
विराटनगर : विराटनगर–६, ब्रह्मपुरामा रहेको ल्यान्डफिल्ड साइटमा चौबिसै घण्टा धुवाँइरहन्छ। महानगरपालिकामा उत्पादन भएको फोहोर डम्पिङ गर्ने ल्यान्डफिल्ड साइटमा साधारण मात्रै नभई अस्पतालका सिरिन्ज र सिसीदेखि रगत लत्पतिएका कपडासमेत जल्ने गरेको छ।
अस्पतालजन्य फोहोर सङ्कलन गरेर आगो लगाउने गरिएको स्थानमा मङ्गलबार विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की सहितको टोलीले निरीक्षण गरेको छ। त्यस क्रममा विराटनगरका अस्पतालको फोहोर समेत सङ्कलक कम्पनीले पैसा लिएर त्यहाँ पुर्याउने गरेको देखिएको हो।
विराटनगरका अस्पतालबाट उत्पादन हुने जोखिमयुक्त फोहोर जथाभाबी फालेर सङ्कलक कम्पनीले आगो लगाउने गर्दा वातावरणसँगै केसलिया खोला किनार दूषित र दुर्गन्धित छ। निरीक्षणका क्रममा अस्पतालमा प्रयोग भएका सिरिन्ज, ल्याब (प्रयोगशाला) का अन्य सामग्री, कपडा समेत त्यत्तिकै ल्यान्डफिल्ड साइटमा भेटिएपछि फोहोर सङ्कलन गर्ने कम्पनीलाई महानगरपालिकाले यसपछि त्यस्तो काम नगर्न निर्देशन दिएको छ। उपप्रमुख कार्कीले चरम लापरबाही गरेको देखिएपछि फोहोर सङ्कलक कम्पनीका प्रतिनिधिलाई बोलाएर आइन्दा अस्पतालसँग रकम लिएर फोहोर सङ्कलन गर्ने र डम्पिङ साइटमा फ्याँक्ने काम रोक्न निर्देशन दिएको जानकारी दिनुभयो।
कार्कीसहित महानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं पूर्वाञ्चल क्याम्पस धरानका मास्टर अफ स्यानिटेसन इन्जिनियरिङका संयोजक सागर काफ्लेसहितको टोलीले स्थलगत निरीक्षण गर्नुभएको थियो। केसलिया किनारको ल्यान्डफिल्ड साइटमा थुपारिएको फोहोरमा सङ्कलक कम्पनीले आगो लगाएर जलाउने गरेको पाइएपछि त्यस्तो नगर्न भनिएको छ।
विराटनगरमा फोहोर व्यवस्थापनको तयारी नहुँदा ब्रह्मपुरामा लामो समयदेखि डम्पिङ गरिँदै आएको छ। फोहोरको दुर्गन्ध र धुवाँले आसपासका स्थानीयसँगै सिङ्गो विराटनगर नै प्रदुषित भएको सरसफाइका क्षेत्रमा अध्ययन गर्दै आउनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सागर काफ्लेको भनाइ छ।
महानगर उपप्रमुख कार्कीले अस्पतालजन्य फोहोर सङ्कलन गरेर डम्पिङ गर्ने कम्पनी र अस्पतालसँग समेत छलफल गरेर त्यस्तो कार्य रोकिने दाबी गर्नुभएको छ। उहाँले मङ्गलबार फोहोर सङ्कलक कम्पनीसँग भएको छलफलपछि अस्पतालजन्य वस्तु सङ्कलन रोकिएको र बुधबार अस्पतालसँग छलफल गरेर आफ्नै व्यवस्थापनका लागि निर्देशन हुने बताउनुभयो।
विराटनगर महानगरले १३ वर्ष अगाडि बुढीगङ्गा गाउँपालिकाको हात्तीमुढामा साढे २६ बिघा जग्गा ल्यान्डफिल्ड साइटका लागि खरिद गरेको थियो। हालसम्म उक्त जग्गा प्रयोगविहीन छ। त्यसपछि गत वर्ष विराटनगर–१६ मा अर्को १० बिघा जग्गा खरिद गरिएको छ। त्यहाँ फोहोरको एकीकृत व्यवस्थापनका लागि ‘इन्टिग्रेटेड सोलिड बेस्ट म्यानेजमेन्ट सिस्टम’ निर्माण गर्ने योजना राखिएको छ तर हालसम्म त्यसको प्रक्रिया अगाडि बढेको छैन।
विराटनगर महानगरपालिकाको फोहोर सङ्कलन गर्न तीनवटा निजी साझेदार कम्पनीसँग सम्झौता गरिएको छ। महानगरको उत्तरी क्षेत्रको नेपाल फूलबारी बेस्ट थ्री आर पोल्युसन कन्ट्रोल, मध्यभागमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल तथा दक्षिणी क्षेत्रको आरएसडी सप्लायर्सले फोहोर सङ्कलन गर्दै आएको छ। कम्पनीहरूले पैसाका लागि अस्पतालजन्य फोहोरसमेत सङ्कलन गरेर साधारण फोहोर सरह थुपारेर आगो लगाउने गरेको पाइएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।
खोला किनारको डम्पिङ साइट वातावरणका लागि निकै घातक भएको पूर्वाञ्चल क्याम्पस धरानका उपप्राध्यापक काफ्लेको भनाइ छ। यसले पानी, माटो र हावामा असर पुर्याउँछ। फोहोरमैला व्यवस्थापन ऐन २०६७ को परिच्छेद ३ मा फोहोर व्यवस्थापनका लागि केन्द्र तोक्दा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकुल असर नपर्ने गरी तोक्नुपर्ने प्रावधान छ।
स्थानीय तहले समेत यसको व्यवस्थापन गर्दा नागरिकलाई कुनै असर नपर्ने गरी उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ। महानगरका सरसफाइ सुधार शाखाका प्रमुख पुनम दाहालले अस्पतालजन्य फोहोर सङ्कलन गरेर लैजान नपाउने बताउँदै उत्पादन हुने स्थानमै त्यसको वर्गीकरण र उत्पादक आफैँले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।


526 पटक हेरिएको 

