फोहोर व्यवस्थापनका लागि ‘सफा नेपाल’ एप्लिकेशन प्रयोगमा ल्याईदै

  वास खबर सम्वाददाता  365 पटक हेरिएको

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउने भएको छ । जथाभावी फोहोर फाल्नेको पहिचान गरी दण्डित गर्ने उद्देश्यले द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो । यसका लागि महानगर र क्लिन अप नेपाल बीच सम्झौताको चरणमा रहेको छ । सम्झौता भएपछि मोबाइल एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिनुभयो ।

क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ । आउँदा दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले जानकारी दिनुभयो ।

यो एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्ने छन् ।

यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिनेछ । यसका साथै फोहोर फाल्दै गरेको व्यक्ति सहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर उसलाई दण्डित गरिने मेयर सिंहले बताउनुभयो ।

फोटो पठाउनेलाई भने नगर सफाई अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिवानाबाटै पुरस्कारको व्यवस्था मिलाउने नगरको योजना छ । यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिने महानगरपालिकाले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार