फोहोरबाट निकालिएको मिथेन ग्यास संरचना नबन्दा खेर जाँदै

दैनिक साढे दुई सय किलो ग्यास जलाएर नष्ट गरिँदै

दमक : झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइप लाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माण लगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ ।

यो परियोजनाबाट दैनिक दुई हजार छ सय किलो ग्यास उत्पादन भइरहेको छ । यसलाई जलाएर उत्पादन क्षेत्रमा नै नष्ट गराइँदै आएको हो । विस्तृत परियोजना प्रतिवेदन अनुसार दमक बजार क्षेत्रमा पाइपलाइन निर्माण गरेर तीन हजार घरपरिवारमा ग्यास पाइपलाइन पुर्‍याउन सकिन्छ ।

दमक नगरपालिका क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट ग्यास र प्राङ्गारिक मल एकैसाथ उत्पादन गर्न थालेको डेढ महिना भइसकेको छ । “फोहोरबाट ग्यास उत्पादन त सुरु भयो तर यसको बजारीकरणमा राज्यको सहयोग चाहिन्छ,” नेक्स्ट इराका अध्यक्ष युवराज घिमिरेले भन्नुभयो ।

मिथेन बायोग्यास उत्पादन सुरु भए पनि उत्पादन भएको ग्यासलाई प्रशोधन गरी पाइप वा सिलिन्डरबाट वितरण गर्ने योजना पूरा हुन नसकेको नेक्स्ट इरा इनर्जी प्रालिका निर्देशक विमल खतिवडाले बताउनुभयो । “पाइपलाइन निर्माणका लागि आवश्यक बजेट सरकारसँग माग गरिरहेका छौँ र यो भएमा यो नमुना परियोजना बन्नेछ,” खतिवडाले भन्नुभयो ।

दमक नगरपालिकाका वातावरण तथा सरसफाइ शाखा प्रमुख द्रोण थापाका अनुसार दमक क्षेत्रमा दैनिक करिब २० टन फोहोर उत्पादन हुने गरेको छ । यसमध्ये १५ टन फोहोर सङ्कलन हुँदैछ । सङ्कलन भएको फोहोरमध्ये ६६ दशमलव ५२ प्रतिशत जैविक अर्थात कुहिने फोहोर रहेको छ । यो जैविक फोहोरबाट ग्यास उत्पादन हुन्छ ।

दमक–२ मा हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र संरचना निर्माण गर्न २० करोड ५८ लाख ९७ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि कोरोना महामारी लगायतका कारण खर्च बढेको बताइएको छ । प्रारम्भिक लागतमा १४ करोड ७० लाख रुपियाँ नेक्स्ट इरा इनर्जी प्रालि र रोहन ट्रेडर्स प्रालि जेभीले र बाँकी पाँच करोड आठ लाख रुपियाँ वैकल्पिक ऊर्जा प्रवर्द्वन केन्द्रको लगानी सम्झौता भएको थियो । साभार : गोरखापत्र अनलाइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार