लुम्बिनी : न बस्ने व्यवस्था छ, न त शौचालय। खानेपानीको प्रबन्ध पनि छैन। ‘प्रचण्ड गर्मी र प्यासले सहिसक्नु छैन’ सेवा लिन इलाका प्रशासन कार्यालय मर्चवार पुगेका सेवाग्राही भोलेनाथ लोधले भन्नुभयो ‘भीड थेगिसक्नु छैन, पालो कहिले आउने थाहा छैन।’
‘बाहिर खेतमा दिसा–पिसाब बस्दा स्थानीयवासीको गाली र हप्काइ खानुपर्छ’, अर्का सेवाग्राही सम्मरीमाइ–६ का बिहारी चौहानले भन्नुभयो, ‘प्रतिक्षालय, शौचालय र एउटा ह्याण्डपाइपको व्यवस्था नभएको यस कार्यालयमा सेवाग्राही मात्र होइन, कर्मचारीलाई पनि सास्ती छ।’
वि.सं. २०४६ मा स्थापित सो कार्यालय मर्चवार लिफ्ट सिँचाइ जलउपभोक्ता संस्थाको छ कोठे भवनमा सञ्चालित छ। कार्यालय भवनको अवस्था जीर्ण रहेको भन्दै सेवाग्राहीका लागि शौचालय, बस्ने, व्यवस्था र खानेपानीको उचित प्रबन्ध नरहेको नायब सुब्बा पप्पुप्रसाद यादवले बताउनुभयो।
नागरिकता वितरणको अधिकार प्राप्त इलाका प्रशासन कार्यालय मर्चवारमा दैनिक ७०/८० सेवाग्राहीको भीड हुन्छ। कार्यालयका अनुसार नयाँ नागरिकता र प्रतिलिपि निकाल्नेदेखि समावेशी प्रमाणित र राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको चाप छ, तर भौतिक पूर्वाधार छैन।
शौचालय र खानेपानीको व्यवस्था गर्ने जिम्मा स्थानीय सरकार र सम्बन्धित कार्यालयको हो । नेपालको संविधान भाग १, मौलिक हकको धारा ३५(४) मा स्वच्छ खानेपानी तथा सरसफाइको हकको व्यवस्था छ।
पूर्वाधार र कर्मचारीको अभावमा कमजोरी भएको स्वीकार्नु हुँदै कार्यालय प्रमुख राकेशकुमार चौधरी (कुर्मी) ले शुद्ध खानेपानी र व्यवस्थित शौचालय आदिको प्रबन्धका लागि स्थानीय तहसँग तत्काल समन्वय गरी पहल गर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारका शिक्षा तथा खेलकुदमन्त्री बसीउद्दीन खाँले कार्यालयमा शुद्ध खानेपानीको तत्काल प्रबन्ध गर्ने बताउनुभयो। उहाँले लुम्बिनी प्रदेश सरकारबाट तत्कालका लागि सम्भव नभए पनि भौतिक पूर्वाधार अन्तर्गत कार्यालय भवन र सुविधा सम्पन्न शौचालयका लागि पहल गरिने आश्वासन दिनुभयो ।


671 पटक हेरिएको 

