आफ्नै समाचार लेख्न र प्रकाशन गर्न नपाउँदा

  विनोद धौलागिरि  528 पटक हेरिएको

विनोद धौलागिरि

वास खवर अनलाइन फेरी एक पटक सम्मानित भयो । यस वर्षको फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कार अन्तर्गत अनलाइनतर्फको पुृरस्कार वास खवर अनलाइनले प्राप्त गर्न सफल भयो । वास खवरमा आवद्ध जो सञ्चारकर्मीले प्राप्त गरेको भए पनि यो वास खवरले नै प्राप्त गरेको हामीले ठान्दछौं ।

किनकि, वासखवरमा आवद्ध हामी सबैजना यस क्षेत्रको सवलीकरणको मिसन बोकेका छौं र जो व्यक्ति सम्मानित भए पनि हाम्रो मिसनको सफलताको सिंढीमा एक इँटा थपिएको महसुस गर्दछौं । आफ्नो धर्म, कर्म र मर्म नै खानेपानी, सरसफाइ तथा स्वच्छता .(वास) प्रबर्द्वन रहेको वास खवर वास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु स्वभाविक र अपेक्षित नै थियो ।

……ती सीमितता र घेराभन्दा बाहिर गएर आफ्ना आँखाले देखेका, नागरिकले भोगेका र सरोकारवालाले आँखा चिम्लिएका सवालहरुलाई उठान गर्न चाह्यौं । त्यसैले हामीले खानेपानी, सरसफाइ तथा स्वच्छतामा वैकल्पिक पत्रकारिताको मार्गलाई अवलम्वन गर्‍यौं ।

हाल वास खवरमा खवर लेख्ने तथा सम्पादन गर्ने हामी दुई जना (सम्पादक पी.टी. लोप्चन र म) कुनै समय मूलधार पत्रकारितामा राम्रै जमेका थियौं । मूलधारको पत्रकारितामा रमाउनका लागि हामीलाई कुनै छेकवार थिएन । मूलधारको पत्रकारितामा नै रहेर बिट पत्रकारिताको माध्यमबाट खानेपानी, सरसफाइ तथा स्वच्छतालाई प्रबर्द्वन गर्ने बाटो पनि हाम्रा अघि प्रशस्त थियो ।

मूलधारको फराकिलो राजमार्गको यात्रा छोडेर आफ्नै रोजाइमा वैकल्पिक पत्रकारिताको कठिन र साँघुरो मार्ग हामी आफैले कोरेका हौं, कोही कसैका कारण यो मार्ग कोरिएको होइन ।

त्यसैले, मूलधारको रेडियो, टेलिभिजन र छापा हुँदै बिट पत्रकारितालाई मूल मार्गको रुपमा लिएर वास खवरको यात्रालाई अघि बढाइरहेका छौं । हामीलाई ठूला प्रकाशन गृहका नीति पाच्य भएन, न त ब्युरो चिफ र सम्पादकले कोरिदिएका सीमितता नै । ती सीमितता र घेराभन्दा बाहिर गएर आफ्ना आँखाले देखेका, नागरिकले भोगेका र सरोकारवालाले आँखा चिम्लिएका सवालहरुलाई उठान गर्न चाह्यौं । त्यसैले हामीले खानेपानी, सरसफाइ तथा स्वच्छतामा वैकल्पिक पत्रकारिताको मार्गलाई अवलम्वन गर्‍यौं ।

अंशभित्र पूर्णताको खोजी

अहिले हामीले उपक्षेत्रको रुपमा मजबूतीकरण गर्दै लगेका विषयहरुलाई भोलिको पुस्ताले मूल विषयको रुपमा लिदै तिनभित्र पनि उपक्षेत्रको खोजी गर्दै हाम्रो यात्रालाई अविच्छिन्न अघि बढाउनेछ ।

मूलधारको पत्रकारितामा रहँदा खानेपानी, सरसफाइ तथा स्वच्छता दर्जनौं विषयभित्रको एक सानो विषय वा अंशको रुपमा रहेको थियो । तर अहिले, वास खवर मार्फत खानेपानी, सरसफाइ तथा स्वच्छतालाई एक पूर्ण विषय मानी त्यसभित्र विभिन्न क्षेत्र र उपक्षेत्रहरुको खोजी गरिरहेका छौं । खानेपानी, सरसफाइ, स्वच्छता, पूर्ण सरसफाइ, खुला दिसामुक्त, महिनावारी स्वच्छता व्यवस्थापन, विपद्, वातावरण लगायतका दर्जन उपक्षेत्रहरुमा निरन्तर सवालहरुलाई उठान गर्ने हाम्रो प्रयास जारी रहेको छ ।

यस अर्थमा, हामीले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई गुणात्मक रुपमा मजबूतीकरण गर्न र यस क्षेत्रको ज्ञान सृजना तथा ज्ञान व्यवस्थापनमा सहयोग गरिरहेका छौं । हामीलाई यसैमा गर्व छ, एउटा क्षेत्रको सवलीकरण र मजबूतीकरणमा पत्रकारिताको माध्यमबाट अविराम यात्रालाई जारी राखेका छौं । आशा एवम् विश्वास छ, अहिले हामीले उपक्षेत्रको रुपमा मजबूतीकरण गर्दै लगेका विषयहरुलाई भोलिको पुस्ताले मूल विषयको रुपमा लिदै तिनभित्र पनि उपक्षेत्रको खोजी गर्दै हाम्रो यात्रालाई अविच्छिन्न अघि बढाउने छ ।

हिमालदेखि तराईसम्मका सवालको निरन्तर उठान

वास खवरको टोली सानो छ । सानो टोली, सानो लगानी, सीमित दायरा र अनगिन्ती सीमितताबीच पनि खानेपानी, सरसफाइ तथा स्वच्छताका सवालको खोजीमा हाम्रो टोली हिमालदेखि तराईसम्म पुगेको छ । तराई मधेशमा निर्माण सम्पन्न नहुँदै रुग्ण बनेका खानेपानी आयोजना होऊन् या खाली हातले सेप्टिक टंकीको दिसा सफा गर्ने सफाइ मजदूरका सवाल होऊन्, हामीले उधिन्ने प्रयास गरेका छौं ।

प्रदेश सरकारले सार्वजनिक शौचालय निर्माण गर्दा प्रयोगकर्तामैत्री बनाउन नसकेका सवाल, चर्पी नबन्दै खुला दिसामुक्त घोषणा भएका विषय, राज्य पुनःसंरचना पश्चात् पालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन, योजना निर्माण र सक्रियता, जिल्लास्तरीय समितिको विकल्प, प्रदेश सरकारको भूमिका लगायतका विषयलाई हामीले उजागर गर्ने प्रयास गरेका छौं ।

संघीय सरकारले खानेपानी ऐन निर्माण नगर्दा प्रदेश र स्थानीय तहमा भएका अन्यौल, पूर्ण सरसफाइ गुरुयोजनाको औचित्य, पालिका तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास योजना) निर्माणको अवस्था, पूर्ण सरसफाइ अनुगमन निर्देशिकाको अभाव लगायतका विषयलाई हामीले निरन्तर उजागर गरिरहेका छौं ।

परिवर्तनको तीर्खा

पानी जीवन हो र सरसफाइ जीवन पद्धति, यसैलाई सबै तहमा स्थापित गर्नु नै हाम्रो मुख्य ध्येय हो । यससँग जोडिएका सवालमा निरन्तर खवरदारी गरिरहनु र परिवर्तनका लागि सहयात्री बनिरहनु हाम्रो कर्म हो ।

हामी चाहन्छौं, हामीले उठान गरेका सवालले कुनै एकमात्र स्थानीय तहलाई छोयो र नीतिगत परिवर्तन भयो भने पनि त्यसबाट करिब १० हजार घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित बन्छन् । हाम्रो लेखाइका कारण ती घरधुरी लाभान्वित हुनु भनेको हाम्रो प्रयासको सफलता हो । हामी कुनै पनि सवाललाई ब्रेक गर्ने र स्कूप मार्ने दौड वा होडबाजीमा कहिल्यै पनि सामेल भएनौं र हुँदैनौं ।

विपन्न बस्तीमा कमजोर सरसफाइका कारण अकालमा जीवन गुमाउने कुनै एक बच्चाको ज्यान हामीले लेखेको खवरका कारण जोगियो भने त्यही नै हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धी हुनेछ । हामीले प्रकाशन गरेका सामग्रीका कारण कुनै समुदायका दर्जन किशोरीहरुले महिनावारी स्वच्छताको सुरक्षित व्यवस्थापन गर्न थाले भने त्यही नै हाम्रा लागि सबैभन्दा ठूलो पुण्य हुनेछ । हामीले उठान गरेको सवालका कारण संघीय वा प्रदेश सरकारले गर्ने नीतिगत निर्णयमा सकारात्मक प्रभाव परेमा हाम्रो पसिना र मेहनत सदुपयोग भएको हामीले ठान्छौं ।

हामी हाम्रा पाठकलाई जानकारी दिनका लागि मात्र पत्रकारिता गर्दैनौं, हामी परिवर्तनका लागि पत्रकारिता गर्छौं । हाम्रो कलमले एकैचोटि ठूलो परिवर्तन ल्याइहाल्छ भन्ने गुड्डी हामीले हाँक्दैनौं, तर साना साना नै किन नहोऊन्, परिवर्तनका लागि चल्ने हाम्रा कलमहरु निरन्तर रहन्छन् । हाम्रो पत्रकारिताले मन्त्री वा प्रधानमन्त्री परिवर्तन गराउनु छैन, न त कुनै पक्षलाई उचाल्नु र कुनै पक्षलाई झराल्नु नै । पानी जीवन हो र सरसफाइ जीवन पद्धति, यसैलाई सबै तहमा स्थापित गर्नु नै हाम्रो मुख्य ध्येय हो । यससँग जोडिएका सवालमा निरन्तर खवरदारी गरिरहनु र परिवर्तनका लागि सहयात्री बनिरहनु हाम्रो कर्म हो ।

सुरक्षित खानेपानी तथा सरसफाइ र स्वच्छतालाई नेपालको संविधानले समेत मौलिक हकको रुपमा स्थापित गरेको छ । तर पनि सुरक्षित खानेपानी र सरसफाइको अभावमा जटिल जीवन बाँचिरहेका बस्तीका वास्तविकता खोतल्दै सरोकारवालालाई झक्झक्याउने हाम्रो प्रयास निरन्तर रहनेछ ।

काँध थाप्ने मान्छेको खोजी

यस पटकको फेडवासन वास पत्रकारिता पुरस्कारबाट अनलाइन विधाबाट म लगायत कान्तिपुर दैनिकका सरिता श्रेष्ठ, जनता टेलिभिजनका बझाङ सम्वाददाता आशिस बहादुर सिंह र सामुदायिक सूचना नेटवर्कका अविनास आचार्य समेत सम्मानित हुनुभएको छ । सम्मानित सबै सञ्चारकर्मीलाई हार्दिक बधाइ ।

हाम्रो खोजी पुरस्कार थाप्ने सदस्यको होइन, जिम्मेवारीमा काँध थाप्ने सहकर्मीको हो । हामीलाई दरिलो काँध, अटुट साथ र प्रभावकारी सहकार्य चाहिएको छ ।

यस सम्मानलाई हामीले चार थान सञ्चारकर्मीहरु सम्मानित भएको रुपमा लिएका छैनौं । यो सम्मान कम्तिमा पनि प्रत्येक वर्ष खानेपानी, सरसफाइ र स्वच्छतालाई आफ्नो पत्रकारिताको मूल धर्म, कर्म र मर्म मान्ने कलमजीवी तयार भएको अर्थमा हामीले बुझेका छौं । अघिल्ला दुई वर्ष (कोरोनाकाल) लाई छोड्ने हो भने फेडवासनले प्रत्येक वर्ष वास पत्रकारिता पुरस्कार प्रदान गर्दछ । तर, अघिल्ला वर्षहरुमा वास पत्रकारिता पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरु अहिले पनि वास पत्रकारिताकै क्षेत्रमा हुनुहुन्छ कि देश र दुनियाँका अन्य खवरहरुमा नै रमाइरहनुभएको छ, यस क्षेत्रको एक कर्मीका हिसावले मैले खुट्याउन सकेको छैन ।

यस वर्षको फेडवासन पत्रकारिता पुरस्कार वितरण समारोहमा वास खवरको तर्फबाट हामी दुबैजना सशरीर उपस्थित हुन सकेनौं । सम्पादक पी.टी. लोप्चन डेंगी संक्रमणका कारण अस्पतालको शैयामा हुनुहुन्थ्यो । पालिका तहको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीको बैठक पश्चात् कार्यक्षेत्र फर्कने क्रममा बस दूर्घटनामा परी गम्भीर घाइते अवस्थामा म समेत अस्पतालमा उपचाररत थिएँ । त्यसैले, अनलाइन खवरको तर्फबाट मैले प्राप्त गरेको वास पत्रकारिता पुरस्कार मेरी छोरीले ग्रहण गरिन् । कम्तिमा, मेरो परिवारको तर्फबाट सो समारोहमा सहभागिता रह्यो ।


फेरी एक पटक वास खवरले गरेको प्रयासलाई सम्मान गर्नुभएकोमा फेडवासनलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौं ।

तर, एउटा ठूलो अभाव खड्किरहेको छ । सम्पादक र अतिथि सम्पादक विरामी हुँदा हामी आफै सम्मानित भएको खवर हामीले हाम्रै अनलाइनमा प्रकाशन गर्न सकेनौं । नेपालमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा समर्पित मुख्य अनलाइन पत्रिकामा दुई जना सञ्चारकर्मी विरामी हुँदा समाचार लेख्ने र प्रकाशन गर्ने काम नै ठप्प हुने अवस्था कहिलेसम्म ? हामीले अहिले हामी आफैसँग प्रश्न गरिरहेका छौं : के यो सम्पन्न सञ्चार प्रा.लि. वा पी.टी. लोप्चन र विनोद धौलागिरिको मात्र सरोकारको विषय हो ? वास क्षेत्रमा समर्पित अन्य सञ्चारकर्मी किन हामीसँग जोडिन सक्नुभएन ? वास खवर डट कम वास क्षेत्रका सञ्चारकर्मीको साझा मञ्च बन्न सक्तैन ? यदि सक्छ भने हाम्रो भूमिका के रहला ? यस क्षेत्रका सरोकारवालाहरुको भूमिका के होला ? यदि खानेपानी, सरसफाइ तथा स्वच्छता नागरिकको एक प्रमुख सरकोकारको विषय हो भने वास खवरलाई यति गहन सरोकारको विषय उठान गर्ने र त्यसैमा समर्पित सञ्चारकर्मीहरुको साझा मञ्च बनाउन के गर्नुपर्ला ? हामी अहिले यिनै प्रश्नहरुको जवाफको खोजीमा छौं ।

मेरो अनुपस्थितिमा मैले प्राप्त गर्ने पुरस्कार परिवारको सदस्यको रुपमा मेरी छोरीले ग्रहण गरिन् । तर, हाम्रो खोजी पुरस्कार थाप्ने सदस्यको होइन, जिम्मेवारीमा काँध थाप्ने सहकर्मीको हो । हामीलाई दरिलो काँध, अटुट साथ र प्रभावकारी सहकार्य चाहिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार