटिदैन । एउटै गड्यौलामा भालेपोथी हुन्छ र संसर्ग पश्चात दुवैले फुल पार्छन्। संसर्ग भएपछि प्रत्येक २–३ दिनको बिचमा एउटा फुल (कोकोन) पार्छ।

यो फुल पार्ने प्रक्रिया ४–६ हप्तासम्म लगातार चलिरहन्छ । एउटा अण्डाबाट ३–५ वटा बच्चा निस्कन्छ तर बाँच्ने प्रतिशत धेरै कम हुन्छ । यसको जीवन चक्र १५०–१८० दिनमा पुरा हुन्छ । एउटा बयस्क गड्यौलाको तौल १–१.५ ग्रामसम्म हुन्छ । उचित वातावरण, बासस्थान र खानाको राम्रो बन्दोबस्त भएमा एउटा बयस्क गड्यौलाले १ दिनमा सालाखाला १–७ ग्राम खान्छ र ०.८–६ ग्रामसम्म मल उत्पादन गर्छ।

तसर्थ १ किलोग्राम गड्यौलाले प्रतिदिन करिब ०.८–६ के.जी. मल उत्पादन गर्छ। गड्यौले मल उत्पादन स्थान गड्यौलाई घर भित्र वा खुल्ला ठाँउ दुबैमा पाल्न सकिन्छ । घर भित्र गड्यौला पाल्दा कुनै पनि भाँडा जस्तै काठको बाकस, बाँसको टोकरी, बाटा, सिमेन्टको टप, डाँलो आदीमा प्रयोग गर्न सकिन्छ । घर बाहिर खुल्ला ठाँउमा गड्यौला पाल्दा छाँया भएको ठाँउ वा छानाको व्यवस्था भएको ठाँउको प्रयोग गर्नु पर्दछ ।

फोहरको व्यवस्था

घरबाट निस्केको जैविक फोहर, सडे—गलेको झारपात, पातपतिङ्गर, गड्यौलाको खानाको लागि प्रयोग गर्न सकिन्छ । प्राय सबै प्रकारको कृषिजन्य फोहर गड्यौलालाई खुवाउन सकिन्छ । धेरै भिजेको फोहरलाई २–३ दिन थुपारेर चिस्यान घटाई गड्यौलालाई खुवाउन सकिन्छ । धेरै कडा खालको फोहरलाई पहिले भिजाएर नरम बनाएपछि मात्र गड्यौलालाई खुवाउनु पर्दछ ।

साधारणतया सबै प्रकारको पशुहरुको मल, गोबर गड्यौले कम्पोष्ट बनाउनमा प्रयोग गर्न सकिन्छ । तर गोबर काँचो आलो वा धेरै पुरानो हुनु हुँदैन । यस्तो मलले गड्यौलालाई नोक्सान गर्न सक्छ । १५ दिन देखि ३ महिनासम्मको पुरानो गोबर गड्यौले कम्पोष्ट बनाउन उपयुक्त देखिएको छ ।

भर्मी कल्चरमा ईस्निया फोइटिडा f (Eisenia foetida) को प्रयोग

ईस्निया फोइटिडा भर्मी कल्चरको लागि सबभन्दा बढी प्रयोग हुने प्रजातिको गड्यौला हो। यो प्रजातिको गड्यौला अरु प्रजातिको गड्यौलाहरु भन्दा छिटो खाना खाने, पाचन छिटो गर्ने क्षेमता भएको र छिटो मल उत्पादन गर्ने भएकोले भर्मी कल्चरमा बढी प्रयोग भएको देखिन्छ ।

भर्मी कल्चरबाट गड्यौले मल उत्पादन गर्ने तरिका

गड्यौले मल उत्पादन गर्न सबभन्दा पहिले गड्यौला पाल्नको लागि भाँडो र ओछ्यान वा सोत्तरको व्यवस्था हुनु पर्दछ । गड्यौला पाल्ने भाँडो विभिन्न आकार र क्षमता भएको हुन सक्दछ । तर भाँडाको चौडाई र उचाई ११/फिट भएको र पिधबाट पानी चुहिने व्यवस्था भएको काठ अथवा बाँसको बाकस उपयुक्त हुन्छ । ओछ्यान वा सोत्तरको लागि ३/४ इन्च जति बाक्लो गरी जुट, पराल, नरिवलको जट्टा, सुतिको कपडा, काठको धुलो जस्ता वस्तुहरुको प्रयोग गरी नरम ओछ्यान लगाई दिनु पर्दछ । पाकेको गोबर अथवा पुरानो मल २/३ मुठ्ठी बिछ्यौना माथि छर्की दिनु पर्दछ । गोबर शिशु गड्यौलाको आहारा हो भने पुरानो मलमा भएको सुक्ष्म जीवाणुले फोहरलाई छिटो कुहाउन सहयोग गर्दछ । ओछ्यान वा सोत्तर र गोबरलाई पानीले राम्ररी भिजाइ दिनु पर्दछ । सुख्खा र बढी पानी भएको ठाउँमा गड्यौला बाँच्न सक्दैन । यसरी बनाएको ओछ्यान वा सोत्तर माथि एक हात उचाईसम्म विभिन्न जैविक फोहर हाल्नु पर्दछ । एक हात उचाई भन्दा बढी फोहर हाल्नु हुदैन ।

बढी फोहर हाल्दा फोहर कुहिने क्रममा तापक्रम बढ्न गई गड्यौला उक्त फोहरमा जान सक्दैन र मल बन्न पनि ढिलो हुन्छ । गड्यौलालाई हरियो तरकारीका फोहर हाल्नु भन्दा पहिले फोहर केही दिन त्यसै बाहिर राखि अलिकति कुहिन र पानीको मात्रा कम हुन दिई प्रयोग गर्दा गड्यौला मर्ने खतरा कम हुन्छ । फोहर भित्रको वातावरण ठिक छ कि छैन भनि जाँच्नको लागि थोरै गड्यौला र मल मिसाएर एक छेउमा राखिदिने, यदि वातावरण अनुकुल भएमा १०/१५ मिनेटमा गड्यौला फोहर भित्र जान्छ । यदि गड्यौला भित्र गएन भने यस भित्रको वातावरण गड्यौलाको लागि अनुकुल नभएको कुरा बुझन्न सकिन्छ र त्यस फोहरलाई प्रयोग नगरी केही दिन त्यसै राखि छोड्नु पर्दछ । १० फिट लम्बाई र १ हात उचाई भएको भर्मी कम्पोष्ट बेडमा औसत ४०० देखि ५०० के.जी. फोहर हुन्छ । यदि उक्त फोहरलाई ४०–५० दिनमा गड्यौलालाई खुवाउनु छ भने करिब ५ किलो गड्यौला चाहिन्छ । थोरै गड्यौला भयो भने समय धेरै लाग्छ र धेरै गड्यौला भयो भने पनि विशेष केही फाईदा हुदैन ।

फोहर हाली सकेपछि जुटको बोरा वा परालले छोप्ने व्यवस्था मिलाउनु पर्दछ । गड्यौला छोडेको एक दिन पछि जुटको बोरा वा परालले छोप्नु पर्दछ । अथवा मसिनो गरी काटेको जैविक फोहरले करिब ४ इन्च बाक्लो गरी छोपी दिनु पर्दछ । गड्यौलाले खाने काम बेडमा गर्दछ भने कम्पोष्टिङ्ग बेडको माथिल्लो सतहमा आएर गर्दछ । साथै गड्यौला अध्यारोमा मात्र बस्ने हुँदा प्रकाश छिरेमा वा उज्यालो भएमा बाहिर आउदैन । तसर्थ भर्मी कल्चर गरेको भाँडा छोपिदिनाले गड्यौलाले त्यही फोहरमा रहेर लगातार खान पाउछ र माथि आएर मल उत्पादन वा काष्टिङ्ग गर्दछ । गड्यौलाको संख्या, फोहरको परिमाण र मल बन्ने प्रक्रियाको आधारमा क्रमिक रुपमा फोहर थप्दै जानु पर्दछ ।

गड्यौले मल संकलन गर्ने तरिका

गड्यौलाले फोहर खाएर दिसा गर्दछ र त्यो दिसा नै गड्यौले मल हो। सामान्यतया गड्यौला पालेको ३–४ महिना पछि यस्तो मल संकलन गर्न सकिन्छ । भर्खर निकालेको मल कालो, चिप्लो खालको र सानो दाना जस्तै देखिन्छ । गड्यौले मल दुई किसिमले संकलन गर्न सकिन्छ ।

क. मल संकलन गर्ने बेला सबैभन्दा पहिले ढकनी हटाएर सतहको खानेकुरा सबै निकाल्नु पर्दछ । खानेकुरा सबै झिकिसकेपछि प्लास्टिक वा कपडा वा कागज केही बिछ्याई त्यस माथि भाँडामा भएको गड्यौला सहितको मल घोप्टाउने र त्यसलाई चुली पारेर थुपार्नु पर्दछ । थुप्रोलाई ५ मिनेट जति प्रकाशमा त्यसै छोड्ने जसले गर्दा गड्यौला तल्लो भागमा जम्मा हुन जान्छ । माथिबाट मल अंजुलीले झिकेर एउटा अलग भाँडामा राख्न सकिन्छ । यसरी मल सबै झिक्दै जाने र अन्तमा गड्यौलाको झुप्पा (गड्यौला मात्र भएको थुप्रो) मात्र बाँकी रहन्छ । गड्यौलालाई पहिले जस्तै गरी भाँडामा राखि पाल्न सकिन्छ ।

ख. दोस्रो तरिकामा माथि लेखिए जस्तै ढकनी हटाएर सतहको खानेकुरा पन्छाउने। त्यसपछि गड्यौला सहितको मल भाँडाको एक छेउबाट सारेर अर्कोतिर थुपार्ने र बाँकी भाग खाली गर्नु पर्दछ । खाली ठाँउमा पुरानो वा नयाँ बिछ्यौना राखेर त्यसमाथि गोबर र जैविक फोहर मिसाई एक हात उचाईसम्म राख्नु पर्दछ । पुरानो थुप्रोमा खानेकुरा नपाएपछि गड्यौलाहरु नयाँ थुप्रोतिर आउदछ । १०–१५ दिनपछि पुरानो थुप्रोतिर मल मात्र बाँकि रहन्छ । त्यसपछि मल झिकेर गड्यौलाको फुल (कोकोन) बाट बच्चा निकाल्न अर्को भाँडामा संकलन गर्नु पर्दछ । मल तयार भएको १–२ महिनापछि मात्र मल प्रयोग गरेमा गड्यौलाको कोकोनबाट बच्चा गड्यौला संकलन गरी बढी फाईदा लिन सकिन्छ । वातावरण र जनस्वास्थ्य संस्था एन्फोको प्रकाशन अञ्जुलीबाट लिइएको ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार