
सुनसरी: सुनसरीको इटहरीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । अब इटहरीले प्रत्येक दिन संकलन हुने ५५ टन फोहोरलाई प्रशोधन केन्द्र मार्फत ८०० किलोसम्म ग्यास उत्पादन गर्नेछ । फोहोर व्यवस्थापनका लागि इटहरीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो।
इटहरी उपमहानगरपालिकाको वडा नम्बर १० मा निर्माण गरिएको प्रशोधन केन्द्रको प्रदेश नं १ का पुर्व मुख्यमन्त्री भीम आचार्यले उद्घाटन हालै उदघाटन गर्नुभयो ।इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र निर्माण सम्पन्न गरी सञ्चालनमा आएको हो ।
केन्द्र सञ्चालनका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र मार्फत विश्व बैंकको ६० प्रतिशत अनुदान र वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । इटहरी उपमहानगरपालिकाले जग्गा व्यवस्थापन र त्यहाँसम्म पुग्ने कालोपत्रे सडक र पर्खाल निर्माण गरिदिएको छ । केन्द्र सञ्चालनमा आएपछि फोहोरमैलाको उचित व्यवस्थापन हुने र फोहोरबाट आम्दानी पनि हुने इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बताउनुभयो । उहाँका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ ।
केन्द्रमा प्रत्येक दिन ८०० किलो सम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । कुहिने फोहोरबाट ग्याँस उत्पादन हुन्छ भने नकुहिने फोहोरलाई रिसाइक्लिङ्ग गरेर विक्री गरिने चौधरीले जानकारी दिनुभयो ।


923 पटक हेरिएको 

