
काठमाडौ : वर्ष दिनअघि खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी १७ वर्षीय किशोरी कविता वनले सेनीटरी प्याड बनाउने तालिम लिईन् । तालिममा सिकेको सीपलाई उनले आफुमा मात्र सिमित गरिनन् । कविताले आफ्नो गाउँका किशोरी तथा महिलालाई पुःन प्रयोग गर्न मिल्ने सेनीटरी प्याड बनाउन र प्रयोग गर्न सिकाउँदै हिँडिन् । प्याड बनाउन सिकाउने अभियानका क्रममा मिलेको हौसलाले यस कामप्रति थप जोस र जाँगर पनि पलायो ।
त्रिभुवन मावि ऐसेलुखर्कबाट कक्षा १२ उत्तिर्ण गरेपछि गत मंसिरमा काठ्माण्डौं पुगेकी कविताले काठ्माण्डौंमा पनि पुःन प्रयोग गर्न मिल्ने सेनीटरी प्याड बनाउने प्रशिक्षकको जिम्मेवारी पुरा गर्न छाडेकी छैनन् । लियो क्लव अफ काठ्माण्डौं आनन्दभैरवले शनिबार आयोजना पुःनप्रयोग गर्न मिल्ने सेनीटरी प्याड निर्माण सम्वन्धी तालिममा कवितालाई नै प्रशिक्षकका रुपमा बोलाइयो ।
सिद्ध कलेज, काठ्माण्डौंमा आयोजना गरिएको तालिममा कविताबाट एक दर्जन किशोररकिशोरीले सेनीटरी प्याड बनाउने सीप सिकेका छन् । लियो क्लव अफ काठ्माण्डौं आनन्दभैरवकी चार्टर प्रेसिडेन्ट रञ्जना नेपालसँग कविताको चिनजान थियो ।
कविताले सेनीटरी प्याड सम्वन्धी तालिम सञ्चालन गरेको तस्बिर र समाचार सामाजिक सञ्जामा शेयर गर्नेगरेकी थिईन् । त्यो देखेकी रञ्जनाले लियो क्लव अफ काठ्माण्डौं आनन्दभैरवकोतर्फबाट प्याड बनाउने तालिम आयोजना गरेर कवितालाई प्रशिक्षकका रुपमा बोलाएकी हुन् ।
कविताले तालिममा सहभागी किशोररकिशोरीलाई घरेलु सामग्री प्रयोग गरेर सेनीटरी प्याड बनाउने र प्रयोग गर्ने विधि सिकाएकी छन् । उनले सुती, कटन जस्ता नरम खालको कपडाबाट सियो र धागोले सिलाएरै प्याड तयार पार्न सिकाउने गरेकी छन् । घरमा तयार पारिएको प्याड एक वर्षसम्म पुःन प्रयोग गर्न सकिने भएकाले महिलाका लागि उपयोग हुने कविता बताउँछिन् । स्कुल अफ डेमोक्रेसी शाखा खोटाङको सदस्य रहेकी कविता हाल जिपी मेमोरियलमा कलेज, काठ्माण्डौंमा स्तानक पहिलो वर्षमा अध्ययनरत छिन् ।
कविताले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित शिशु माबिमा कक्षा ७ देखि कक्षा १० मा अध्ययनरत ३७ छात्रालाई सहभागी गराएर गत १२ बैसाखमा सेनीटरी प्याड बनाउने तालिम सञ्चालन गरेकी थिईन् । त्यसअघि पहिलो चरणमा आफ्नै गाउँ रैकर टोलका दिदि, आमादेखि हजुरआमा उमेर समुहका २५ महिलालाई र दोश्रो चरणमा ५० जना किशोरीलाई प्याड बनाउने तालिम दिइसकेकी छन् । कविताले वातावरणीय कृषि तथा विकास केन्द्र ९केड०को आर्थिक सहयोगमा ग्रामिण युवा शसक्तीकरण तथा अनुसन्धान केन्द्र राखाबांदेलले ऐसेलुखर्कमा १२ माघ २०७७ मा सञ्चालन गरेको ‘लाईफ स्कील’ तालिम अन्तरगत सेनीटरी प्याड बनाउने तालिम लिएकी थिईन् ।
बजारमा प्याड किन्दा महंगो पर्ने र एक पटक प्रयोग गरेर फाल्नु पर्ने हुन्छ तर घरमा उत्पादन गरिएको प्याडलाई राम्ररी सफा गर्दै पुःन प्रयोगमा ल्याउन सकिने भएकाले उपयोगी हुने कविता बताउँछिन् ।
कम खर्चमै प्याड बनाउन सकिने र प्याड किन्नमा हुने खर्च जोगिने भएकाले विशेषगरी ग्रामिण क्षेत्रका महिलाका लागि घरेलु प्याड उपयोगी हुने दावी गरिएको छ । ‘बजारमा सेनीटरी प्याड किन्दा महंगो पर्छ, एक पटक प्रयोग गरेपछि फाल्नुपर्ने हुन्छ,’ कविताले भनिन्, ‘नरम कपडाबाट प्याड बनाउन सकियो भने खर्च कम हुन्छ । प्याड किन्ने पैसा बचत हुन्छ । सँधै बजारको प्याड किनेर प्रयोग गर्न सक्ने अवस्था पनि हुँदैन । त्यस कारण घरेलु प्याड महिलाका लागि उपयोगी हुन्छ ।’ साभार नेपाल वाइड डट कम ।


879 पटक हेरिएको 

