शहरव्यापी समावेशी सरसफाइ निर्देशिका तयार, पूर्ण सरसफाइ गुरुयोजनामा समाहित गरेर लैजान सरोकारवालाको सुझाव

काठमाडौ : खानेपानी मन्त्रालयले शहरव्यापी समावेशी सरसफाइ निर्देशिका (सिटी वाईड इन्क्लुसिभ स्यानिटेसन गाईडलाईन) को खाका तयार पारेको छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल नगरपालिका संघ र वाटर एडका प्रतिनिधि सम्मिलित प्राविधिक टोलीले निर्देशिकाको खाका तयार पारेको हो ।

तयार पारिएको निर्देशिकाबारे सरोकारवालासँग छलफल गर्न आयोजित कार्यक्रममा खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल ईञ्जिनियर योगेन्द्र चित्रकारले प्राविधिक टोलीले निर्देशिकाको सुरुवाती खाका तयार पारिएको र काठमाडौको किर्तिपुर नगरपालिकामा यसको नमुना परिक्षण गरिएको जानकारी गराउनुभयो । उहाँले निर्देशिकालाई पूर्णता दिने क्रममा सरोकारवालाहरुसँग छलफल गरिएको र प्राप्त सुझावहरुलाई समेट्ने जानकारी गराउनुभयो ।

सरोकारवालाहरुको सुझावलाई समेटेपछि खानेपानी मन्त्रालयले निर्देशिकाबारे स्थानीय तथा प्रदेश सरकारको नेतृत्व तह र विषय विज्ञसँग छलफल गर्नेछ । छलफलबाट प्राप्त सुझावहरुलाई समेटेर अन्तिम रुप दिएपछि मन्त्रालयले स्वीकृतिका लागि अगाडि बढाउने सिडिई चित्रकारले बताउनुभयो ।

उहाँले खुला दिसामुक्त अवस्थाको दिगोपना र पूर्ण सरसफाइको अबको बाटो पहिल्याउन र सुरक्षित रुपमा व्यवस्थित समावेशी सरसफाइका लागि सरसफाइ क्षेत्रको क्षमता अभिबृद्धि गर्न शहरव्यापी समावेशी सरसफाइ निर्देशिका निर्माण गर्नुपरेको जानकारी गराउनुभयो ।

पूर्ण सरसफाइ गुरुयोजनामा समाहित गरेर लैजानुपर्ने

खानेपानी मन्त्रालयले तयार पारेको शहरव्यापी समावेशी सरसफाइ निर्देशिकालाई पूर्ण सरसफाइ गुरुयोजनामा समाहित गरेर लैजान सरोकारवालाले सुझाव दिएका छन् । एनवास एप मार्फत देशका साढे ३ सय भन्दा बढी स्थानीय तहमा वास प्लान बनिरहेको र पूर्ण सरसफाइ गुरुयोजना समेत निर्माणको प्रक्रियामा रहेकाले शहरव्यापी समावेशी सरसफाइ निर्देशिकालाई पनि पूर्ण सरसफाइ गुरुयोजनासँग समाहित गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

‘हामीले जत्ति पनि स्यानिटेसन डकुमेन्टहरु बनाउँछौं, यो टोटल स्यानिटेशसनसँग लिङ्केज गरेर मात्र बनाउनुपर्छ । स्थानीय सरकारहरु पनि धेरै नीति निर्देशिकाले अन्यौलमा पर्छन्’ स्थानीय पूर्वाधार विभागका सिनियर डिभिज्नल इञ्जिनियर महेश्वर घिमिरेले भन्नुभयो ।

यस्तै युएन ह्याबिट्याटकी सुधा श्रेष्ठले शहरव्यापी समावेशी सरसफाइमा शहरी विकास मन्त्रालयको भूमिका के हुने भन्ने बारे प्रष्ट हुनुपर्ने बताउनुभयो । उहाँले एनवास एप मार्फत वास प्लान निर्माण गरिरहेका पालिकाहरुको संस्थागत क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनुभयो ।

यस्तै शहरी विकास मन्त्रालयका वरिष्ठ समाजशास्त्री कमल अधिकारीले पनि निर्देशिका निर्माण हुनु राम्रो कुरा भएको भन्दै पूर्ण सरसफाइ गुरुयोजनासँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

छलफल कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक सूर्यराज कँडेलले आधारभूत सरसफाइमा सबै नागरिकको पहुँच पुगेको र त्यसपछिको जटिल अवस्थालाई समाधान गर्नका लागि निदेशिका निर्माण गरिएको बताउनुभयो । उहाँले यो निक्कै कठिन खर्चालु पनि रहेको बताउनुभयो । वहाँले वेस्ट वाटर सिस्टम निर्माणका लागि साझेदारीमा जाने हो भने नगरपालिकाहरुलाई विश्वस्त तुल्याउन निक्कै गाह्रो रहेको बताउनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका योजना महाशाखा प्रमुख एवं सहसचिव सुनिल कुमार दासले खानेपानी तथा सरसफाइ क्षेत्रमा निर्माण भईरहेको पूर्ण सरसफाइ गुरुयोजना, वास प्लान, शहरव्यापी समावेशी सरसफाइ निर्देशिकाबारे स्पष्ट हुनुपर्ने र यसलाई कसरी समायोजन गर्नेबारे सोच्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. सुदनराज पन्थी, युनिसेफका सिद्धि श्रेष्ठ, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सञ्जीव विक्रम राणा, नेपाल नगरपालिका महासंघका कार्यकारी निर्देशक कलानिधी पोख्रेल, वाटर एडका कबिरदास राजभण्डारी, अञ्जली श्रेष्ठ लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार