चिन्न सके फोहोर बन्छ मनि, यसैबाट मासिक २ लाख आम्दानी

  वास खबर सम्वाददाता  537 पटक हेरिएको

बुटवल : सहर बजारको फोहोरमैला व्यवस्थापन कसरी गर्ने रु धेरै स्थानीय तहलाई अहिले टाउको दुखाइको विषय बनेको छ । तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने फोहोर संकलन र व्यवस्थापन गरेर सहरबजार सफा सुग्घर मात्र बनाएको छैन‚ आम्दानी समेत गर्न थालेको छ ।

तिलोत्तमा नगरपालिकाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र सहकारी संस्थाको त्रिपक्षीय समन्वयमा सरसफाइका काम गरेको छ । तिलोत्तमा नगरपालिकाले फोहोर संकलन र व्यवस्थापनका लागि ‘वास स्वास्थ्य सहकारी संस्था’ लाई सक्रिय बनाएको छ । सहकारी संस्थाले हरेक घरमा २ वटा फोहोर फाल्ने डस्टबिन दिएको छ । स्थानीयले कुहिने फोहोर एउटा डस्टबिनमा फाल्छन् भने नकुहिने अर्कोमा । कुहिने फोहोरबाट स्थानीयले आफैँ कम्पोस्ट मल बनाउने र गड्यौंला मल बनाउने गर्छन् । त्यसका लागि तालिम दिइएको छ ।

नकुहिने फोहोर भने दैनिक चारवटा ट्र्याक्टरमार्फत् घर-घरबाट संकलन गर्छ । बोरा, प्लास्टिक, सिसा, फलाम, टिनजस्ता पुनः प्रशोधन गर्न मिल्ने फोहोर अलग-अलग गरी छुट्याएर त्यसको बिक्री गर्ने गरेको छ ।

फोहोर संकलन र प्रशोधनमा ४० जनाले रोजगारी पाएका छन् । वास स्वास्थ्य सहकारी संस्था लिमिटेड तिलोत्तमाका अध्यक्ष खेमप्रसाद गौतमले नगरको फोहोर व्यवस्थापन पनि हुने त्यसबाट सहकारीलाई आम्दानी पनि गर्ने उद्देश्यले काम गरिरहेको बताए ।

सहकारीले ‘हरित पुनरुत्थान प्रवर्द्धन परियोजना’ अन्तर्गत नगरपालिकाका ७ देखि १७ सम्मका ११ वडाको फोहोर संकलन, प्रशोधन तथा बिक्री गर्दै आएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि करहिया सामुदायिक वन क्षेत्रमा रहेको सुखौरा खोलाले उकास गरेको ६ बिघा जमिन छुट्याइदिएको छ । रकमका हिसाबले फोहोर संकलन व्यवस्थापन तथा प्रशोधनमा तिलोत्तमा नगरपालिकाको १ करोड ७१ लाख ४० हजार , यूएनडीपीको १ करोड ६३ लाख ९७ हजार र सहकारीको ५७ लाख ५० हजार रुपैयाँ गरी करिब ५ करोड लगानी भएको छ ।

मासिक २ लाख आम्दानी, बार्षिक १ करोडको लक्ष्य

दैनिक ३ टन फोहोर संकलन हुन्छ । त्यसमध्येको ९० प्रतिशत फोहोर पुनरुपयोग गर्न सकिने हुन्छ । जहाँ फोहोर बिक्रीबाट मात्रै मासिक करिब २ लाख रुपैयाँ आम्दानी हुन्छ । संस्थाका अध्यक्ष गौतमका अनुसार फोहोर प्रशोधन केन्द्रमा ८ वटा बेलर मसिनले प्लास्टिक जम्मा गरेर ६० देखि ८० किलोको बन्डल बनाउँछन् । ती उद्योगहरूले लैजाने गरेका छन् । प्रशोधन गरिएको फोहोर उपयोग हेरेर ६ देखि ८० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको छ ।

फोहोर प्रशोधनबाटै वार्षिक एक करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उनले जनाए । ‘रिसाइकल गर्न मिल्नेमात्र होइन, रिसाइकल गर्न नमिल्ने बिस्कुट, गुट्खा, चाउचाउ लगायत प्लास्टिक समेत डल्लो बनाएर कोइलाका रुपमा प्रयोग गर्न सिमेन्ट र इँटा उद्योगहरूलाई बेचेका छौं । जुन प्रतिकिलो ६ रुपैयाँमा बिक्री हुने गरेको छ,’ अध्यक्ष गौतमले भने ।

कुहिने फोहोर घरमै व्यवस्थापन गरी प्रांगारिक र गड्यौला मल बनाउन सिकाएको सहकारीले नकुहिने फोहोरमात्रै संकलन गर्छ । घरघरमा कुहिने फोहोर व्यवस्थापन र नकुहिनेको संकलन हुन थालेपछि नगर सरसफाइयुक्त बनेको छ । स्थानीय खुसी छन् । मणिग्रामकी सीता थापाले घरघरै आएर फोहोर लैजान थालेपछि टोलबस्ती सफासुग्घर बनेको बताइन् । ‘नकुहिने फोहोर नगरपालिकाले लैजान्छ । कुहिने फोहोर बारीमा गाडेर मल बनाउन सिकाएको छ,’ उनले भनिन्, ‘फोहोरले दुर्गन्धित बनाउन पाएको छैन ।’

सहकारीले नगरपालिका र यूएनडीपीको सहकार्यमा स्वास्थ्य र सरसफाइबारे स्थानीयलाई सचेतनामूलक कार्यक्रम समेत चलाएको छ । फोहोर संकलन बापत एक घरले मासिक ३ सय रुपैयाँ दिनुपर्छ । ४ नम्बरका ओमप्रसाद भण्डारीले सहकारीले घरमात्र होइन‚ सार्वजनिक स्थल समेतको सामूहिक सरसफाइ गर्न सिकाएको बताए । ‘सिँचाइका नहर, कुलो, खोला, पार्क, सार्वजनिक स्थानसमेत सरसफाइयुक्त बनाउन काम भइरहेको छ,’ उनले भने, ‘यसले नगर चिटिक्क बनाउन सघाएको छ ।’

तिलोत्तमा नगरपालिकामा २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगर सरसफाइमा सघाउने गरी ‘वास स्वास्थ्य सहकारी संस्था’ सुरु भएको हो । घरदैलोको फोहोरसँगै यसले २०७६ सालमा नगरपालिकालाई खुला प्लास्टिकमुक्त गर्ने अभियान चलाएको थियो ।

प्रशोधनस्थलमा फोहोर छुट्याउन क्रसर र कन्भेल्ट मसिन जडान भएका छन् । तर, विद्युत् भोल्टेज नपुग्दा तिनको भने उपयोग हुन सकेको छैन । नगरपालिका प्रमुख रामकृष्ण खाँणले हाई भोल्टेज सहितको विद्युत् पुर्‍याउन विद्युत् कार्यालयसँग समन्वय भइरहेको बताए । मसिनबाट फोहोर छुट्याउँदा छिटो छरितो हुनेछ । ‘अहिले नगरको एकदेखि ६ सम्मको फोहोर व्यवस्थापन मात्र गरिएको छ । ७ देखि १७ को जस्तै सबै फोहोर प्रशोधन गर्ने र मसिनबाटै प्रशोधनको काम गर्ने लक्ष्य छ,’ उनले भने । कान्तिपुर दैनिकबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार