भकारो सुधार कार्यक्रम सरसफाइ, स्वास्थ्य र आर्थिक हिसाबले प्रभावकारी

तौलिहवा : कपिलबस्तुको बाणगङ्गा नगरपालिका ६ भगलापुरमा सञ्चालन गरिएको भकारो सुधार कार्यक्रम सरसफाइ, स्वास्थ्य र आर्थिक हिसाबले प्रभावकारी बन्दै गएको छ। गुइठालाई विस्थापित गर्ने उद्देश्यले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बायोग्याँस सहित भकारो सुधार कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

भकारो सुधार कार्यक्रम लागु हुनु अघि एउटै खाल्डोमा गाईबस्तुको पिसाब र गोबर फ्याँक्दै आएका बाणगङ्गा नगरपालिका ६ भगलापुरका कृषक चुरामणी भुसालले अहिले गोबरबाट बायोग्याँस निकाल्नु भएको छ । एउटै खाल्डोमा गोबर थुपार्दा सरसफाइ र स्वास्थ्यको हिसाबले निकै हानिकारक रहेको भुसालले बताउनुभयो । भकारो सुधार कार्यक्रम सञ्चालनमा आएपछि खाना पकाउन एलपी ग्यासमा हुने खर्च समेत जोगिएको उहाँको अनुभव छ ।

गोबरग्याँसको प्लाण्ट नभएका बेला प्रत्येक महिना खाना पकाउन एउटा ग्यास सिलिण्डर लाग्थ्यो । अब त्यो बचत हुन थालेको छ । उहाँले भन्नुभयो ।

भान्सामा प्रयोग भइरहेको गुइठालाई विस्थापन गर्न र मानव स्वास्थ्यलाई प्रतिकृल असरबाट बचाउने उद्देश्यले बायोग्याँस सहितको भकारो सुधार कार्यक्रम लागु गरिएको विज्ञ केन्द्रका प्रमुख डा। उत्तम आचार्यले बताउनुभयो । उहाँका अनुसार २५ जना कृषक एवम् घर परिवारलाई समेटेर कार्यक्रम सञ्चालन गरिएको हो । यसको सञ्चालन प्रक्रिया निकै सहज रहेको उहाँको भनाइ छ ।

त्यस्तै बायोग्याँस सहित भकारो सुधार कार्यक्रम कपिलवस्तुको महाराजगंज नगरपालिका ९, विजयनगर गाँउपालिका ६ मा पनि सञ्चालनमा ल्याइएको प्रमुख आचार्यले बताउनुभयो । यो कार्यक्रम गुइँठाको प्रयोग बढी हुने स्थानमा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

गुइँठाले मानिसको स्वास्थ्यमा असर पर्ने भएकाले बायोग्याँस सहितको भकारो सुधार कार्यक्रम प्रभावकारी बन्दै गएको महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम खाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार