
डडेल्धुरा : सुदुरपश्चिम र कर्णाली प्रदेसका ९७ वटा खानेपानी तथा सरसफाइ योजनाबाट प्रत्यक्ष लाभान्वित टोल तथा बस्तीका ५ हजार १६५ घरधुरीहरु पूर्ण सरसफाइ सुनिश्चित भएका छन् । पूर्ण सरसफाइ मार्गदर्शन २०७३ मा उल्लेखित ७ वटा सूचकहरु सम्बन्धित उपभोक्ता समितिको अगुवाइमा पूरा गरेपछि सम्बन्धित वडा तथा गाउँपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आधिकारिक अनुगमन तथा सिफारिसमा घोषणा गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जनाएको छ ।
नेपाल सरकार खानेपानी मन्त्रालयले जारी गरेको पूर्ण सरसफाइ मार्गदर्शन २०७३ मा उल्लेखित पूर्ण सरसफाइका मुख्य ७ वटा सूचकहरु अन्तर्गत योजना तर्जुमा तथा व्यबस्थापन, चर्पीको सुमुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एबम संस्थागत सरसफाइ र बातावरणीय सरसफाइ रहेका छन् ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सुदुरपश्चिम र कर्णाली प्रदेसका जम्मा १० वटा जिल्लाहरु अन्तर्गत पर्ने केही गाउँपालिकाहरुमा लामो समय देखि खानेपानी तथा सरसफाइ, सिंचाई, उर्जा, जीविकोपार्जन, जनचेतना, दिगो संस्थागत विकास लगायत क्षमता बिकासका क्षेत्रमा काम गर्दै आएको छ ।

परियोजनाको तेश्रो चरणमा २७ वटा लक्षित गाउँपालिका अन्तर्गत सम्पन्न भएका खानेपानी तथा सरसफाइ योजनाहरु मध्ये केही योजनाहरुलाइ पूर्ण सरसफाइका ७ वटा सूचकहरु पुरा गर्ने कार्य अन्तर्गत आवश्यकता अनुसार खानेपानी, शौचालय, सुधारिएको चुलो, फोहोर व्यवस्थापन गर्ने खाडल लगायतका विभिन्न सरसफाइ सम्बन्धी संरचनाहरुको निर्माण तथा नियमित प्रयोग, खेर गएको पानीको पुनःप्रयोग तथा उचित व्यवस्थापन, पोषण गतिविधि, तालिम तथा क्षमता बिकास, सुमुदाय, वडा, गाउँपालिका, जिल्ला तथा प्रदेश स्तरमा बिभिन्न कार्यशाला गोष्ठीहरु, सरसफाइ सम्बन्धी विभिन्न सामग्री सहयोग तथा प्रयोग सम्बन्धी सीप, महिनाबारी स्वच्छता व्यवस्थापन, सचेतिकरण, स्वच्छ आनीबानी तथा ब्यबहार परिबर्तन जस्ता कार्यहरुमा सहयोग गरी पूर्ण सरसफाइ अभियान सञ्चालन गर्दै आइरहेको छ ।
यसै अभियान अन्तर्गत थप खानेपानी तथा सरसफाइ योजना अन्तर्गतका टोल तथा बस्तीहरु आउँदो २०७९ जेष्ठ मसान्तभित्र घोषणा गर्ने तयारी भईरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जनाएको छ ।



1242 पटक हेरिएको 

