रातको समयमा फोहोर फाल्ने माथि महानगरको गस्ती

२० जनाबाट ४ लाख ५० हजार जरिवाना असुल

  वास खबर सम्वाददाता  634 पटक हेरिएको

काठमाडौ : काठमाडौं महानगरपालिकाले रातको समयमा लुकीछिपी फोहोर फाल्ने माथि कडा निगरानी गर्न थालेको छ । महानगरले रातको समयमा पनि नगर प्रहरी र कर्मचारीको टोली खटाई सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ठाउँका ठाउँ कार्वाही गर्न थालेको हो ।

हालसम्म रातको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिनुभयो । त्यस्ता व्यक्तिहरुलाई फोहोरको मात्रा र प्रकृति अनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार फोहोर फाल्ने व्यक्तिहरुले स्कुटी तथा मोटरसाईकलमा बोराका बोरा ल्याएर चोक तथा गल्लीमा फ्याँक्ने गरिएको भेटिएको छ । वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको भट्टले जानकारी दिनुभयो। हालसम्म महानगरले फोहोर फाल्नेमाथि जरिवाना गरेर मात्र ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार