नेपालगञ्जको मानव मलमूत्रजन्य फोहोर व्यवस्थापन बिनियम २०७८ बारे छलफल

  भीष्म लोध  407 पटक हेरिएको

नेपालगञ्ज : मानव मलमूत्रजन्य फोहोर व्यवस्थापन विनियम २०७८ सम्बन्धी छलफल गरिएको छ । नेपालगञ्जमा मानव मलमूत्र एवं फोहोर व्यवस्थापन गर्दै आएका सरोकारवालाहरु बीच मानव मलमूत्रजन्य फोहोर व्यवस्थापन बिनियमका बिषयमा छलफल गरिएको हो । छलफलमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले नेपालगञ्जमा ठुलो समस्या निम्तिने सम्भावना दिन प्रति दिन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले यसको व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने र आवश्यक सहयोग संघ संस्थाले पनि उपलब्ध गराउन आग्रह गर्नुभयो ।

नेपालगञ्जमा शहरी सरसफाइ योजना तथा व्यहावर परिवर्तनका लागि संचार रणनीतिक योजना निर्माण गरिएको भए पनि पास गर्न बाँकी रहेकाले सो योजनालाई छिट्टै पास गर्ने उपमेयर थापाले प्रतिबद्धता जनाउनुभयो । मानव मलमुत्रजन्य फोहोर व्यवस्थापनका लागि हालसम्म केही गरिएको छैन, उपमेयर थापाले भन्नुभयो, ‘तत्कालका लागि कुनै खाका बनाएर भए पनि कार्य गर्न सकिने भए राम्रो हुने थियो । कसरी व्यवस्थापन गर्न सकिन्छ सम्भावनाको खोजी गरौं’ उहाँले भन्नुभयो । उहाँले दिशाजन्य लेदो व्यवस्थापन प्लान्ट निर्माणका लागि एस एन भि नेपाललाई छिट्टै डोनर समिट गर्नका लागि अनुरोध समेत गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका, एस एन भि नेपाल, इको कन्सर्न प्रालि, वास एस डिजि र गेरुवा ग्रामीण जागरण संघ बर्दियाको संयुक्त सहकार्यमा आयोजना गरिएको छलफलमा उपमेयर थापाले कानून बनाएर कार्ययोजना निर्माण गर्न अघि बढनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा तयार गरिएको बिनियम २०७८ का बारेमा इको कन्सर्नका प्रज्वल श्रेष्ठ, कृष्णराम ऐन्डो र डा.चिरन्जिवीले प्रस्तुती गर्नुुभएको थियो । कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी, सरसफाइ क्षेत्रका कर्मचारी, गेरुवाका अध्यक्ष कृष्णजंग शाह, एस एन भि नेपालका सिटि अफिसर सुरज राजभण्डारी लगायतको उपस्थिति रहेको गेरुवाका कार्यक्रम संयोजक गफ्फार अलि शेषले जानकारी दिनुभयो ।

नेपालगञ्जमा मानव मलमूत्रजन्य फोहर व्यवस्थापन सम्बन्धमा एस एन भि नेपालको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार