फोहोरपानी प्रशोधन सहितको ढल प्रणाली निर्माणले गति लिन सकेन

एक बर्षको भौतिक प्रगति ३० प्रतिशत मात्र

  वास खवर सम्वाददाता  236 पटक हेरिएको

दोलखा : दोलखाको सदरमुकाम चरीकोटमा फोहोरपानी प्रशोधन केन्द्र सहितको ढल प्रणाली निर्माणको कामले गति लिन सकेको छैन । दुई वर्षमा काम सम्पन्न गर्नेे गरी ठेक्का सम्झौता भएको अत्याधुनिक ढल प्रशोधन केन्द्र निर्माणको एक वर्ष बित्दा करिब ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अन्तर्गतको सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, आयोजना व्यवस्थापन कार्यालय मार्फत निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको बजार क्षेत्रबाट दुवै फिल्टर ट्याङ्कसम्म १४ दशमलव ४६ किलोमिटर ह्युप पाइप बिछ्याउनुपर्नेमा हाल २ दशमलव ५ किलोमिटर ह्युम पाइप बिछ्याउने काम सकिएको छ । कात्तिक र मङ्सिरबाट बजार क्षेत्रमा ह्युम पाइप हाल्न सुरु गर्ने योजना छ ।

सम्झौता अन्तर्गत निर्माण कम्पनीले भीमेश्वर नगरपालिका–४ को जिलु तथा वडा नं. ६ को रामकोटमा फोहोर पानी प्रशोधन गर्ने प्रयोगशाला सहितको अत्याधुनिक ढल प्रशोधन केन्द्र निर्माण गर्ने तथा चरीकोट बजारमा ह्युम पाइप बिछ्याउने लगायतका काम गर्नुपर्नेछ ।

ढल निर्माणको काम अगस्ट अन्तिमसम्मको भौतिक प्रगति २९ दशमलव ५ तथा ३४ दशमलव ५ प्रतिशत वित्तीय प्रगति रहेको आयोजनाको कन्सल्टेन्ट बिल्डिङ डिजाइन अथोरिटीका इन्जिनियर सन्तोष भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोबिलाइजेसन बापतको रकमले भौतिक प्रगति भन्दा वित्तीय प्रगति बढी देखिएको हो । ढल प्रशोधन केन्द्र निर्माणका लागि जग्गा प्राप्ति गर्न ढिलो भएको तथा जमिन भिरालो भएका कारण कामको गति सुस्त भएको उहाँको भनाइ छ । अब आयोजनाको काम अगाडि बढाउन खासै समस्या नरहेकोले काम छिटो अघि बढ्ने ठेकेदार कम्पनी भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाका प्रोजेक्ट म्यानेजर दीपक श्रेष्ठले बताउनुभयो ।

७२ करोड रुपियाँ लागत अनुमान गरिएको भीमेश्वर नगरपालिका वडा नं. ३, ४ र ६ मा ढल निर्माण गर्न तथा दुई अत्याधुनिक ढल प्रशोधन केन्द्र निर्माण गर्न भ्याट सहित ५५ करोड ७३ लाख ८३ हजार ९०८ रुपियाँमा ठेक्का लगाइएको थियो । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ११ जुलाई २०२१ मा चिनियाँ कम्पनी जीवाईईसीएल/भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा जेभीसँग सम्झौता भएको थियो ।

प्रशोधन केन्द्र सहितको ढल निर्माणका लागि ठेक्का सम्झौता रकमको ८५ प्रतिशत अर्थात ४७ करोड ३७ लाख ७६ हजार ३२१ रुपियाँ नेपाल सरकार तथा बाँकी १५ प्रतिशत अर्थात आठ करोड ३६ लाख सात हजार ५८६ रुपियाँ भीमेश्वर नगरपालिकाले बेहोर्ने सम्झौतामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार