फोहोरपानी प्रशोधनका १० आयोजना : कतै ठेक्का रद्द, कतै २ प्रतिशत प्रगति

  वास खबर सम्वाददाता  484 पटक हेरिएको

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेयल) अन्तर्गतको खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले उपत्यकामा निर्माण गरिरहेका फोहोर पानी व्यवस्थापन आयोजनाहरुको निर्माण ठेकेदार कम्पनीहरुको लापरवाहीका कारण लम्बिने भएका छन् ।

यो आयोजना अन्तर्गत काठमाडौं उपत्यकाको फोहोर पानी प्रशोधन केन्द्र र ढल व्यवस्थापन केन्द्र गरी १० स्थानमा निर्माण थालिएको थियो । गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य भने २ वर्ष अघि नै सम्पन्न भएको थियो । खस्याङखुसुङमा ढल व्यवस्थापन, हनुमन्ते इन्टरसेप्टर, मनोहरा प्रोधन केन्द्रको काम पनि अन्तिम चरणमा पुगेको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।

तर ५ वर्ष बितिसक्दा पनि सल्लाघारी, कोट्कु, धोविघाट फोहोर पानी प्रशोधन केन्द्रको भौतिक प्रगति २७.१ प्रतिशत मात्रै देखिन्छ । चिनियाँ ठेकेदार कम्पनी साफबोन वाटर सर्भिस होल्डिङको लापरबाहीका कारण यो प्रशोधन केन्द्र अनिश्चित बन्न पुगेको छ । सन् २०१७ जनवरीमा यसको ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार प्रशोधन केन्द्र निर्माणको काम सन् २०१९ नोभेम्बरमा सम्पन्न गर्नुपर्ने थियो । निर्माण कार्य नसकिएपछि ३१ जनवरी २०२२ सम्मका लागि समय थप गरिएको थियो । थपिएको समयमा पनि २७ प्रतिशत मात्रै भौतिक प्रगति भएपछि उक्त ठेक्का रद्द गरिएको हो ।

आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले सम्झौता अनुसार कार्यसम्पदन नभएका कारण ठेक्का तोडिएको र नयाँ ठेक्का सम्झौताको प्रक्रियामा रहेको जानकारी दिए । “काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना अन्तर्गतको सल्लाघारी, कोड्कु र धोविघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्न गरिएको सम्झौता बमोजिमको काम नगर्ने चिनियाँ कम्पनी साफबोन वाटर सर्भिस होल्डिङसँगको ठेक्का रद्द भएको छ,” उनले भने, “उक्त कम्पनीसँगको पर्फर्मेन्स बैंक ग्यारेन्टी र अग्रिम भुक्तानीबापतको रकम गरी ८८ करोड १६ लाख फिर्ता लिइएको छ । अब नयाँ ठेक्का प्रक्रियामा रहेको छ ।” यी सबै आयोजनाहरु निर्माण गर्न सरकारले ११ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

यस बाहेकका आयोजनाहरु धोविघाट फोहोरपानी प्रशोधन केन्द्रको भौतिक प्रगति ८४.४ प्रतिशत भएको छ भने पाटन ढल व्यवस्थापनको ५६.७ प्रतिशत मात्र भएको छ । यस्तै गोकर्ण र हनुमन्तेमा फोहोर पानी प्रशोधन केन्द्र र दिसाजन्य लेदो प्रशोधन केन्द्रको प्रगति भन्ने शून्यजस्तै छ । यसको भौतिक प्रगति २.२ प्रतिशत मात्र पुगेको हो । बालुवाटार वर्षात् पानी व्यस्थापनको प्रगति पनि ३८.८ प्रतिशत मात्र भएको छ । यी आयोजना निर्माणको समया सीमा भने बाँकी नै छ । गोकर्ण ढल सञ्जाल भने सुरु हुँदैछ ।

यी आयोजनाहरुमा आधुनिक प्रविधि प्रयोग गरी फोहोर पानी प्रशोधन गर्ने, क्षमता वृद्धि तथा विस्तार गर्ने उद्देश्यले सरकारले लगानी गर्न लागेको हो । यस्तै, फोहोर पानी प्रशोधन नगरी सोझै उपत्यकाका नदीमा मिसाउँदा प्रदुषित हुने भएकाले यसलाई रोक्न पनि आयोजना निर्माण गरिन लागेको हो ।

उपत्यकामा तिव्र जनसंख्या वृद्धि र बढ्दो पानी खपतले सन् २०३० सम्म दैनिक ४९ करोड लिटर फोहोर पानी उत्सर्जन हुने अनुमान गरिएको छ । यो अवस्थालाई हेरेर सरकारले गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र (३ करोड २४ लाख लिटर प्रतिदिन) निर्माण गरी सञ्चालनमा ल्याएको छ । यो केन्द्र २ वर्षदेखि सञ्चालनमा आएको हो ।

आयोजनाका उपनिर्देशक तथा प्रवक्ता चन्द्रकुमार श्रेष्ठले गुहेश्वरी बाहेक धोविघाटमा २ वटा प्रशोधन केन्द्र निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार धोविघाटमा निर्माणाधीन ३ करोड ७० लाख लिटर प्रतिदिन क्षमताका प्रशोधन केन्द्रको भौतिक प्रगति ८४.४ प्रतिशत छ । यस्तै गरि हनुमानघाट र गोकर्णमा फोहोर पानी र दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्न व्यवसायीसँग सम्झौता भएर डिजाइन बनाउने क्रममा छ ।

आयोजना निर्देशनालयले उपत्यकाको घरघरबाट निस्कने फोहोर पानीलाई नजिकैको प्रशोधन केन्द्रसम्म पुर्‍याउन हनुमन्ते क्षेत्रमा १६.८ किलोमिटर ढल बनाइएको छ । यस्तै मनोहरा क्षेत्रमा ६.२ किलोमिटर ढल बनाउने काम सकिएको छ । अर्को केन्द्र खस्याङखुसुङमा ७ किलोमिटर बनेको छ ।

आयोजना निर्देशनालयका अनुसार काठमाडौं र ललितपुरका मुख्य भागमा वर्षायाममा हुने डुबानको समस्यालाई निराकरण गर्न विस्तृत अध्ययन गरिएको छ । ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरको २.८० किलोमिटर ढल प्रणालीको पुनस्र्थापना गर्ने कार्यमध्ये १.५ किलोमिटर बनाइएकोे छ ।

यस्तै गुहेश्वरीमा फोहोरपानी प्रशोधनसँगै फोहोरबाट बिजुली उत्पादन गरिएको छ । धोबिघाटमा पनि फोहोरबाट ग्यास उत्पादन गरी बिजुली उत्पादन गर्ने तयारी छ ।

आयोजनाका अनुसार गुहेश्वरी केन्द्रबाट करिब ३ सय मेगावट र धोविघाट केन्द्रमा उत्पादित लेदोबाट बायोग्यास निकाली ६ सय १० किलोवाट प्रतिघण्टा बिजुली उत्पादन हुनेछ । सल्लाघारी र कोड्कु (बालकुमारी) केन्द्रबाट उत्पादन हुने लेदोबाट बायोग्यास उत्पादन हुने छ । गुहेश्वरी, सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाट केन्द्रबाट करीब ३०.२ टन दैनिक जैविक फोहोरबाट कम्पोष्टमल उत्पादन हुने आयोजनाले बताएको छ । कारोबार दैनिकबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार