रूकुम : रूकुम पश्चिमको सदरमुकाम मुसीकोटमा ढल फुटेर छरपष्ट भएको छ । मुसीकोट नगरपालिका–१ खलंगा बजारको ढल बराहटाकुरा स्थित टुँडिखेलमा छरपष्ट भएको हो ।
दुई वर्ष अघि संघीय सहरी विकास कार्यालयले बजारभित्रको सडक र ढलको सुधार तथा व्यवस्थापनका लागि काम गरे पनि अधुरै छाड्दा अहिले यो अवस्था आएको १ नं। वडा अध्यक्ष ज्ञानुचन्द्र चन्दले बताउनुभयो । यो काम सम्पन्न नहुँदा परेको असर प्रति आफूहरू जानकार रहेको र नगरपालिकालाई अवगत गराएको अध्यक्ष चन्दले बताउनुभयो ।
दुई वर्षदेखि यसरी नै बगिरहेको फोहोर पानीले खेल मैदान र पिपलनेटा जाने सडकलाई समेत असर गरेको स्थानीय कर्णबहादुर खड्काले बताउनुभयो । यस विषयमा नगरपालिकाले देखे पनि नदेखेझैं गरेको खड्काको आरोप छ । बर्खामा बजारको भल पनि यही ठाउँ भएर बग्ने गरेकाले झन् ठूलो असर गर्ने गरेको छ ।
यो समस्या समाधानका लागि नगरपालिकाबाट प्रदेश सरकारमा अनुरोध गरेको र प्रदेशबाट समाधान नभए नगरले गर्ने वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो । ‘हामीले ढलको बिषयलाई लिएर धेरै पटक कुरा उठाईसक्यौं । यसपटक पनि नगरपालिकाबाट प्रदेश सरकारमा अनुरोध गरेर पठाएका छौं । यदि प्रदेशबाट समाधान भएन भने जसरी पनि नगरपालिका आफैले गर्नेछ’ वडाअध्यक्ष चन्दले भन्नुभयो।