कोरोना महामारी रोकिएपछि फेरि लयमा फर्किदै पूर्ण सरसफाइ अभियान, १२ समुदाय सफा र स्वच्छ क्षेत्र घोषणा

 1161 पटक हेरिएको
🔗
96
Shares

विनोद धौलागिरि/सुनसरी : कोरोना महामारीका कारण सुस्ताएको पूर्ण सरसफाइ अभियान सुनसरीका समुदाय तहमा लयमा फर्किएको छ । कोरोना महामारी अघि प्रदेश नं. १ मा विभिन्न विकास साझेदारसँगको साझेदारीमा २८ भन्दा बढी स्थानीय तहमा पूर्ण सरसफाइ अभियान सञ्चालनमा थियो ।

कोरोना महामारी पश्चात कतिपय कार्यक्रमको अवधि समाप्त भएको र नयाँ विकास साझेदार नआएका कारण प्रदेशभर नै पूर्ण सरसफाइ अभियान सुस्त भएको समयमा खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य (WASH SDG) परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सामुदायिक समाज उत्थान केन्द्र सुनसरीले विभिन्न सात स्थानीय तहमा पूर्ण सरसफाइ अभियान सहजीकरणलाई तीव्रता दिएको हो ।

“कोभिडका कारण चाहेर पनि समुदायमा ठूलो तहमा भेला, बैठक र परिचालन गर्न सक्ने अवस्था थिएन” परियोजना संयोजक हरि बूढाथोकीको भनाइ छ, “कोभिड कहर कम भएपछि समुदायमा समेत जोखिम न्यूनीकरणका उपाय अपनाउँदै पूर्ण सरसफाइ अभियानलाई पुनः तीव्रता दिएका छौं ।”

समुदायको सरसफाइ तथा स्वच्छता व्यवहार परिवर्तन सहजीकरणका लागि प्रत्येक वडामा स्थानीय सहजकर्ताको व्यवस्था गरिएको छ, जसले पूर्ण सरसफाइसँग सम्बन्धित विभिन्न आयाम तथा सूचकमा आधारित भएर व्यवहार परिवर्तन कक्षाहरु सञ्चालन गर्छन् । “व्यवहार परिवर्तन कक्षाको निरन्तरता, टोल पूर्ण सरसफाइ समितिको सक्रियता र दिगो विकास लक्ष्यले निर्धारण गरेको परिमाणात्मक उपलब्धी हासिल गर्ने प्रतिवद्धता नै पूर्ण सरसफाइ अभियानका सवल पक्ष हुन्”, बूढाथोकीको भनाइ छ।

दिगोपन र स्तरोन्नतिका लागि स्वघोषणा

कोरोनाको दोस्रो लहर मत्थर हुनासाथ समुदाय सहजीकरण, संस्थागत सरसफाइ तथा स्वच्छता प्रवद्र्धन र खानेपानी तथा सरसफाइ र स्वच्छतामा लैंगिक सवालमा सहजीकरणलाई तीव्र बनाउँदै हालसम्म १२ समुदाय सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको छ । “१२ वटा समुदायका ४०१ घरधुरीले सफा र स्वच्छ क्षेत्रका सूचक पूरा गरी सफा स्वच्छ क्षेत्र स्वघोषणा गरिएको हो”, सामुदायिक समाज उत्थान केन्द्रका अध्यक्ष इन्द्र कुमार कर्णको भनाइ छ, “सम्बन्धित वडाबाट अनुगमन र प्रमाणीकरणपश्चात् समुदायले स्वघोषणा प्रक्रिया अघि बढाउँछ ।”


पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले निर्दिष्ट गरेका सफा र स्वच्छ क्षेत्र चरणका सूचक पूरा गरेपछि सम्बन्धित टोल पूर्ण सरसफाइ समितिले वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिमा अनुगमनका लागि अनुरोध गर्दछ । वडास्तरीय खासस्व समिति र वडा समितिले संयुक्त अनुगमन गरेपश्चात् सूचक पूरा भएमा स्वघोषणाका लागि अनुमति दिइन्छ । “सोही अनुमतिका आधारमा समुदायले सफा र स्वच्छ क्षेत्र घोषणा गर्दछ”, संयोजक बूढाथोकीको भनाइ छ, “घोषणासँगै पूर्ण सरसफाइ अभियानको दोस्रो चरण अर्थात् पूर्ण सरसफाइ उन्मुख क्षेत्र अभियानको थालनी हुन्छ ।”

पूर्ण सरसफाइको अवस्था हासिल गर्नु त्यति सहज छैन । समुदायमा चर्पीको मर्मतसम्भार तथा स्तरोन्नति गर्न, संस्थागत तथा सार्वजनिक सरसफाइ तथा स्वच्छता कायम राख्न आर्थिक साधन श्रोतको अभाव भइरहेको समयमा पूर्ण सरसफाइउन्मुख अवस्था हासिल गर्न कठिन भए पनि सफा र स्वच्छ क्षेत्रको अवस्थाको दिगोपनका लागि समेत स्वघोषणा आवश्यक भएको बताउनुहुन्छ, रामधुनी नगरपालिका, वडा नं. ७ का वडाअध्यक्ष केशव गौतम । “हाम्रो वडामा समेत दुई वटा टोललाई सफा र स्वच्छ क्षेत्र स्वघोषणा गरिसकिएको छ, अन्य टोलहरुमा समेत अभियान जारी छ”, वडाअध्यक्ष गौतमको भनाइ छ, “खानेपानीसँगै सरसफाइ तथा स्वच्छतालाई समेत सँगसँगै अघि बढाएका छौं ।”

स्वच्छ खानेपानी र संस्थागत सरसफाइमा जोड

सामुदायिक समाज उत्थान केन्द्रले खानेपानी तथा सरसफाइ दिगो विकास लक्ष्य अन्तर्गत कोरोना संक्रमणको समयमा समुदायलाई कोरोना संक्रमणबाट बचाउने र सरसफाइ तथा स्वच्छता सामग्री सहयोगमा जोड दियो । यसैगरी, कोरोनाको पहिलो लहरपछि नै विद्यालय तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छतामा जोड दिएको बताउनुहुन्छ कार्यक्रम संयोजक बूढाथोकी । सात स्थानीय तहका चार दर्जनभन्दा बढी विद्यालयमा प्रयोगकर्तामैत्री हात धुने स्टेशन निर्माणमा सहयोग पुगेको समेत उहाँले जानकारी दिनुभयो । परियोजनाले सहयोग गर्ने सातवटै स्थानीय तहमा कम्तीमा पनि तीनदेखि बढीमा १२ वटासम्म विद्यालयमा हात धुने स्टेशन निर्माण गरिएको छ ।

घरायसी तहमा पानीको शुद्धीकरणका अलावा सुरक्षित पानी सुनिश्चित गर्ने कार्यमा सहयोग गर्नका लागि संस्थाले खानेपानी प्रणालीहरुको खानेपानी सुरक्षा योजना तयार गर्न र त्यसको कार्यान्वयन गर्न समेत सहयोग गरिरहेको छ । “हालसम्म दुई वटा खानेपानी प्रणालीको खानेपानी सुरक्षा योजना निर्माण गरी कार्यान्वयनको क्रममा रहेको छ”, कार्यक्रम संयोजक बूढाथोकीको भनाइ छ, “आउँदो वर्षमा थप खानेपानी प्रणालीहरुको सुरक्षा योजना निर्माण गर्न सहयोग गर्छौं ।”

दिगोपनमा जोड दिन सरोकारवालाको सुझाव

प्रदेश नं. १ मा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा भएका कार्य, उपलब्धी र दिगोपनको अनुगमनका लागि प्रदेश वास क्लस्टरको तर्फबाट अनुगमन गरेको र सहजीकरण गर्ने संस्थाहरुले सञ्चालन गरेका क्रियाकलापबाट लक्षित समूह लाभान्वित भएको बताउनुहुन्छ प्रदेश वास क्लस्टरका संयोजक, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख ई. विकास काफ्ले । “हामीले झापा, मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले गरेका कार्यहरुको अनुगमन गर्दा कार्य प्रभावकारी भएको पायौं”, क्लस्टर संयोजक काफ्लेको भनाइ छ, “अब यसको स्तरोन्नति, दिगोपन र निरन्तरतामा जोड दिनुपर्छ ।”


खानेपानी, सरसफाइ तथा स्वच्छता अन्य क्षेत्रसँग अन्तरसम्बन्धित विषय भएकोले सबै क्लस्टरहरुले समन्वयात्मक रुपमा काम गर्नुपर्ने धारणा अन्तर्राष्ट्रिय आप्रवासन संगठनका फोकल पर्सन द्वारिका घिमिरेको छ । “कोभिडको समयमा सबै क्लस्टरले समन्वयात्मक रुपमा काम गरेजस्तै अन्य समयमा समेत समन्वयात्मक रुपमा काम गर्नुपर्छ, जसको अगुवाइ स्थानीय सरकारले गर्नुपर्छ”, उहाँको धारणा छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार