कौसी खेतीकी अथक कृषक, पूरा गरिन् दुई दशक (भिडियो सहित)

भक्तपुर : भक्तपुर लोकन्थलीकी भगवती पाण्डेले घरको छतमा तरकारी फलाउँदा ‘कौसी खेती’ को नामै सुन्नु भएको थिएन । जग्गाको अभावमा चामलको बोराबाट खेती गर्न सुरु गर्नुभएकी भगवतीको ‘कौसी खेती यात्रा’ ले २० बर्ष पूरा गरिसकेको छ ।

दुई दशक अघिको बल भगवती पाण्डेसँग अहिले छैन । कुनै समय घरभरिको परिवार अहिले तीन जनामा सीमित भएको छ । तर कौसी खेती भने झन् झन् बढ्दै गएको छ । समय अनुसार खेतीमा समेत सुधार गर्दै नयाँ-नयाँ तरिका अपनाउन थालेपछि तरकारीको उत्पादन बढ्न थालेको हो ।

उहाँको घरको छतमा मौसम अनुसारका कुनै पनि तरकारी टुट्दैनन् । कुन समयमा कुन जातको तरकारी लगाउने भन्नेमा अभ्यस्त भईसक्नुभएकी भगवती पाण्डेको घरको छत अहिले हिउँदे जातका तरकारीले ढाकिएका छन् । ‘केराउ, साग, लसुन, धनियाँ, प्याज फलाएकी छु, लसुनको पातको त मस्यौरा पनि बनाएकी छु ।’ पाण्डेले भन्नुभयो ।

२० बर्ष पछि पाएको तालिमले खेती गर्ने तरिकामै सुधार

घरमा तरकारीको आवश्यकता । बिहान बेलुकीको खाना पकाउने बेला जहिल्यै तरकारीकै चिन्ता हुने । ‘घरमा खाना आफैले पकाउनुपर्ने भएपछि तरकारीको चिन्ता पनि आफैलाई हुने भयो । त्यसपछि चामलको बोरा काटेर तरकारी खेती सुरु गर्न थालेपछि आज तरकारी के खाने भन्ने समस्याले सताएन ।’ पाण्डे भन्नुहुन्छ ‘घरको आवश्यकताले सुरु गरेको छतमा सुरु गरेको कौसीमा जे जत्ति गरें, आफ्नै तरिकाले गरें, सिकाउने कोही आएनन्, कसैलाई सोधिएन पनि ।’

छतमा तरकारी खेती सुरु गर्न थालेको २० बर्षको बीचमा गएको बर्षायाममा भगवतीले तालिममा भाग लिने अवसर पाउनुभयो । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र मध्यपुरथिमी नगरपालिकाको सहकार्यमा सञ्चालित तीन दिने कौसी खेती तालिमबाट निक्कै ज्ञान आर्जन गरेको उहाँले सुनाउनुभयो ।

‘बिरुवालाई माटो हल्का बनाउनु पर्दोरहेछ, मैले त तालिमबाट आएपछि निक्कै माटो निकालेर फ्याँकें अनि त्यसमा कोकोपिट हाल्नु भन्नु भएको थियो, मैले चाहिं अर्गानिक मल हालेर मिलाएँ ।’ तालिममा गएपछि नै हो यसरी मिलाएर तरकारी खेती गर्न थालेको । लहरै रोपेका तरकारीहरु देखाउँदै उहाँले भन्नुभयो ।

तालिम बिनै तरकारी खेती गर्दा दुःख धेरै हुने र उब्जाउ कम हुने उहाँको अनुभव छ । ‘तालिमले तरकारी खेती गर्न चाहिने ज्ञान भयो, कम परिश्रम गर्दा पनि फल राम्रो दिएपछि प्रशस्त खान पाईयो, दुःख खेर गएन । तालिम पछि रोपेको केराउको फल नै बेग्लै छ ।’ उहाँले तालिम पछि खेती गर्ने तरिकामा आएको फरक बारे बताउनुभयो ।

भाँडा माझेको जल, विरुवाका लागि सिंचाई र मल

‘कौसी खेती तालिममा धेरै कुरा सिकें, सिकेकै दिन देखि प्रयोग गर्न थालेको चाहिं फोहोरपानीको प्रयोग हो ।’ कौसी कृषक पाण्डेले भन्नुभयो ‘फोहोरपानी कहिलेकाहीं त प्रयोग गर्थें तर अहिले जस्तो नियमित प्रयोग गर्दिनथें, भाँडा माझेको पानीले विरुवाको लागि सिचाई र मल दुवैको काम गर्दोरहेछ ।’

उहाँको अनुभवमा आकाशेपानीलाई ड्रम वा कुनै भाँडाकुँडामा थापेर जम्मा गरेर राखेर पनि कौसी खेतीको सिंचाईको लागि प्रयोग गर्न सकिन्छ । तरकारी पखालेको, भाँडा माझेको जस्ता फोहोरपानी र आकाशेपानीलाई प्रयोग गर्न सकेमा कौसी खेतीको सिंचाईकै लागि भनेर थप पानी आवश्यक नपर्ने उहाँको अनुभव छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा युएन, ह्याबिट्याटको आर्थिक सहयोग तथा मध्यपुर थिमि नगरपालिकाको साझेदारीमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Green Roooftop Farming-Water for Life  Project सञ्चालन गरिरहेको छ ।

शहरी समुदायले विगतदेखि नै कौसी खेती गर्दै आए पनि प्राविधिक ज्ञान र कौसी खेतीलाई बृद्धि गर्न प्रभावकारी र नयाँ प्रविधिहरुको अभाव देखिएकाले परियोजना सञ्चालन गरिएको एन्फोका सिनियर वास अफिसर सिर्जना शाक्यले बताउनुभयो ।

परियोजना मार्फत कौसी खेतीको माध्यमबाट खाद्य सुरक्षा, फोहोरमैला व्यवस्थापन तथा पानी संरक्षण गरी शहरी कृषिका नवीन तरिकाहरूको प्रबर्द्वन भैरहेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार