दक्षिण एसियाली सरसफाइ सम्मेलनमा गरिएका प्रतिबद्धताको समीक्षा

  पी.टी लोप्चन  712 पटक हेरिएको


काठमाडौ : सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलन (साकोसान) मा नेपालले गरेको प्रतिबद्धता, प्राप्ति, चुनौती र अबको योजनाका बिषयमा समीक्षा गरिएको छ । सरसफाइ सम्मेलन सम्पन्न भएको ४ बर्ष पछि बल्ल यसको समीक्षा गरिएको हो । २०७४ साल चैत्र ३० गते पाकिस्तानको इस्लामावादमा १० बुँदे घोषणापत्र जारी गर्दै सातौं सरसफाइ सम्मेलन सम्पन्न भएको थियो ।

उक्त सम्मेलनमा दक्षिण एसियाली राष्ट्रहरुले सरसफाइको क्षेत्रमा रहेको नीति, निर्देशिकाको पुनरावलोकन गर्ने, सरसफाइमा राखेको दिगो विकास लक्ष्य प्राप्तिका लागि योजनाबद्ध ढंगले कार्यक्रम अगाडि बढाउने र खुला दिसामुक्त अभियानलाई दिगोपना दिलाउने लगायत प्रतिबद्धता जनाएका थिए ।

हरेक दुई दुई बर्षको फरकमा दक्षिण एसियाली राष्ट्रहरुले पालैपालो आयोजना गर्दै आएको सम्मेलनको आठौं संस्करण सन् २०२० मा भारतले आयोजना गर्ने भनिए पनि विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण हुन सकेन ।

कोभिड-१९ कै कारण ढिला गरी भएको समीक्षा कार्यक्रममा नेपालले सम्मेलनमा प्रतिबद्धता जनाए अनुरुप धेरै कामहरु अगाडि बढाएको भएपनि ती पर्याप्त नरहेको र अझै धेरै काम गर्न बाँकी रहेको पाईएको छ ।

फ्रेसवाटर एक्सन नेटवर्क साउथ एसिया (फान्सा) सँगको सहकार्यमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले आयोजना गरेको सातौं साकोसानको समीक्षा कार्यक्रममा दिगो विकास लक्ष्य ६.१ र ६.२ प्राप्तिका लागि राष्ट्रिय योजना आयोगले विभिन्न सूचकहरु तयार पारेको, दिगो विकास लक्ष्यको आधारबर्ष २०१५ लाई आधार मानेर आवधिक लक्ष्यहरु निर्धारण गरेको पाईएको प्रस्तुतकर्ता कर्मठ सुवेदीले जानकारी गराउनुभयो ।

यस्तै खुला दिसामुक्त अवस्थाको दिगोपनाको सवालमा अझै पनि धेरै चुनौतीहरु रहेको र खासगरी सरसफाइसँग सम्बन्धित संरचनाहरु नहुँदा सरसफाइ सँग सम्बन्धित कार्यक्रमहरु हुन नसक्नु, पर्याप्त बजेट विनियोजन हुन नसक्नु र खुला दिसामुक्त राष्ट्र घोषणा भए पश्चातका कार्यक्रमहरु अगाडि बढ्न नसक्नुले खुला दिसामुक्त अवस्थाको दिगोपनामा चुनौती खड्किएको सुवेदीले जानकारी गराउनुभयो ।

यस्तै खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको मानव संशाधन विकास गरी सरकारी, नीजि, नागरिक समाज तथा अन्य सरोकारवालालाई परिचालित गर्न पनि काम भईरहेको जानकारी गराउनुभयो । यस अन्तर्गत सरकारले क्षमता विकास गुरुयोजना निर्माण गरिरहेको, राष्ट्रिय खानेपानी तथा सरसफाइ तालिम केन्द्रले व्यवसायिक योजना बनाईरहेको, एनवास एप मार्फत वास क्षेत्रका विभिन्न तथ्याङ्कहरु संकलन भईरहेको, स्थानीय सरकारमा आवद्ध प्राविधिक जनशक्तिका लागि तालिम आयोजना गरिएको, एनवास मार्फत वास प्लान निर्माण भईरहेको उहाँले जानकारी गराउनुभयो ।

यस्तै पैरवी तथा ज्ञान व्यवस्थापनमा सरसफाइको दिगोपनाको लागि राष्ट्रिय तथा क्षेत्रीय तहमा विभिन्न पैरवी, बहस र रणनीतिक कार्यक्रमहरु भईरहेको, एनवास एप अपडेटका लागि युट्युबमा भिडियोहरु निर्माण भएको पाईएको, स्थानीय तहमा गाउँपालिका तथा नगरपालिका महासंघले मोडुलहरु निर्माण गरी पठाएको लगायत काम भएको जानकारी गराउनुभयो ।

संस्थागत सरसफाइमा पनि नेपालले अनुकरणीय कामहरु गरिरहेको, विद्यालय तथा स्वास्थ्य संस्थाको खानेपानी, सरसफाइ तथा स्वच्छता निर्देशिका निर्माण भएको, विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको स्तरको आधारमा तारे पद्धति लागु गरिएको पाइएको उहाँले जानकारी गराउनुभयो ।

यत्ति हुँदा हुँदै पनि पछिल्लो तथ्याङ्क अनुसार विद्यालय तथा स्वास्थ्य संस्थाहरुको सरसफाइको अवस्था निक्कै नाजुक रहेको, विश्वव्यापी मापदण्ड अनुसार विद्यार्थीको अनुपातमा शौचालय नभएको, खानेपानी, सरसफाइ र स्वच्छताका पूर्वाधारहरु प्राविधिक मापदण्ड अनुसारको नभएको र आवश्यकताको आधारमा बजेट विनियोजन नभएको पाईएको सुवेदीले जानकारी गराउनुभयो ।

 

प्रतिबद्धता पूरा गर्न अब के गर्ने ?

खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी नेपालमा भईरहेका कार्यक्रमहरु साकोसानमा प्रतिबद्धता जनाए अनुरुप भए पनि ती प्रतिबद्धता पूरा गर्ने तरिकाले सञ्चालित छैनन् । यसका लागि निम्न कार्यक्रमहरु गर्नुपर्नेछ ।

♦ राष्ट्रिय सूचकलाई दिगो विकास लक्ष्यको सूचकहरुसँग दाँजेर निर्माण पुनरावलोकन गर्नुपर्ने ।

♦ खानेपानी, सरसफाइ र स्वच्छता सुविधाबाट कोही पनि बञ्चित हुनु नपर्ने अवस्थाको सुनिश्चित गर्नुपर्ने ।

♦ एनवास एप्लिकेसनलाई अझ सरलीकृत र परिस्कृत गरी प्रयोगमैत्री बनाउनुपर्ने ।

♦ ऐन, कानुन, नीति निर्देशिकालाई लामो समयसम्म थाँती नराखी समयमै स्वीकृत गरिनुपर्ने ।

♦ खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा बजेट बृद्धि गर्न पैरवी गर्नुपर्ने ।

 

सरोकारवालाको भनाइ

समीक्षा कार्यक्रममा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका मानव संशाधन तथा कार्यक्रम विकास महाशाखा प्रमुख टिका अधिकारीले समन्वयको अभाव रहेको, वास क्षेत्रमा बजेटको अभाव रहेको, खुला दिसामुक्त घोषणा भएपछि त्यस अवधिमा बनेका कच्ची प्रकृतिका शौचालयको स्तरोन्नतिको लागि कुनै पनि काम नभएको र त्यस बखत स्तरोन्नति गर्न बाँकी शौचालय के कति थिए र ती अहिले कुन अवस्थामा छन् भन्ने तथ्याङ्कको समेत अभाव रहेको बताउनुभयो ।

यस्तै आवासका लागि सहयोग समूह (लुमन्ती) का वास कार्यक्रम प्रमुख उद्धव भट्टराईले कुनै पनि पालिकामा वास युनिट नभएको, वासको बजेट भनिएपनि वास क्षेत्रमै लगानी नभई अन्यत्र छरिएर खर्च गरिएको बताउनुभयो । उहाँले वासका कार्यक्रमहरु राम्रो सँग कार्यान्वयन गर्दा जलवायु परिवर्तनका मुद्दाहरुको समेत सम्बोधन हुने भएकाले वासका क्रियाकलापहरु राम्रो सँग कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै प्लम्बर र मेसनलाई फोकस गरेर ठूलो संख्यामा तालिमहरुको आयोजना गर्न सकेमा पनि स्तरोन्नति गर्न बाँकी रहेका शौचालयहरुको स्तरोन्नति हुने उहाँले बताउनुभयो ।

यस्तै हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमका टिम लिडर मदन भट्टले खानेपानी र सरसफाइ सुविधाबाट कोही नछुटुन् भने पनि त्यस्ता समुदायको पहिचान गर्नै गाह्रो भएको बताउनुभयो । साथै त्यस्ता समुदायसम्म खानेपानी, सरसफाइ र स्वच्छता सुविधाको पहुँच पुर्‍याउन गाउँपालिका तथा नगरपालिकाहरुसँग लक्षित कार्यक्रम नरहेको बताउनुभयो ।

यस्तै दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले आवधिक लक्ष्य निर्धारण गरेपनि लक्ष्य प्राप्तिका लागि कुनै रणनीति एवं कार्यनीति निर्धारण नभएको बताउनुभयो ।

कार्यक्रममा राडो नेपालका डा. कृष्ण धितालले खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ सम्बन्धी सबै तहका संस्थागत संरचनाहरु निश्क्रिय भएको, वास सेक्टरको राष्ट्रिय स्तरमै पनि पुनरावलोकन हुन नसकेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवं खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले दक्षिण एसियाली सरसफाइ सम्मेलनमा गरिएका प्रतिबद्धताहरुको कार्यान्वयनको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा सरोकारवालाहरुको तर्फबाट प्राप्त सल्लाह र सुझावलाई राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति एवं बिषयगत मन्त्रालयसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल स्वास्थ्यका लागि पानी नेवाका महेश्वर यादव, एनपीआरसीका अध्यक्ष डा. तेज कार्की, वातावरण र जनस्वास्थ्य संस्थाका सिनियर वास अफिसर सिर्जना कार्की लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार