सैनामैनाका किसान गँड्यौला मल बनाउँदै बेच्दै

बुटवल : रूपन्देहीको सैनामैना नगरपालिका रामापुरका गुणनिधि अधिकारी व्यावसायिक गँड्यौला खेती गर्छन् । उनको करेसाबारीमा पाँचवटा गँड्यौला मल बनाउने भर्मी बिन छन् । पाँचवटा बन्ने प्रक्रियामा छन् । प्रतिकेजी २ हजार रुपैयाँमा तीन किलो गँड्यौला किनेर उनले व्यवसाय थालेका हुन् । उनी आफ्नो खेतबारीमा मात्र होइन, गँड्यौला मल बेचेरसमेत आम्दानी लिन थालेका छन् । ‘नर्सरी खेती गर्ने टाढा–टाढाका किसान मल किन्न आउँछन् । नगद तिरेर लैजान्छन्,’ गुणनिधिले भने, ‘सोचेभन्दा धेरै फाइदा भएको छ ।’

गुणनिधिले दुई वर्षअघि ६ हजार रुपैयाँ पर्ने दुई वटा बिन आफैंले किनेका हुन् । तीनवटा सैनामैना नगरपालिकाले दिएको हो । ‘नगरपालिका, यूएनडीपी र सेतो गुराँस बालविकास संस्थाले गँड्यौलाको खेती कसरी गर्ने भन्नेबारेमा सिकायो,’ उनले भने, ‘सुरुसुरुमा नगरपालिकाका प्राविधिकहरूले सिकाए । खासै गाह्रो रहेनछ ।’ गुणनिधि तरकारी र फलफूलका बेर्नासमेत उत्पादन गरेर बेच्थे । कृषि प्राविधिकहरूले तरकारी र फलफूलका बेर्नामा गँड्यौला मल राख्न सुझाव दिन्थे । केही वर्ष गँड्यौला मल किनेर काम चलाए । तुलनात्मक रूपमा उत्पादन बढ्दै गयो । ‘तर, कहिले भनेको बेलामा मल पाइँदैनथ्यो, कहिले भनेजस्तो नपाएपछि आफैं गँड्यौला मल उत्पादन थालेको हुँ,’ गुणनिधिले सुनाए ।

सैनामैनाका किसान पछिल्लो समय गँड्यौला मल उत्पादनतर्फ आकर्षित भएका छन् । अर्गानिक मलका रूपमा गँड्यौलाको माग बढेपछि किसानले उत्पादन बढाएका हुन् । ३० जनाले व्यावसायिक खेती गरेका छन् भने आफ्ना लागि उत्पादन गर्ने धेरै छन् । ‘गँड्यौला मल आफैंले खेतबारीमा प्रयोग गरे पनि उत्पादन बढाउन सकिने रहेछ । माग धेरै छ । सजिलै बेच्न पनि सकिने रहेछ,’ सैनामैना–७ देउवापारका किसान बाबुराम पन्थले भने, ‘लगानी र मिहिनेत पनि धेरै लाग्दो रहेनछ ।’

कृषि प्राविधिकहरूका अनुसार एउटा बेडबाट वार्षिक पाँचपटकसम्म गँड्यौला मल उत्पादन गर्न सकिन्छ । एक बेडबाट एकपटकमा १५ क्विन्टलसम्म मल उत्पादन हुन्छ । जुन प्रतिकिलो थोकमा ४० र फुटकर ५० रुपैयाँमा बिक्री हुन्छ । फलफूल र तरकारीको नर्सरीका लागि गँड्यौला मल निकै फलदायी हुन्छ । उक्त मल माटोको अम्लीय घटाउन र उत्पादकत्व बढाउन पनि सहयोगी हुने कृषि शाखा प्रमुख सिर्जना खनाल सुवेदीले बताइन् ।

अर्गानिक उत्पादनलाई बढावा दिने उद्देश्यले सैनामैना नगरपालिकाले समेत किसानलाई निःशुल्क गँड्यौला उत्पादन गर्ने बेड वितरण थालेको छ । गत वर्ष ३३ वटा बेड वितरण गरेको थियो । यसपालि किसान छनोटको काम चलिरहेको कृषि शाखा प्रमुख सुवेदीले बताइन् । ‘रासायनिक मल र विषादीको प्रयोगले बिग्रिएको खेतबारीको माटो र मानव स्वास्थ्य सुधार गर्न किसानलाई गँड्यौला मलमा आकर्षित गरेका छौं,’ उनले भनिन्, ‘व्यावसायिक किसानलाई निःशुल्क हर्भिक बिन र प्राविधिक सेवा दिएका छौं ।’  कान्तिपुर दैनिकबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार