
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका स्थित खुम्जुङमा फोहोरपानी व्यवस्थापन परियोजनाको शिलान्यास गरिएको छ । भारतीय राजदूत नवीन श्रीवास्तब तथा सोलखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले उक्त परियोजनाको शिलान्यास गर्नुभएको हो । परियोजना भारत–नेपाल विकास सहयोग अन्तर्गत भारतीय अनुदानमा निर्माण हुन लागेको हो ।
फोहोरपानी व्यवस्थापन परियोजना सम्पन्न भएपछि खुम्जुङ र खुन्दे गाउँबाट उत्सर्जन हुने फोहोरपानीको व्यवस्थापन हुनेछ । खुन्देमा एक अस्पताल, गुम्बा र खुम्जुङमा आवासीय माध्यमिक विद्यालय समेत रहेको छ । परियोजना सम्पन्न भएपछि संस्थागत फोहोरपानीको उचित व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।
‘यस परियोजनाले सोलुखुम्बु जिल्लाका दुर्गम क्षेत्रमा सामुदायिक सेवा उपलब्ध गराउन भारतीय अनुदान सहयोग अन्तर्गत प्रदान गरिएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ दूतावासले भनाइ छ ।
नेपाल भारत विकास सहयोग कार्यक्रम र खुम्बु पासाङल्हमु गाउँपालिकाको संयुक्त लगानीमा निर्माण हुने परियोजनाको कोजु कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको छ । ५ करोड ७० लाख रूपैंया लागतमा निर्माण हुने परियोजनाको ८० प्रतिशत अर्थात ४ करोड ५६ लाख रूपैंया भारत सरकारको अनुदान र २० प्रतिशत १ करोड १४ लाख रूपैंया खुम्बु पासाङल्हमु गाउँपालिकाले बेहोरिने वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।
भारतीय दूतावासले सन् २०२२ मार्चमा खुम्जुङ, खुन्दे र नाम्चे बजारका बासिन्दा लाभान्वित हुने गरी खुम्जुङ खुन्दे खानेपानी सेवाको व्यवस्था गरिएको छ । दुतावासले त्यसअघि सन् २०१७ जनवरीमा थामेखोला साना जलविद्युत् परियोजनाको स्तरोन्नति गरिएको जनाएको छ । जलविद्युत परियोजनाबाट खुम्जुङ, खुन्दे, नाम्चे बजार र थामे उपत्यकाका १२ सय भन्दा बढी घरपरिवारले विद्युत उपभोग गर्दै आएका छन् ।


416 पटक हेरिएको 

