अस्पतालजन्य फोहोर छुट्टै संकलन गर्न शुरु

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले अस्पतालजन्य फोहोरलाई छुट्टै संकलन गर्न थालेको छ । महानगरपालिकाले आज (शुक्रबार) देखि अस्पतालजन्य फोहरलाई छुट्टै संकलन गर्न थालेको हो ।

अस्पतालजन्य फोहोर संकलनका लागि महानगरपालिकाले ल्याब टेक्निसियन सहित ६ जना कर्मचारी खटाएको छ । पहिलो दिन नगरपालिकाले विभिन्न स्वास्थ्य संस्थाबाट दुई ट्याक्टर फोहोर संकलन गरेका छन् । तर ती फोहोर अटो क्लेभ मेसिनमा हाल्ने खालको जस्ता थिएनन् । विर्ता क्षेत्र लगायत स्वास्थ्य संस्थाबाट संकलन गरिएको फोहोरमा कुहिने, नकुहिने, केमिकलयुक्त, संक्रामक फोहोर एकै ठाउँमा राखिएको छ ।

वातावरण इन्सपेक्टर प्रदीप साहका अनुसार पहिलो दिन भएकाले फोहोर छुट्ट्याएर राख्न आग्रह गरिएको छ । ‘विरामी र कुरुवाले खाएर बढी भएको खाना, कपडा, टिस्यु पेपर, विष्कुट, प्लाष्टिक समेत मिसाएर फोहोर दिएका छन्, अटोक्लेभ मेसिनमा राखेर डिसइन्फेक्सन गर्न सक्ने स्थिति देखिएन । फोहोरलाई छुट्याएर दिन आग्रह गरेका छौं ।’ उहाँले भन्नुभयो ।

स्वास्थ्य संस्थाहरु फोहोर दिन सकारात्मक भएपनि छुट्टयाएर नदिएको खण्डमा केन्द्रमा लैजानुको अर्थ नहुने र स्वास्थ्य संस्थाहरुलाई फोहोर छुट्याएर दिने बानी पार्नुपर्ने उहाँले बताउनुभयो । वीरगञ्जमा रहेका अस्पताल, क्लिनिक, पोलिक्लिनकहरुले फोहोरलाई नि–संक्रमण नगरी घरबाट निस्कने फोहोर सरह महानगरपालिकाको गाडीमा हालिदिने, जलाएर नष्ट गर्ने र जथाभावी फाल्ने गर्दै आएका छन् ।

वीरगञ्जमा निर्माण गरिएको अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन आउन भने बाँकी छ । अस्पतालजन्य फोहोर छुट्टै संकलन र व्यवस्थापन गर्न आवश्यक बन्दोबस्त मिलाउने क्रममा समय लागेको महानगरपालिकाले जनाएको छ । नगर प्रमुख विजय सरावगीले आवश्यक जनशक्ति व्यवस्थापन, प्रशिक्षण गराउने लगायतको काम भइरहेको भन्दै छिट्टै केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो ।

अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र ६ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । गत मंसिर २९ गते वीरगञ्ज नगरपालिकाका प्रमुख विजय सरावगीले अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्रको उदघाटन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार