ब्राउनगोल्ड माटोका घरहरु : कलाको स्थापना र सरसफाइ शिक्षा केन्द्र

  सन्जय देवकोटा  265 पटक हेरिएको

नेपालमा सरसफाइ र स्वच्छता प्रबर्द्वनका लागि दशकौंसम्म अनवरत प्रयासहरु भइरहे । खुल्ला ठाउँमा दिसा गर्ने अस्वस्थकर र लज्जास्पद बानी व्यवहारमा परिवर्तन ल्याई स्वच्छ, स्वस्थ र सभ्य समाजको निर्माण गर्नु चानचुने कुरा थिएन । सरसफाइ प्रबर्द्वनमा आर्थिक एवं प्राविधिक सहयोगका बाबजुद पनि घर घरमा शौचालय बन्न सकेनन, बनेका शौचालय पनि प्रयोगमा आएनन ।

सरसफाइ साम्राग्री मात्र प्रदान भयो, खुल्ला दिसागर्ने समस्या समाधान भएन । सानोतिनो योजना र फितलो रणनीतिले सरसफाइ प्रबर्द्वन हुने अवस्था थिएन । फलस्वरुपः नेपाल सरकारले सरसफाइ गुरुयोजना, २०६८ मार्फत राष्ट्रव्यापी अभियान शुरु गर्यो । नेपाल सरकार, विभिन्न दातृ निकायहरु, विकास साझेदारहरु, नागरिक समाज लगायत आम समुदायको सक्रिय सहभागिाता रहेको सरसफाइ अभियानले गाउँ, नगर, जिल्लादेखि केन्द्रिय तहमै तरंग सिर्जना गर्यो । जसको परिणाम स्वरुपः सरसफाइ गुरुयोजना लागु भएको झण्डै एक दशक भित्र अर्थात १३ असोज २०७६ मा नेपाल खुलादिसामुक्त राष्ट्र घोषणा भई नयाँ युगमा प्रवेश गर्‍यो।

ब्राउनगोल्ड अवधारणा द्रुत सहरीकरण उन्मुख क्षेत्रमा मानव मलमुत्र व्यवस्थापनको पुनःकल्पनामा जोड दिन्छ । समस्याको रुपमा रुपमा रहेको मानव मलमुत्रलाई प्रशोधन गरी त्यसमा रहेको उर्वर शक्तिलाई जैविक मलको रुपमा प्रयोग गर्न सकेमा मानव दिसा खैरो सुनको रुपमा स्थापित हुन सक्छ ।

समुदायहरु खुलादिसामुक्त घोषणा भएसँगै समाजको स्वरुप फेरिन थाल्यो । सरसफाइ र स्वच्छता आनीबानीमा सकारात्मक परिवर्तनहरु देखापर्न थाले । न्यून सरसफाइको कारणले लाग्ने रोगहरुमा कमी आउन थाल्यो । पहिलो चरणको सरसफाइ उपलब्धी हासिल गर्न तहगत रुपमा रहेका सम्पूर्ण समन्वय समितिहरुको उल्लेखनीय भूमिका रह्यो ।

देशमा संघीयता लागू भएसँगै तीन तहका सरकारहरु बने । अधिकार र स्रोतको हिसाबले स्थानीय तहको सरकारहरु (गाउँपालिका र नगरपालिकाहरु) थप सशक्त भए । यद्यपि, विगतमा उल्लेखनीय भूमिका निर्वाह गरेका सरसफाइ समन्वय समितिहरु अपेक्षित रुपमा सक्रिय हुन नसक्दा हाल समुदायमा र सहरोन्मुख क्षेत्रमा दोस्रो चरणको सरसफाइ चुनौती देखा पर्न थालेको छ ।

समुदायमा बनेका शौचालयका खाडलहरु भरिन थालेका छन् । दिसाजन्य लेदो संकलन र व्यवस्थापनमा चुनौती देखापर्न थालेको छ । हालै बर्दिया जिल्लाको गुलरियामा गरिएको अनुसन्धानबाट प्राप्त जानकारी अनुसार जग्गाको अभावमा केही घरधुरीले शौचालयको खाडल भरिएपछि नजिकैको जंगल वा खोलामा दिसा फाल्ने गरेको पाइएको छ भने कसैले नजिकै खाडल खनेर दिसाको व्यवस्थापन गर्ने गरेका छन ।

खाडल सफा गर्न आउने सरसफाइकर्मीहरु पनि उत्तिकै जोखिममा रहेको पाइन्छ । सरसफाइमा देखिएको यी समस्याहरुलाई बेलैमा सम्बोधन गर्न सकिएन भने खुलादिसामुक्त राष्ट्रको रुपमा हामीले हासिल गरेको उपलब्धी निरर्थक हुन गई समुदायमा पुनःपहिलेकै जस्तै सरसफाइ चुनौतीहरु देखा पर्न सक्नेछन् ।

तराइमा रहेका अधिकांश खाडलहरुमा रिङ प्रयोग गरिएको र तलको भाग Water sealedअर्थात पक्की नभएको कारणले दिसाको लेदो जमिनमुनि खानेपानीको स्रोतमा मिसिएर पिउने पानी दुषित भई पानीजन्य रोग लाग्ने जोखिम उत्तिकै उच्च छ ।

दिगो विकास लक्ष्यको अवधारणा अनुरुप स्वच्छ पानी र सरसफाइको लक्ष्य पूरा गर्न सबै सरोकारवालाहरु जिम्मेबार हुन आवश्यक देखिन्छ । तीव्र रुपमा सहरीकरण भइरहेका समुदायमा देखिएको दोस्रो चरणको सरसफाइ चुनौतीको समाधानका लागि हरेक गाउँपालिका र नगरपालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्रको स्थापना र व्यवस्थापन गर्नु अत्यन्त जरुरी देखिन्छ ।

ब्राउनगोल्ड अवधारणा द्रुत सहरीकरण उन्मुख क्षेत्रमा मानव मलमुत्र व्यवस्थापनको पुनःकल्पनामा जोड दिन्छ । समस्याको रुपमा रहेको मानव मलमुत्रलाई प्रशोधन गरी त्यसमा रहेको उर्वर शक्तिलाई जैविक मलको रुपमा प्रयोग गर्न सकेमा मानव दिसा खैरो सुनको रुपमा स्थापित हुन सक्छ । ब्राउनगोल्ड परियोजनाले अवलम्वन गरेको यस खोजले विद्यमान सरसफाइ चुनौतीलाई सम्बोधन गर्दै, समुदायको न्यून आर्थिक अवस्थालाई प्रबर्द्वन गर्नेछ र सीमान्तकृत समुदायको हित गर्ने लक्ष्य लिएको छ ।

यस लुम्बिनी विकास कोषको प्राङ्गण भित्र रहेको विश्वशान्ति स्तुपाको समीपमा स्थापित माटोका घरहरु स्थानीय सामग्रीहरु जस्तै बाँस, खर, गोबर, माटो इत्यादि प्रयोग गरी बनाइएको छ । यस घरको बाहिर भित्तामा दिसाजन्य लेदोको उचित व्यवस्थापन गर्ने प्रक्रिया, water-sealed अर्थात पक्की चर्पी खाडलको आवश्यकता, सामान्य चर्पी खाडलबाट कसरी दिसा हाम्रो खानेपानीको स्रोतमा मिसिन्छ लगायतका सन्देशमूलक सामग्रीहरु कलात्मक रुपमा देखाइएको छ ।

माटोको पहिलो घरमा शैक्षिक सामग्रीहरु राखिएको छ जहाँ अवलोकनकर्ताले सरसफाइ सम्बन्धी जानकारी हासिल गर्न सक्नेछन । यहाँ राखिएको माटोको कपमा अवलोकनकर्ताले सरसफाइ स्वच्छता सम्बन्धी चित्र बनाउन सक्नेछन साथै सरसफाइ स्वच्छता सम्बन्धी आफूलाई लागेको सल्लाह सुझाव गोप्य रुपमा यस कपभित्र राख्न समेत सक्नेछन् । अन्य सुझावका लागि सुझाव पेटिका पनि राखिएको छ ।


घरको Corridor अर्थात भित्री बाटोमा सरसफाइ स्वच्छता, खानेपानी, दिसाजन्य लेदो प्रशोधन, लैङ्गिकता, सीमान्तकृत, लगायत विविध विषय झल्किने अग्रेजी र नेपाली भाषामा बनेका ब्यानरहरु लगाइएको छ भने Corridor को दुबैतर्फ नेपाली र अवधी भाषामा बनेका पोष्टरहरु लगाइएको छ ।

विद्यार्थीहरु र इच्छुक अवलोकनकर्तालाई लक्षित गरेर Drawing Book र Paint को व्यवस्था गरिएको छ । जहाँ सरसफाइ स्वच्छता लगायत सन्देशमूलक चित्रहरु बनाउन सकिने छ । साथै अवलोकनकर्ताका लागि पोष्ट कार्डको पनि व्यवस्था छ जसमा ब्राउन गोल्ड अवधारणा सम्बन्धी जानकारी दिइएको छ । पोष्टकार्डमा अवलोकनकर्ताले आफूलाई लागेको कुरा लेखेर व्यक्त गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

समग्रमा सरसफाइ प्रबर्द्वनका लागि Art, Science, Sanitation Research and Education को सन्देश झल्कने, स्थानीय कला र संस्कृति अनुरुप निर्माण भएको माटोको घरहरु यहाँ अवलोकन गर्नुहुने विद्यार्थी, अनुसन्धानकर्ता, संघसंस्था, समुदाय, नागरिक समाज लगायत सम्पूर्णका लागि एक सुन्दर परम्परागत स्थलका साथै विश्वव्यापी सरसफाइ चुनौतीहरू, मानवमल, स्वच्छ पानी लगायत शौचालय निर्माण र भरिएपछि खाली गर्ने व्यवस्थित तरिकाबारे थप जानकारी दिने र दृश्यावलोकन गर्न सकिने एक कला केन्द्रको रुपमा रहेको छ ।

लेखक – लामो समयदेखि खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार