कौसी खेतीमा ५५ प्रतिशत उच्च शिक्षा अध्ययन गर्ने महिलाको संलग्नता (भिडियो)

आधा भन्दा बढी छत खाली, अझै कौसी खेती बढाउन सकिने

भक्तपुर : कौसी खेती सम्बन्धी गरिएको एक अध्ययनले सबैभन्दा धेरै विश्वविद्यालय तहको अध्ययन गरेका महिलाहरुको संलग्नता रहेको पाईएको छ । ‘हरित कौसी खेती जीवनका लागि पानी परियोजना’ अन्तर्गत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले गरेको अध्ययनले कौसी खेती गर्ने ५५ प्रतिशत मानिसहरु विश्व विद्यालय तहको अध्ययन पूरा गरेका महिलाहरु रहेको पाईएको हो ।

कौसी खेतीको वर्तमान अवस्था, अहिले भईरहेको उत्पादन तथा थप उत्पादन बढाउन सकिने अवस्था र बजारको सम्भावना पत्ता लगाउने र कौसी खेतीका समस्या तथा वाधक तत्वहरुको पत्ता लगाई निराकरणका उपाय सुझाउने उद्देश्यले कौसी खेती सम्बन्धी अध्ययन गरिएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का रिसर्च अफिर सुशिल दाहालले बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

भक्तपुरको मध्यपुरथिमी नगरपालिकाको तीन वटा समुदायमा कौसी खेती गर्ने १५० घरपरिवारमा गरिएको सर्वेक्षणले कौसी खेतीमा ९७ प्रतिशत महिला र ३ प्रतिशत मात्र पुरुष रहेको पाईएको छ ।

कौसी खेती गर्ने अधिकांश महिला मात्र रहेको अध्ययनले देखाएको छ । ‘९४ प्रतिशत महिला गृहिणी मात्र हुनुहुन्छ । बाँकी सेवा क्षेत्रमा रहेको, आफ्नै व्यवसाय र खेती नै मुख्य पेशा बनाएका तथा सेवा निवृत्त भई समाजसेवा लागेका महिला पनि हुनुहुन्छ ।’ अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै दाहालले भन्नुभयो ।

आधा भन्दा बढी छत खाली, अझै कौसी खेती बढाउन सकिने

अध्ययनको क्रममा करिब एउटा घरको छतको क्षेत्रफल १५ सय वर्गफिट रहेको र ती मध्ये ६२० वर्ग फिटमा मात्र कौसी खेती भईरहेको अध्ययनले देखाएको छ । यस हिसाबले उत्पादन अझ दोब्बर भन्दा बढी बढाउन सकिने सम्भावना रहेको रिसर्च अफिसर दाहालले बताउनुभयो ।

युएन, ह्याबिट्याटको सहयोग र मध्यपुर थिमि नगरपालिकाको समन्वयमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले मध्यपुरथिमी नगरपालिकाको वडा नं. १ र ३ का सय घरपरिवारमा कौसी खेती सम्बन्धी प्रविधि र सीप अभिवृद्धि गरिएकोे छ ।

कौसी खेती मार्फत कुहिने फोहोर र खैरो पानी तथा आकाशेपानीको व्यवस्थापन गर्ने, खाद्य सुरक्षामा टेवा पुर्‍याउने र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले ती समुदायमा सञ्चालित परियोजनाको हालै समापन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार