
स्याङ्जा : स्याङ्जाको वालिङमा हरित पुनःउत्थान प्रवर्द्धन परियोजना सुरु भएको छ। वालिङ नगरपालिका भित्रको फोहोरमैला व्यवस्थापन गरी सफा तथा स्वच्छ सहर बनाउन परियोजना शुरु भएको हो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको सहजीकरणमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था मार्फत परियोजना सञ्चालन भईरहेको छ ।
वालिङ नगरपालिकाको ३ करोड १५ लाख ५६ हजार ६५ र युनडिपीको १ करोड ६३ लाख ७४ हजार गरी ४ करोड ९२ लाख १३ हजार १०७ रुपैयाँ लागतमा सञ्चालन भईरहेको परियोजनाले विशेष गरी कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएकालाई ‘पोस्ट कोभिड’ कार्यक्रम अन्तर्गत सहजीकरण गर्ने, उद्यमशीलता, व्यवसाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र मार्फत नवउद्यमी एवं परियोजनाका लाभग्राहीलाई दिगो रूपमा उद्यमशीलताका क्षेत्रमा टिकाइराख्न दीर्घकालीन योजना निर्माण गर्ने उद्देश्य रहेको सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङका अनुसार व्यावसायिक योजना निर्माण गर्ने, मेन्टर, रोस्टर सहजीकरण, संस्थागत व्यवस्थापनमा समन्वय र सहयोग, आर्थिक बचत तथा लगानी संरक्षण गरी आर्थिक वृद्धि गर्ने कार्यमा परियोजनाले सहजीकरण गर्नेछ ।
फोहोरमैला व्यवस्थापन केन्द्रमा प्लास्टिक पुनः प्रयोग गर्ने, प्लास्टिकका दाना बनाउने मेसिनद्वारा काम थाल्ने, बायोग्यास प्लान्ट बनाउने, प्रांगारिक बिन एक हजारलाई वितरण गर्ने, ग्रिनपार्क निर्माण गर्ने, सडकका छेउछाउ तथा बीच भागमा वृक्षारोपण गर्ने परियोजनाको उद्देश्य छ । यस्तै उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, हाटबजार सञ्चालन गर्ने, बिउबिजन वितरण गर्ने, अर्गानिक खेती र यसको उत्पादन तथा बजारीकरणको काम गर्ने, वडा-वडामा कलेक्सन सेन्टर सञ्चालन गर्ने, कुहिने र नकुहिने फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाई आर्थिक उपार्जनका कार्य गर्नमा सहयोग गर्ने, माग र आवश्यकताका आधारमा तालिम, प्रशिक्षण तथा अनुगमन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
झन्डै १० महिना सञ्चालन हुने परियोजनाले फोहोरमैला आर्थिक उपार्जनको स्रोत रहेकाले नागरिकलाई यसबारे सचेत बनाएर उचित व्यवस्थापनमा जोड दिइने नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । ‘परियोजना मार्फत १ हजार २ सय ५० जनालाई प्रत्यक्ष रोजगारी अवसर सिर्जना गर्ने लक्ष्य छ’, नगरप्रमुख खाँणले भन्नुभयो ‘यसका लागि कोभिड – १९ बाट प्रभावित भई रोजगारी गुमाएका व्यक्ति तथा तिनका परिवार, जोखिममा रहेका समूह र विशेषगरी महिलालाई प्राथमिकतामा राखिएको छ ।’
२६० जनालाई गड्यौला मल बनाउने तालिम, २६० जनालाई गड्यौला मल बनाउने बिन वितरण र २६० जनालाई अर्गानिक फार्ममा तालिम दिने लक्ष्य परियोजनाको छ । परियोजनाले व्यवस्थित फोहोर संकलन तथा फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने दियालो संस्थाका अध्यक्ष तिवारीले बताउनुभयो ।
पहिलो वर्षमा परियोजना मार्फत फोहोरमैला ब्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करीव एक हजार जनालाई लक्षित गर्दै सुरक्षित तथा ब्यवस्थित तरिकाले फोहोर सङ्कलन, वर्गीकरण, पुनःप्रयोग र विसर्जन गर्ने सीप सिकाई रोजगारीको अवसर प्रदान गर्ने दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।
परियोजनाले ब्यवस्थित फोहोर सङ्कलन तथा फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने दियालो संस्थाका अध्यक्ष तिवारीले बताउनुभयो । युएनडिपीले नगरपालिकालाई कोभिड – १९ पश्चात हरित पुनःस्थापन सम्बन्धी योजनाको निर्माण र कार्यान्वयन गर्न टेवा पुर्याउने छ ।
“यस परियोजनाको सफल कार्यान्वयनका लागि स्थानीय संघ संस्था, समुदाय र निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्छौं” दियालोका अध्यक्ष तिवारीले भन्नुभयो, “जसले गर्दा स्थानीय स्वामित्वमा फोहोरमैलाको ब्यवस्थापन भई थप ब्यवस्थित र दीगो हुनेछ ।”


878 पटक हेरिएको 

