२५ बर्षे पुरानो शौचालयको जीर्णोद्वार, दिसापिसाब खेर नजाने अत्याधुनिक शौचालयमा स्तरोन्नति

१० घन मिटरको बायोग्यास प्लान्ट, १ हजार लिटर फोहोरपानी प्रशोधन क्षमता

काठमाडौं : काठमाडौं महानगरपालिका २० वडा स्थित परोपकारमा २५ वर्ष पुरानो सार्वजनिक शौचालयलाई जीर्णोद्वार गरीअत्याधुनिक शौचालयमा स्त्तरोन्नति गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं. २० र एरोसान सस्टेनेवल स्यानिटेशनको हातेमालोमा अपाङ्गमैत्री, वातावरणमैत्री, महिलामैत्री अत्याधुनिक शौचालय निर्माण गरिएको हो । पुरानो शौचालयलाई पुनः निर्माण गरी प्रयोगकर्ताहरुलाई पर्याप्त सेवा सुविधा थप गरी अत्याधुनिक बनाइएको शौचालयको काठमाडौं महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरले उदघाटन गर्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सार्वजनिक शौचालयको अवलोकन गरि शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिका बारेमा चासो व्यक्त गर्नुभयो । उहाँले शौचालय व्यवस्थित भएको र काठमाडौं महानगरपालिका भित्र थप यस्ता शौचालयहरु निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

शौचालयमा प्रयोग भएको आकासेपानी संकलन र पुनःभरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिँदै शौचालयलाई सिकाई केन्द्रको रुपमा विकास गर्न सकिने उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा २० वडाका वडा अध्यक्ष मानन्धरले वडाको विकास र सम्वृद्धिका लागि आवश्यक कार्यहरु वडाले गर्दै आएको र यसै क्रममा २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनः निर्माणलाई मध्यनजर गरि यस शौचालयको पुनः निर्माण कार्य गरिएको बताउनुभयो ।

‘‘वडावासीको सहजताका साथै दैनिक यस क्षेत्रबाट आवतजावत गर्ने मानिसहरुलाई सुविधा सम्पन्न शौचालयको सुविधा दिनु महानगरको दायित्व रहेको र आगामी दिनहरुमा पनि आवश्यक्ता अनुरुप शौचालय निर्माण व्यवस्थापन तथा पुनः निर्माणका कार्यलाई महानगरले प्राथमिकता दिने वडाध्यक्ष मानन्धरले बताउनुभयो ।

एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौं महानगरपालिकामा ४ वटा र ललितपुर महानगरपालिकामा २ वटा गरि जम्मा ६ वटा अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याईसकेको छ । यस विचमा करिब ५ लाख ९१ हजार २६९ पुरुष र १ लाख ८० हजार ५३६ महिला प्रयोगकर्ताहरुलाई सार्वजनिक शौचालयको सुविधा प्रदान गर्न सफल भएको एरोसानको दाबी छ ।

७० हजार लिटर पिसाब र ९ हजार किलो दिसाको व्यवस्थापन

शौचालयबाट उत्सर्जित दिसापिसावजन्य फोहोर व्यवस्थपानका लागि वायो ग्याँस प्रविधिको जडान गरि हाल सम्म ७० हजार ६९९ लिटर पिसाव र ९ हजार ५७९ किलो दिसा व्यवस्थापन गरी ७०५.२ लि. वायो ग्याँस अर्थात ४९.४ सिलिन्डर एल.पि.जि. ग्यास उत्पादन गरिसकेको छ भने फोहोर पानी प्रशोधन प्रणाली मार्फत ३ लाख ६० हजार लिटर फोहोर पानी प्रशोधन र आकाशेपानी संकलन प्रविधिको प्रयोग वाट २७ लाख ४० हजार १६० लिटर आकाशेपानीको संकलन गरी शौचालयमा प्रयोग गरिएको एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी गराउनुभयो ।

‘‘एरोसानद्वारा निर्मित तथा संचालित शौचालयमा दैनिक १ हजार लिटर फोहोरपानी प्रशोधन गर्ने क्षमता भएको फोहोर पानी प्रशोधन प्रविधि प्रयोग गरिएको छ भने मानव मलमुत्रलाई शौचालयमै व्यवस्थापन गरी वायोग्याँस उत्पादन गर्न १० घन मिटरको वायोग्याँस प्लान्ट शौचालय परिसरमै निर्माण गरी वातावरणमैत्री बनाउन अहम् भुमिका खेलेको छ’’ एरोशानका कार्यकारी प्रमुख प्रकाश अमात्यले भन्नुभयो ।

सन् २०२० देखि काठमाडौं र ललितपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरुमा स्वच्छ, महिलामैत्री, अपाङ्गमैत्री, वातावरणमैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालयको सुविधा दिदै आएको एरोसानद्वारा निर्मित तथा संचालित शौचालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रबर्द्वन पुरस्कार २०७८ जित्न सफल भएको थियो भने विश्व स्तरीय सरफाती सेनिटेशन प्रतियोगितामा उत्कृष्ट ५ सम्म पुग्न सफल भएको थियो ।

शौचालय उदघाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर तथा वडा नं. १७ अध्यक्ष र ईश्वर मान डंगोल, वडा नं. १५ का अध्यक्षका साथै वातावरण विभाग प्रमुख सरिता राई लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार