सुर्खेतमा दैनिक १० घनमिटर दिसाजन्य लेदो प्रशोधन, स्तरोन्नति गरी ५० घ.मि. बनाईने

फोटो : पार्वती दंगाल

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा दैनिक १० घनमिटर दिसाजन्य लेदो प्रशोधन गर्न सकिने भएको छ । दिसाजन्य लेदो व्यवस्थापनका लागि एसएनभी नेपालले वीरेन्द्रनगर नगरपालिका—१ को कृष्ण सामुदायिक वन क्षेत्रको तारेभीरमा दिशाजन्य लेदो ब्यवस्थापन प्लान्ट निर्माण गरेको छ ।

दैनिक ५० घनमिटर दिसाजन्य लेदो र २.५ मेट्रिक टन ठोस फोहोर प्रशोधन हुने गरी डिपीआर निर्माण गरिएको भएपनि हाल प्रतिदिन १० घनमिटर दिसाजन्य लेदो प्रशोधन गर्न सकिने गरी पूर्वाधार निर्माण भएको हो ।

एसएनभी नेपालले दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण सम्पन्न गरी वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।

फोटो : पार्वती दंगाल

एसएनभी नेपालका पूर्वाधार सल्लाहकार राजु श्रेष्ठले पहिलो चरणमा दिसाजन्य लेदो व्यवस्थापन गर्न दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट (FSTP)  निर्माण गरिएको बताउनुभयो ।

दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट हस्तान्तरण कार्यक्रममा एसएनभीका सरसफाइ विभाग निर्देशक सुनेत्रा ललाले प्रशोधन केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि दिसाजन्य लेदो व्यवस्थापन गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले शहरमा शौचालयको सेफ्टिक ट्याङ्की भरिएपछि आउने समस्याबाट अब मुक्ति मिल्ने बताउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले दिसोजन्य लेदो व्यवस्थापनका लागि निर्माण गरिएको प्रशोधन केन्द्र नगरपालिकाको महत्वकांक्षी योजना भएको बताउनुभयो । उहाँले अव ठोस फोहोरमैला व्यवस्थापनका लागि अर्को चरणमा काम गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले प्रशोधन केन्द्र सञ्चालनका लागि ३ जना जनशक्ति तयार रहेको जानकारी गराउनुभयो । दिसाजन्य लेदो प्रशोधन गरेबापत केही शुल्क लिएर यसको सञ्चालाई दिगो बनाईने उहाँको भनाइ थियो ।

नगरपालिकाका प्रशासन अधिकृत तथा सरसफाइ फोकल पर्सन प्रकाश पौडेलले प्रशोधन केन्द्रमा तयार गरिएको कम्पोष्ट मल विक्री वितरणका लागि अर्काे चरणमा काम गरिने बताउनुभयो । उहाँले यसपछि ठोस फोहोर व्यवस्थापनका लागि कामहरु थालिने बताउनुभयो ।

दिसाजन्य लेदो प्रशोधन केन्द्रको निर्माण काठमाडौंको नेपाल आदर्श निर्माण कम्पनी र सुर्खेतको दिपमाला इन्जिनियरिङ कम्पनीले गरेको एसएनभी नेपाल, वीरेन्द्रनगर नगरकी वास अफिसर पार्वती दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणका लागि एसएनभी नेपालले एक करोड ९७ लाख ६२ हजार रुपैयाँ लगानी गरेको छ ।

फोटो : पार्वती दंगाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार