भक्तपुर : सीमापारि अर्थात भारतबाट नेपालीको भान्छामा तरकारी मात्र आयात हुँदैनन्, सँगै रोग पनि भित्रिँदो छ । बिषादीयुक्त तरकारीका कारण टाउको दुख्ने, रिँगटा चल्ने, शरिर झम्झाउने, थकान महसुस हुने, रक्तचाप बढ्ने जस्ता समस्याले शहरका बासिन्दालाई सताउन थालेको छ ।
डाक्टरहरुका अनुसार ती भारतबाट आयातित तरकारीमा अधिक मात्रामा बिषादीको प्रयोग हुने र त्यसैका कारण उल्लेखित स्वास्थ्य समस्या देखिन थालेको हो । वर्तमानमा देखिन थालेका यी स्वास्थ्य समस्या कालान्तरमा क्यान्सर रोगमा परिणत हुन सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिदै आएका छन् ।
काठमाडौ उपत्यकामा एउटा राम्रो प्रयास चाहिं आफ्नो परिवारका लागि पुग्ने तरकारी आफैले फलाउन सुरु गरिएको छ । ‘घरको छत, कौसी वा बरण्डामा अर्गानिक तरकारी फलाउनु भनेको तरकारी किन्नका लागि खर्च हुने रकम जोगाउनु मात्र होइन, घरमा एक जना डाक्टर हुनु जत्तिकै हो, भन्नुहुन्छ मध्यपुरथिमी नगरपालिका २ भक्तपुरकी भगवती राजभण्डारी ।’
यसका लागि उहाँले बिहान बेलुकीको समय कौसी खेतीमै बिताउनुहुन्छ । कौसीमा फूलेका फूलहरुसँग सम्वाद गर्नुहुन्छ । राजभण्डारी भन्नुहुन्छ ‘म त फूललाई मुसार्छु, सुकेको पात टिप्छु अनि भन्छु तिमी कत्ति राम्रो फूलेको है, तिमीले मलाई कत्ति आनन्द दिलाएका छौं हगि ?’
विभिन्न जातको तरकारी उमार्नका लागि गरिने परिश्रमले शारीरिक कसरत मात्र नभई मन पनि चङ्ग हुने उहाँको अनुभव छ । कतै एक दिन मात्र बाहिर जानुपरेमा पनि उहाँलाई सबैभन्दा बढी कौसीमा हुर्किदै गरेका बोटविरुवाहरुकै चिन्ता लाग्छ रे । उहाँ भन्नुहुन्छ ‘मेरा छोराछोरी समान हुन्, मैले उब्जाएका तरकारी र फूलाएका फूलहरु’


1501 पटक हेरिएको 

