एक सातादेखि फोहोर नउठ्दा बटौली दुर्गन्धित

रूपन्देही : रूपन्देहीको बुटवल उपमहानगरले एक सातादेखि फोहोर उठाउन नसक्दा सहर नै दुर्गन्धित भएको छ । उपमहानगरले फोहोर नउठाएपछि घर–घरबाट स्थानीयले सडकमा ल्याएर फोहोर फाल्न थालेका छन् ।

बुटवलका मुख्य चोक पुष्पलाल पार्क, मिलनचोक, होराइजन चोक, बसपार्क तथा गोलपार्कलगायत स्थानमा फोहोरका डंगुर थुप्रिएका छन् । बुटवल उपमहानगरले हाल फोहोर विर्सजन गर्दै आएको डम्पिङ साइट भरिएकाले फोहोर उठाउन नसकिएको बताएको छ ।

उप–महानगरका वातावरण महाशाखा प्रमुख भूवाप्रसाद लुइँटेलले अर्को साइटको व्यवस्थापन नहुँदासम्म फोहोर नउठ्ने जानकारी दिनुभयो । त्यसका लागि अझै २÷३ दिन लाग्ने उहाँको भनाइ छ । चोकमा फोहोर थुप्रिएपछि पैदल यात्रु तथा स्थानीयले हिँडडुल गर्न पनि सास्ती भइरहेको बताउनुभयो । बुटवल वडा नम्बर ९ स्थित न्यू आचार्य मिनीटाउन रेस्टुराँका सञ्चालक बालकृष्ण आचार्यले उप–महानगरले फोहोर उठाउन नआउँदा सेवाग्राही नै आउन छाडेको गुनासो गर्नुभयो ।

उहाँका अनुसार मिलनचोकमा गत सातादेखि नै फोहोर उठेको छैन । उपमहानगरले फोहोर व्यवस्थापनमा चासो नदिएको आचार्यको भनाइ छ । केही दिनदेखि वर्षासँगै फोहोर लेदो बनेर सडकमा छरिँदा पैदल यात्रीले सास्ती खेप्नुपरेको छ । बुटवलले अस्थायी रूपमा हाल वडा नम्बर ११ स्थित पवित्रा नगरमा पोहोर डम्प गर्दै आएको छ ।

उक्त डम्पिङ साइट भरिएकाले वैकल्पिक अस्थायी डम्पिङ साइटको व्यवस्थापन भइरहेको उपमहानगरले जनाएको हो । वातावरण महाशाखा प्रमुख लुइँटेलले फोहोरको स्थायी व्यवस्थापनका लागि सैनामैना नगरपालिकामा प्रशोधन सहितको डम्पिङ साइट निर्माण अघि बढिरहेको जानकारी दिनुभयो ।

सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका र बुटवलको सहकार्यमा प्रदेश तथा केन्द्र सरकारको सह–लगानीमा निर्माण भइरहेको उक्त डम्पिङ साइटले फोहोर व्यवस्थापनको चुनौतीलाई दीर्घकालसम्म समाधान गर्ने उहाँको दाबी छ । उक्त साइटको प्रारम्भिक वातावरणीय मूल्यांकन र साइट क्लियरेन्सको काम सम्पन्न भइसकेको वातावरण महाशाखा प्रमुख लुइँटेलले बताउनुभयो । पालिका खबरबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार