
डोटी : डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नं. ४ स्थित खैगाड आधारभुत विद्यालयलाई दुई तारे विद्यालय घोषणा तथा हस्तान्तरण गरिएको छ । खैगाड आधारभुत विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्दनमा जोरायल गाउँपालिकाको दोश्रो दुई तारे विद्यालय बनेको छ ।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ (दोश्रो संशोधन, २०७६) को अनुसुची १ मा व्यवस्था भए अनुसार विद्यालयले (दुई) ताराको सुचक पुरा गरेको पाइएकोले खैगाड आधारभुत विद्यालयलाई दुई तारे विद्यालय घोषणा गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुका लागि सुरक्षित पिउने पानी, प्रयोगकर्तामैत्री सुधारिएको सफा शौचालय र स्वस्थ्यकर आनीबानी अपनाउँदैे बालबालिकाको स्वच्छ वातावरणमा पढन पाउने अधिकारलाई सुनिश्चित गर्दै विद्यालय परिवारको पूर्ण सहभागितामा विद्यार्थीको स्वास्थ्य स्थितिमा सुधार ल्याई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार गर्ने लक्ष्य प्राप्तिमा योगदान पु¥याउन नेपाल सरकारले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छतामा तारे पद्धति लागू गरिएको हो ।
युनिसेफका निर्मल कुमार भाट, खैगाड आधारभूत विद्यालयका प्रधानाध्यापक चक्र बहादुर शाही, स्थानीय युवा योगेन्द्र मडै, शिक्षक मेख बहादुर पाली लगायतले विद्यालयको खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी मन्तव्य व्यक्त गर्नुभएको थियो । विभिन्न साँस्कृतिक प्रस्तुति सहित आयोजित कार्यक्रममा खैगाड आधारभूत विद्यालयको तर्फबाट अध्यक्ष चक्र बहादुर शाहीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
खैगाड आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भजन सिँह मडैको सभापतित्व जोरायल गाउँपालिकाका ४ नम्बर वडा अध्यक्ष नन्दराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जोरायल गाउँपालिकाले विद्यालयलाई प्रमाण पत्र समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा विभिन्न सरकारी कर्मचारी, युनिसेफका कर्मचारीहरु, स्थानीय विभिन्न सरोकारवालाहरु, विद्यार्थीहरु र पत्रकार लगायतको सहभागिता थियो ।


642 पटक हेरिएको 

