ललितपुरमा ८६ प्रतिशत मानव मलमूत्रको असुरक्षित बिसर्जन, ३ प्रतिशत घरमा अझै खाल्डे चर्पी

ललितपुर : ललितपुर महानगरपालिकामा ८६ प्रतिशत मानव मलमूत्रको असुरक्षित बिसर्जन हुँदै आएको र १४ प्रतिशत मात्र सुरक्षित व्यवस्थापन हुँदै आएको एक अध्ययनले देखाएको छ । ‘दिसाजन्य लेदो व्यवस्थापनको स्थिति विश्लेषण र नीति तर्जुमा’ बारे गरिएको अध्ययनले ७२ प्रतिशत घरपरिवारको शौचालय ढल प्रणालीमा जडान गरिएको र बाँकी २८ प्रतिशत घरपरिवारमा ढल रहित सरसफाइ रहेको देखाएको छ ।

‘स्थानीय तहमा खानेपानी तथा सरसफाइ (दिगो विकास लक्ष्य ६.१ र ६.२) कार्यान्वयन सम्बन्धी समीक्षा कार्यक्रम’ मा अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै अध्ययन टोलीका ईञ्जिनियर सुदिप हाडाले २८ प्रतिशत ढल रहित सरसफाइमा पनि १८ प्रतिशत घरपरिवारको होल्डिङ ट्याङ्क मात्र रहेको, ३ प्रतिशत घरपरिवारको सेप्टिक ट्याङ्क रहेको पाईएको जानकारी गराउनुभयो ।

‘४ प्रतिशतले नालीमा पठाएको पाईयो, ३ प्रतिशत घरपरिवारको भने अझै खाल्डे चर्पी नै रहेको पाईयो’ उहाँले भन्नुभयो । अध्ययनले १८ प्रतिशत होल्डिङ् टयाङ्क मध्ये १० प्रतिशत होल्डिङ ट्याङ्क शील्ड रहेको र ८ प्रतिशत अनशील्ड रहेको देखाएको छ ।


इको कन्सर्न, क्लिन डेभलपमेन्ट र स्मार्ट वासले संयुक्त रुपमा गरेको अध्ययनले सेप्टिक ट्याङ्क तथा होल्डिङ् ट्याङ्क मध्ये ९२ प्रतिशतले निजी क्षेत्रको उपकरण प्रयोग गरेर रित्याउने गरेको र ८ प्रतिशत मानवमलमूत्र भने मानिसले हातकै माध्यमबाट रित्याउने गरेको देखाएको छ ।

अध्ययन टोलीका ईन्जिनियर सुदीप हाडाका अनुसार ती २३ प्रतिशत सेप्टिक तथा होल्डिङ ट्याङ्क सुरक्षित भण्डारण हुने खालको रहेको र ती मध्ये १४ प्रतिशतले भने नरित्याएको पाईएको जानकारी गराउनुभयो ।


अध्ययनले सम्पूर्ण सरसफाइ श्रृङ्खला हेर्दा राख्ने स्थान वा भण्डारण गर्ने सेप्टिक ट्याङ तथा अन्य भण्डारण सम्बन्धी डिजाइन निर्देशिका मापदण्डको अभाव रहेको, त्यस्तै आवधिक अनुगमनको कमी भएको र लाइसेन्स प्राप्त दक्ष डकर्मीको अभाव देखिएको जनाएको छ ।

यस्तै खाली गरेर ढुवानी गर्ने क्रममा पनि निजी क्षेत्रहरु डकर्मी, प्लम्बरको औपचारिकरण नभएको, नियमनको अभाव, मापदण्डको अभाव रहेको पाईएको, प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी विधि निर्देशिका तथा मापदण्डको अभाव रहेको र प्रशोधन पछिका ठोस तथा तरल पदार्थहरुको विसर्जन सम्बन्धी कुनै मापदण्ड नभएको पाईएको जनाएको छ ।

अध्ययनले औल्याएका सुझावहरु

अध्ययनले सम्पूर्ण सरसफाइ श्रृङ्खला (भण्डारण, रित्याउने, ढुवानी गर्ने, प्रशोधन गर्ने र पुनः प्रयोग वा विसर्जन) मा देखिएको समस्या समाधानका लागि निम्न कार्यहरु गर्नुपर्ने सुझाव दिएको छ । जो निम्न छन् ः

♦ शौचालय स्तरीकरण गर्नुपर्ने ।

♦ लैंगिक समावेशी तथा अशक्तहरुका लागि चर्पी निर्माण गर्नुपर्ने ।

♦ निजी क्षेत्रहरुलाई औपचारिकरण तथा लाइसेन्स सम्बन्धी व्यवस्था गर्नुपर्ने ।

♦ जग्गाको व्यवस्था गर्नुपर्ने ।

♦ सेवा प्रदायक तथा प्रशोधन केन्द्र सञ्चालन कार्यविधि निर्देशिका बनाउनुपर्ने ।

♦ वैकल्पिक बिसर्जन गर्ने ठाउँको पहिचान तथा प्रविधि पहिचान गर्नुपर्ने ।

♦ समावेशी सम्बन्धी लैंगिक समावेशीकरण तथा अशक्तहरुलाई ध्यानमा राखी सुलभ शौचालय निर्माण गर्नुपर्ने ।

♦ नगरपालिका तथा निजी इन्जिनियरहरुलाई तालिम, ढल रहित सरसफाइबारे सबै बर्गलाई जनचेतना अभिवृद्धि गर्न तालिमहरु सञ्चालन गर्नुपर्ने ।

♦ शहरव्यापी समावेशी सरसफाइ तथा दिसाजन्य लेदो व्यवस्थापनबारे क्षमता अभिवृद्धि सम्बन्धी तालिम चलाउनुपर्ने ।

गैर सरकारी संस्था महासंघ नेपाल, वाटर एड नेपाल, किर्तिपुर नगरपालिका र नेपाल दिगो विकास मञ्चले संयुक्त रुपमा आयोजना गरेको समीक्षा कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका कार्यकारी निर्देशक हुम भण्डारीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभयो । यस्तै खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर रत्न प्रसाद लामिछानेले दिगो विकास लक्ष्य ६ को परिमाणात्मक गन्तव्य, सूचक र यसको स्थानीयकरण सम्बन्धी प्रस्तुतीकरण गर्दै उहाँले गन्तव्यमा पुग्न कयौं चुनौतीहरु रहेको र त्यसमा पनि बजेटको अभाव सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको बताउनुभयो ।


मित्र समाजका परामर्शदाता लात्छिरिङ ग्लान तामाङले खानेपानी तथा सरसफाइका लागि वित्तिय व्यवस्थापन बिषयमा गरिएको अध्ययनको निष्कर्ष प्रस्तुत गर्नुभयो । उहाँले नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा विनियोजना गर्दै आएको त्रिबर्षीया बजेटको आंकडा विश्लेषण गर्दै वास क्षेत्रको बजेट घट्दै गएको र त्यसमा पनि सचेतना अभिवृद्धिमा भन पूर्वाधार विकासको काममा बजेट केन्द्रित रहेको पाईएको जानकारी गराउनुभयो ।

ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदिप अमात्यले भने दिगो विकास लक्ष्य ६ को स्थानीयकरणको सम्बन्धमा पालिकाको नीति, योजना तथा कार्यान्वयनको अवस्था बिषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा वाटर एड नेपालका कन्ट्री डाईरेक्टर तृप्ती राई, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदी र गैसस ललितपुर जिल्ला शाखाकी कोषाध्यक्ष नन्दा ताम्राकारले दिगो विकास लक्ष्य ६ प्राप्तिका लागि स्थानीय सरकारले योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समीक्षा कार्यक्रम ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य एवं गैरसरकारी महासंघ नेपाल, ललितपुर शाखाका अध्यक्ष टिकाराम दाहालको सभापतित्वमा सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार