प्लास्टिक झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध

काठमाडौं : सरकारले आजदेखि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, बिक्री वितरण, आयात र प्रयोगमा प्रतिबन्ध लगाएको छ । लामो समयदेखि पातला प्लाष्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भनिए पनि यो कार्यान्वयन हुन सकिरहेको थिएन । तर अबदेखि कडाइ गर्ने वातावरण विभागले जनाएको छ ।

गएको वर्ष साउन २८ गते सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश समेत दिएको थियो । यस अघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुने गरी यो नियम बनाएको थियो । तर त्यही महिना भूकम्प गएका कारण कार्यान्वयन हुन सकेन ।

वातावरण विभागले अब ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थाल्ने विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज ठाउँ ठाउँमा अनुगमन टोली खटिनेछ । शुरुमा ४० माइक्रोन भन्दा पातला झोला प्रयोग नगर्न नगराउन सम्झाई बुझाई गरिने र अटेर गरेमा वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनीमा अनुगमन हुनेछ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा अनुगमन गर्ने र अनुगमनको क्रममा नियम पालना नगरेको पाइए कारबाही हुने प्रवक्ता पौडेलले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार