फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा चरम ढिलाई, ५ वर्षमा २७ प्रतिशत मात्रै काम

ठेक्का लिएको चिनियाँ कम्पनी आर्थिक संकटमा

काठमाडौ : काठमाडौं उपत्यकाको बढ्दो फोहोर पानी व्यवस्थापनका लागि सरकारले सुरु गरेको प्रशोधन केन्द्र निर्माणमा चरम ढिलासुस्ती भएको छ । सरकार, एसियाली विकास बैंक र ओपेक कोषको आर्थिक सहयोगमा सन् २०१७ देखि केन्द्रको निर्माण थालिएको भए पनि निर्माण कम्पनीको लापरबाहीले ५ वर्षमा एक तिहाइ पनि काम सकिएको छैन ।

आयोजना अन्तर्गत पहिलो चरणमा काठमाडौंको धोबीघाटमा प्रतिदिन ३ करोड ७० लाख लिटर क्षमताका २ वटा केन्द्र तथा ललितपुरको बालकुमारीस्थित कोड्कुमा १ करोड ७५ लाख लिटर र भक्तपुरको सल्लाघारीमा १ करोड २२ लाख लिटर क्षमताको फोहोर पानी प्रशोधन गर्ने गरी निर्माण सुरु गरिएको थियो । सन् २०१७ मे ७ मा करिब ४ अर्ब रुपैयाँको लागतमा ‘साफ्बम’ नामक चिनियाँ कम्पनीले धोबीघाटको एक सहित तीनवटा केन्द्र निर्माण गर्ने सम्झौता गरेको थियो । साढे २ वर्षमा सक्ने गरी सम्झौता भए पनि हालसम्म समग्रमा २७ प्रतिशत काम मात्रै सकिएको छ ।

धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको काम डिसेम्बर भित्र सक्ने लक्ष्य

धोबीघाटमै बनिरहेको अर्को प्रशोधन केन्द्रको काम भने सम्पन्न हुने अवस्थामा रहेको छ । अर्को चिनियाँ कम्पनी ‘सीओसी’ ले निर्माण थालेको उक्त केन्द्रको काम आगामी डिसेम्बरभित्र सक्ने लक्ष्य रहेको मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालय ९पीआईडी० का आयोजना उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार कोड्कु र सल्लाघारीको केन्द्र निर्माणको काम कोरोना महामारी सुरु भएयता ठप्प छ । लामो समयसम्म काम रोकिँदा केन्द्रका निर्माणाधीन संरचना झाडीले छोपेको छ भने फर्मा गाडेको स्थान पानीले भरिएको छ ।

ठेकेदार कम्पनी आर्थिक संकटमा

३० प्रतिशत कम मूल्यमा ठेक्का लिएको साफ्बम कोरोना महामारीका कारण आर्थिक संकटमा परेपछि निर्माण अघि बढ्न नसकेको निर्देशनालयले जनाएको छ ।

‘उसले निर्माण सामग्री खरिद गर्न र कामदारलाई पारिश्रमिक दिन नै सकेको छैन,’ निर्देशनालयका एक कर्मचारीले भने, ‘आर्थिक संकटकै कारण साफ्बमले कामलाई अघि बढाउन नसकेको हो ।’ निर्देशनालयका अनुसार हालसम्म निर्माण कम्पनीलाई ७७ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । आर्थिक समस्या झेलिरहेको साफ्बमले चिनियाँ सरकारी कम्पनीसँग समायोजनको प्रक्रिया थालेको बुझिएको निर्देशनालयका उपनिर्देशक श्रेष्ठ बताउँछन् । महामारीको कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेको र हालसम्म तीनवटै केन्द्रको भौतिक प्रगति २७ प्रतिशत मात्र रहेको उनको भनाइ छ । ‘महामारी सुरु भएपछि ठेकेदार घर फर्के, त्यसपछि काममा फर्किन समय लाग्यो,’ उनले भने, ‘फर्केपछि पनि योजनाअनुरूप काम गर्न सकेनन् ।’

गोकर्ण र हनुमानघाटमा पनि प्रशोधन केन्द्र निर्माण सुरु

आयोजना अन्तर्गत नै हनुमन्ते, मनोहरा र खस्याङखुसुङ खोलाका दुवै किनारमा बस्तीबाट निकास हुने ढल संकलनका लागि करिब ४५ किलोमिटर पाइप बिछ्याउने कार्य भइरहेको छ । गोकर्ण र हनुमानघाटमा थप प्रशोधन केन्द्र निर्माण प्रक्रिया पनि सुरु भएको छ । गोकर्णमा दैनिक ३० लाख लिटर र हनुमानघाटमा १० लाख लिटर फोहोर पानी प्रशोधन हुने गरी डिजाइनको काम सुरु भएको निर्देशनालयले जनाएको छ ।

‘२०२२ अगस्टसम्म डिजाइन सकेर काम सुरु गर्ने लक्ष्य छ,’ श्रेष्ठले भने । दुवै प्रशोधन केन्द्र निर्माणको जिम्मा टिम्स–बीसीपीएल जेभीले पाएको छ । टिम्स चिनियाँ र बीसीपीएल नेपाली कम्पनी हुन् । करिब ८० करोड रुपैयाँ लागतमा बन्ने केन्द्रको काम डेढ वर्षमा सकेर ५ वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन तथा मर्मत गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्देशनालयले जनाएको छ ।

उपत्यका भएर बग्ने खोला–नदीहरूलाई ढलरहित बनाउने लक्ष्य अनुसार प्रशोधन केन्द्र निर्माण सुरु गरिएको हो । केन्द्र बनेपछि ढल सिधै खोला–नदीमा नमिसाइने श्रेष्ठले बताए । उनका अनुसार प्रशोधन केन्द्रकै लागि खोला–नदीको दुवैतिर ढल संकलन गर्न पाइप बिछ्याउने काम भइरहेको छ । ढललाई केन्द्रसम्म पुग्ने गरी एकीकृत ढल प्रणालीमा जोडिनेछ । केन्द्रमा पुगेपछि ढललाई विभिन्न चरणमा प्रशोधन गरिनेछ । त्यसक्रममा निस्कने बायो ग्यासबाट बिजुली निकाल्ने निर्देशनालयको योजना समेत छ ।

यस अघि गुह्येश्वरीको फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भै हालै प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्नुभयो । गुह्येश्वरीको काम सन् २०१६ मा सुरु भई ४ वर्षमा सकिएको हो । तर, अन्य केन्द्रको निर्माणमा ढिलाइले गुह्येश्वरीमा दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन भए पनि त्यसको प्रभाव देखिएको छैन । ‘गुह्येश्वरीको पानी मात्र सफा भएर हुँदैन, सबै सहायक नदीहरूबाट बग्ने पानी सफा हुनुपर्छ,’ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका निर्देशक नवराज प्याकुरेलले भन्नुभयो ।

गुह्येश्वरी केन्द्रमा वाग्मती नदीको उपल्लो तटीय क्षेत्रहरू गोठाटार, जोरपाटी र बौद्धबाट पाइप मार्फत ल्याइएको फोहोर पानीलाई स्थानान्तरण गरी प्रशोधन भइरहेको छ । उक्त केन्द्रबाट बायोग्यास तथा बायोसलिडसको उत्पादन पनि भइरहेको छ । गुह्येश्वरी र पशुपति क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राखी वाग्मतीको पानीको गुणस्तर उच्च राख्न कोसिस गरे पनि अन्य प्रशोधन केन्द्रहरूको निर्माणको ढिलाइले प्रभावकारी हुन नसकेको निर्देशनालयले स्विकारेको छ ।

हाल उक्त प्रशोधन केन्द्रबाट निष्कासन हुने पानीको गुणस्तरका सूचकहरू मापन गरी तोकिएको गुणस्तर कायम गरेर मात्र प्रशोधित पानी वाग्मतीमा मिसाउने गरिएको श्रेष्ठले बताए । ‘प्रशोधित पानी वाग्मतीमा प्रवाहित हुँदा तल्लोतटीय क्षेत्रको नदीजन्य वातावरणमा सुधार आउने अपेक्षा गरिए पनि अझै प्रभावकारी भएको छैन,’ उनले भने । ‘भाटेज वावेग लिमिटेड इन्डिया’ नामक भारतीय कम्पनीले उक्त केन्द्रको निर्माण गरेको हो । करिब २ अर्ब ५५ करोड रुपैयाँ लागतमा बनाइएको केन्द्र निर्माण कम्पनीले १० वर्षसम्म सञ्चालन तथा मर्मत सम्भार गरी सरकारलाई हस्तान्तरण गर्नेछ । फोहोर व्यवस्थापनमा सरकारले मात्र पहल गरेर नहुने सरोकारवालाहरू बताउँछन् । कान्तिपुर दैनिकबाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार