पोखराको ढल व्यवस्थापनमा जाइकाको चासो

पोखरामा ढल प्रशोधन केन्द्र स्थापना गर्न प्रस्ताव

🔗
23
Shares

कास्की : पोखराको ढल व्यवस्थापनका लागि जापान सरकारले चासो देखाएको छ । पर्यटकीय शहर पोखराको ढल फेवाताल र सेती नदीमा जथाभावी मिसाएको पाइएपछि जाइकाले यसको व्यवस्थापनको लागि प्रस्ताव गरेको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १ खर्ब ३६ अर्ब लागतमा पोखरामा ढल प्रशोधन केन्द्र स्थापना गर्न सकिने गरी पोखरा महानगरपालिकालाई प्रस्ताव गरेको छ । उक्त प्रस्ताव उनीहरूले महानगरका पदाधिकारी बीच प्रस्तुत गरिसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताउनुभयो ।

प्रस्ताव अनुसार प्रशोधन केन्द्र स्थापनाका लागि पोखरा महानगर–१७ को पावरहाउस नजिक खाली रहेको सार्वजनिक जग्गालाई हेरिएको छ । करिब १ सय ५० रोपनी जग्गामा प्रशोधन केन्द्र स्थापना गर्न सकिने गरी जाइकाले प्रारम्भिक प्रस्ताव गरेको उहाँले बताउनुभयो । ‘उनीहरूले बनाइदिएको प्रशोधन केन्द्रलाई कसरी सञ्चालनरव्यवस्थापन गर्न सकिन्छ भन्ने महानगरको चासो हो, निर्माणपछि व्यवस्थापनको जटिलताबारे हामीले अध्ययन अगाडि बढाएका छौं ।’ उहाँले भन्नुभयो ।

नगरवासीलाई भार नपर्ने गरी कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा विकल्प खोजी रहेको उहाँको भनाइ छ ।

२०५६ मा पोखराको ढल व्यवस्थापनका लागि नेपाल सरकारले दातृ निकायको सहयोगमा ‘पोखरा वातावरण सुधार आयोजना’ सञ्चालनमा ल्याएको थियो । पहिलो चरणमा पोखरामा नाली बनाउने र नालीमाथि ढलान गरी फुटपाथ बनाउने काम र दोस्रो चरणमा पोखरा–१४ बाच्छेबुडुवामा ल्यान्डफिल साइड बनाउने काम भए पनि उक्त आयोजनाले जनअपेक्षा अनुसार काम गर्न नसकेको पोखरा महानगर इन्जिनियर नेत्रप्रसाद तिमिल्सनाले बताउनुभयो ।

स्थानीय गिरीराजका अनुसार त्यतिबेला निरन्तर सञ्चालन गर्नुपर्ने आयोजना मन्त्रालयका कर्मचारीबीचको कमिसनको खेलले अन्ततः निष्क्रिय हुन पुग्यो । त्यसपछि कुनै आयोजना नआएको र संघीयतापछि बनेका सरकारले नै यो क्षेत्रलाई समेट्न नसकेको उहाँको भनाइ छ । पटक पटक ढल निकासको वैकल्पिक उपायहरू बताउँदा समेत महानगरका पदाधिकारीले चासो नदेखाएको उहाँको गुनासो छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार