जनप्रतिनिधी मार्फत मानव मलमूत्र व्यवस्थापनको सन्देश घरघर पुर्‍याईदै (भिडियो रिपोर्ट)

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाले मानव मलमूत्र व्यवस्थापन सम्बन्धी वडाअध्यक्षहरुलाई पम्प्लेट वितरण गरेको छ । सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) ले उपलब्ध गराएको पम्प्लेट नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले वडाध्यक्षहरुलाई वितरण गर्नुभएको हो ।

पम्प्लेटहरु महालक्ष्मी नगरपालिकाको वडा नं. ७, ८ र ९ का अध्यक्षहरुलाई वितरण गरिएको छ । बाँकी वडाका अध्यक्षहरुलाई समेत वितरण गरिने र यसले मानव मलमूत्र व्यवस्थापन सम्बन्धी जनचेतना फैलाउन सघाउ पुग्ने महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले बताउनुभयो ।

मानवमलमूत्र व्यवस्थापन सम्बन्धी समुदाय स्तरमा जनचेतना फैलाउन चार प्रकारका पम्प्लेटहरु बनाई वडाअध्यक्षहरुलाई वितरण गरिएको सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) का महासचिव राजीव जोशीले बताउनुभयो । यसबाट विद्यालयका बालबालिकाहरु मार्फत घरघरसम्म सन्देश प्रवाह हुने अपेक्षा गर्नुभयो ।

महालक्ष्मी नगरपालिकाको वडा नं. ९ का अध्यक्ष बासुदेव शर्माले सोफेन मार्फत प्राप्त भएको पम्प्लेटलाई विद्यार्थी मार्फत घरघरमा पुर्‍याईने र केही सार्वजनिक स्थानमा समेत टाँस गर्ने बताउनुभयो । आफ्नै वडामा बन्न लागेको दिसाजन्य लेदो प्रशोधन प्लान्ट केही स्थानीयको विरोधका कारण बन्न नसकेको बताउँदै उहाँले पम्प्लेटको माध्यमबाट यसबारे बुझ्न मद्दत मिल्ने बताउनुभयो । यस्तै अर्का वडाध्यक्ष वडा नंं ८ का विश्वराज श्रेष्ठले पम्प्लेटको माध्यमबाट मानवमलमूत्र व्यवस्थापन बारे केही जनचेतना फैलाउन सघाउ पुग्ने बताउनुभयो ।

मानवमलमूत्र व्यवस्थापनको लागि प्रशोधन केन्द्रको अभाव छ । प्रशोधन केन्द्र बनाउनका लागि कतै जग्गाको अभाव त कतै उपलब्ध भएको जग्गामा समेत स्थानीयको विरोधका कारण प्रशोधन केन्द्र बन्न सकेका छैनन् । यसर्थ यससम्बन्धी व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार