मानव मलमूत्र व्यवस्थापनको हरेक चरणमा चुनौती नै चुनौती (भिडियो रिपोर्ट)

काठमाडौ : आजभन्दा १०/१२ बर्ष अगाडिसम्म नेपालमा करिब ४० प्रतिशत मानिसको घरमा मात्र चर्पी थियो । ६० प्रतिशत मानिसहरु खुला ठाउँमै दिसापिसाब गर्थे । खुलादिसामुक्त अभियानले सबैको घरमा चर्पी त बने तर सेप्टिक ट्याङ्मा जम्मा भएको दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन गर्न अझै पनि धेरै चुनौतीहरु छन् । दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी स्पष्ट कानुन एवं नीति निर्देशिकाको अभाव, नियमन तथा अनुगमनको कमी, स्थानीय स्तरका लागि कामलाग्दो प्रविधि एवं स्थानीयबासिन्दामा सचेतनाको अभाव जस्ता चुनौतीहरुसँग अझै पनि सामना गरिरहनु परेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ दिसाजन्य लेदो व्यवस्थापनको हरेक चरणमा चुनौती नै चुनौती रहेको बताउनुहुन्छ । उहाँका अनुसार चर्पीको सेफ्टिक ट्याङ्क शील्ड नभएका कारण मानवमलमूत्र चुहिएर प्राकृतिक पानीका स्रोतदेखि इनार कुवाहरु पनि दुषित भईरहेको छ । जसले गर्दा पानीजन्य रोगहरु नियन्त्रण हुन सकेका छैनन् । ‘दिसाका रसहरु चुहिएर हाम्रा पानीका स्रोतहरु प्रदुषित भयो, जसलाई हामीले प्रयोगमा ल्याउँदा हाम्रो स्वास्थ्यमा नकारात्मक असर प¥यो । यी सबै चीजको समाधान पनि एउटा शील्ड सेफ्टिक ट्याङ्क नै हो ।’ उहाँले भन्नुभयो ।

दिसाजन्य लेदो प्रशोधन केन्द्रको डिजाइन एवं निर्माण र सञ्चालन सम्बन्धी प्राविधिक जनशक्तिको अभाव हुनु, निर्माण भएका दिसाजन्य लेदो प्रशोधन केन्द्र सञ्चालन गर्न अत्यधिक खर्च लाग्ने हुँदा सञ्चालन गर्न समस्या हुनु, प्रशोधन केन्द्र सम्बन्धी स्थानीय बासिन्दाको नकारात्मक धारणा हुनु, जसका कारण निर्माण कार्यमा अवरोध सिर्जना हुनु लगायत चुनौतीका कारण दिसाजन्य जन्य लेदो प्रशोधन केन्द्रहरु बन्न सकेका छैनन् ।

जसका कारण सफाइ व्यवसायीले सेप्टिक ट्याङ्क खाली गरेर ल्याए पनि सुरक्षित तरिकाले विसर्जन गर्ने स्थलकै अभाव छ । काठमाडौ उपत्यकाका विभिन्न स्थानमा ढलको फोहोरपानी प्रशोधन गर्न प्रशोधन केन्द्रहरु बनिरहेको भएपनि मानवमलमूत्र प्रशोधन केन्द्र बनाउने सरकारको योजना ओझेलमा परेको छ । जसका कारण व्यवसायीहरु असन्तुष्ट छन् ।

विस्तृतमा हेर्नुहोस्, मानव मलमूत्र व्यवस्थापनका चुनौतीहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार