
बाँके : नेपालगञ्जको धम्बोझी चोकमा सञ्चालनमा ल्याईएको स्वचालित शौचालय छोटो समयमै प्रयोगविहीन भएको छ । करिब तीन वर्ष अघि एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत ४६ लाख ३६ हजार रुपियाँको लागतमा शौचालय निर्माण गरिएको थियो ।
अत्याधुनिक स्वचालित शौचालयको रूपमा चर्चा पाएको शौचालय पूर्ण स्वचालित पद्धतिमा चल्छ । शौचालय भित्र शौच गर्दा स्वचालित रूपमा सङ्गीत बज्ने व्यवस्था छ । फोल्डिङ्गयुक्त भएकाले यसलाई अर्को ठाउँमा समेत सहजै लैजान सकिने व्यवस्था रहेको छ । यो शौचालयमा एक पटकमा ३ जना महिला, ३ जना पुरुष र एक जना फरक क्षमता भएका गरी सात जनाले प्रयोग गर्न सक्छन् ।
नेपालगञ्जको मुख्य चोक सुर्खेत रोड र घरबारी टोल तथा खजुरा रोड आसपासका व्यवसायी तथा यात्रु र बटुवाको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि प्रयोगविहीन भएपछि नागरिकलाई शौचका लागि समस्या हुनेगरेको छ । नेपालगञ्जभित्र करिब एक दर्जनको सङ्ख्यामा सार्वजनिक शौचालय भए पनि स्थानीय बासिन्दाको साथ र सहयोग भए मात्रै अपेक्षाअनुसारको स्वास्थ्य र सरसफाइको क्षेत्रमा सफलता प्राप्त हुने उपमहानगरपालिकाले जनाएको छ । गोरखापत्र दैनिकबाट साभार गरिएको ।


658 पटक हेरिएको 

