भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरस्तरीय समावेशी सरसफाइ (City Wide Inclusive Sanitation -CWIS) योजना अनुमोदन गर्ने भएको छ । नगरपालिकाले आगामी नगर परिषदबाट अनुमोदन गर्ने गरी नगरस्तरीय समावेशी सरसफाइ (CWIS) योजनालाई अन्तिम रुप दिएको हो । 500 बी सोलुसन्सको आर्थिक तथा प्राविधिक सहयोगमा तयार पारिएको योजनालाई नगरपालिकाका मेयर, उपमेयर, कार्यपालिका सदस्यहरु, खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितिमा वृहत छलफल गरी योजनालाई अन्तिम रुप दिईएको हो ।

नगरस्तरीय समावेशी सरसफाइ योजना बनाउनका लागि ५०० बी सोलुसन्सले सुरुमा योजना निर्माणका लागि नगरपालिकासँग समझदारी गरेको थियो । त्यसपछि नगरपालिकाको समग्र सरसफाइको अवस्था विश्लेषण गरिएको सोलुसन्सका स्यानिटेसन प्लानिङ कोअर्डिनेटर फूर्वा साङ्गे मोक्तानले बताउनुभयो । उहाँका अनुसार CWIS योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी गरिएको थियो भने यसको प्रविधि, विकल्प, वित्तिय आवश्यकता र संस्थागत संरचनाबारेमा विस्तृत विश्लेषण गरिएको थियो । नगरपालिकाका सरोकारवाला पक्षसँग विभिन्न चरणमा गरिएको आन्तरिक छलफलबाट फाइनल गरिएको CWIS योजना लाई अनुमोदनको लागि पुनः छलफल गरिएको हो ।
500 बी सोलुसन्सले गरेको अध्ययन अनुसार चाँगुनारायण नगरपालिकाको ९९.४ प्रतिशत घरमा शौचालय सुविधा छ । ती मध्ये ४७ प्रतिशत घरले शौचालयको सेप्टिक ट्याङ्क नियमित खाली गरिरहेका छन् ।

यस्तो छ, नगरस्तरीय समावेशी सरसफाइ CWIS योजना
चाँगुनारायण नगरपालिकाले नगरस्तरीय समावेशी सरसफाइ CWIS योजनालाई कार्यान्वयन गरिने समयको आधारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी विभाजन गरिएको छ । १ बर्षभित्रै सम्पन्न गर्न सकिने कामलाई अल्पकालीन, २ देखि ३ बर्ष समय लाग्ने कामलाई मध्यकालीन र ४ देखि ५ बर्ष समय लाग्ने कामका लागि दीर्घकालीन भनेर निर्धारण गरेको छ ।
नगरपालिकाले अल्पकालीन योजना अन्तर्गत मानवमलमूत्र व्यवस्थापन सम्बन्धी सचेतना अभिवृद्धि गर्ने, स्थलगत सरसफाइ प्रणालीको लागि विनियम तयार पार्ने, नयाँ बन्ने घरहरुमा सोक पिट सहितको मापदण्डयुक्त सेप्टिक ट्याङ्क बनाउन लगाउने, नगरपालिकाका इन्जिनियरहरुलाई सेप्टिक ट्याङ्कको मापदण्ड निर्धारण गर्न लगाउने लगायत छन् ।
यस्तै मध्यकालीन योजना भित्र मानव मलमूत्र व्यवस्थापन सम्बन्धी विनियमको कार्यान्वयन गर्ने, मापदण्ड अनुरुपको सेप्टिक ट्याङ्क निर्माण गर्न लगाउने र घर निर्माण गर्ने मिस्त्रीहरुलाई मापदण्ड अनुरुपको सेप्टिक ट्याङ्क निर्माण गर्न क्षमता अभिवृद्धि गर्ने र वर्तमान सेप्टिक ट्याङ्क भनिएका होल्डिङ ट्याङ्कहरुको स्तरोन्नति गर्ने उल्लेख छ ।

दीर्घकालीन कार्यक्रम अन्तर्गत नगरपालिकाको आफ्नै एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने र त्यसभित्र दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरी नगरपालिका भित्रको मानवमूत्र प्रशोधन गर्ने लक्ष्य छ ।
नगरपालिकाको वडा नं. १ देखि ५ सम्म घना वस्ती रहेको र भौगोलिक हिसाबले पनि ती भेगको शौचालय ढल प्रणालीमा जडान गर्न सकिने प्रस्ताव गरिएको छ । नगरपालिकाको वडा नं. ६ देखि ९ सम्मको भुभागमा भने सेप्टिक ट्याङ्क निर्माण गरी स्थलगत सरसफाइलाई प्रबर्द्वन गर्न सकिने उल्लेख छ ।
नगरपालिकाले दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्नका लागि अध्ययन गरिएका सम्भाव्य ठाउँहरु मध्ये सुडाल र बागेश्वरीको सीमानामा पर्ने घट्टेखोलामा २५ रोपनी ७ आना जग्गा प्राप्तिको काम अगाडि बढाएको छ ।
अहिले चाँगुनारायण नगरपालिका क्षेत्रबाट दैनिक ११ हजार लिटर दिसाजन्य लेदो ट्याङ्करले खाली गरिरहेको छ । यदि होल्डिङ ट्याङ्कहरुलाई पनि स्तरोन्नति गरी नरसाउने, नचुहिने सेप्टिक ट्याङ्क बनाउने हो भने दैनिक २१ हजार लिटर प्रशोधन क्षमताको प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने ५०० बी सोलुसन्सकी योगिता राजचलले जानकारी दिनुभयो ।
CWIS योजना धेरै राम्रो अवधारणा हो : सचिव गेलाल
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले ठूला ठूला शहरमा ढल प्रणाली मार्फत फोहोरपानी प्रशोधन केन्द्रमै प्रशोधन गर्नुपर्ने भएपनि ग्रामीण इलाकामा दिसाजन्य लेदो प्रशोधन केन्द्र नै उत्तम विकल्प हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सचिव गेलालले चाँगुनारायण नगरपालिकाको वडा नं. १ देखि ५ सम्म ढल प्रणालीमा जडान गर्न सम्भाव्य रहेको र ६ देखि ९ सम्म सेप्टिक ट्याङ्क सिस्टममा जानुपर्ने बताउनुभयो ।
उहाँले वडा नंं १ देखि ३ सम्म र वडा नंं ४ को आंशिक घरधुरीको ढललाई सल्लाघारीमा निर्माण भईरहेको फोहोरपानी प्रशोधन केन्द्रमा लगेर प्रशोधन गर्न सकिने बताउनुभयो । बरु यसका लागि आफ्नो तर्फबाट ढल निर्माणका लागि बजेट विनियोजन गर्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँ चाँगुनारायण नगरपालिकाको स्थायी बासिन्दा समेत हुनुहुन्छ ।
सिटी वाईड इन्क्लुसिभ स्यानिटेसन प्लान धेरै राम्रो अवधारणा भएको र भारतमा यही अवधारणाका कारण सबै जनतासम्म सरसफाइ सुविधा विस्तार भईरहेको उहाँले बताउनुभयो । ‘यो अवधारणा अनुसार सरसफाइ सेवाबाट कोही पनि बञ्चित हुनु पर्दैन । यसलाई हामी सबै मिलेर सफल बनाउनुपर्छ’ उहाँले आग्रह गर्नुभयो ।
उहाँले योजना कार्यान्वयनका लागि आर्थिक स्रोतको आवश्यकता पर्ने र यसका लागि समेत प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लागत सहभागितामा निर्माण गर्न प्रतिबद्ध छौं : कार्यकारी निर्देशक राणा

काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सञ्जीव विक्रम राणाले CWIS योजना कार्यान्वयनका लागि रकम अभावले अधुरो नरहने बताउनुभयो । उहाँले दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणमा लागत सहभागिताको आधारमा बजेट लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यकारी निर्देशक राणाले ढल प्रणालीमा जडान हुने क्षेत्रमा सेप्टिक ट्याङ्क निर्माण गरिरहनु नपर्ने बताउनुभयो । ढल नभएको क्षेत्रमा भने मापदण्ड अनुसारको सेप्टिक ट्याङ्क बनाउन आग्रह गर्नुभयो । अहिले भएका जस्तो होल्डिङ ट्याङ्कले प्रशोधनको सट्टा पानीलाई प्रदुषण गराउने भएकाले यस्तो संरचनाको सुधारका लागि अब नगरपालिकाले पहलकदमी लिनुपर्ने उहाँको भनाइ थियो ।
बजेट सहित नगरपरिषदबाट अनुमोदन गर्छौ : नगर प्रमुख खत्री
चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले अबको नगर परिषदबाट बजेट सहित CWIS योजनालाई अनुमोदन गरिने बताउनुभयो । उहाँले सुझावको रुपमा आएका बिषयहरुलाई समेत समेटेर नगरपरिषदले अनुमोदन गर्ने र कार्यान्वयनका लागि अघि बढाउने बताउनुभयो ।

‘अब डिपीआर निर्माणमा अगाडि बढ्छौं, हामी सबैको प्रयासबाट नगरव्यापी समावेशी सरसफाइ योजना कार्यान्वयन हुनेमा म विश्स्त छु’ उहाँले भन्नुभयो ।
उहाँले यसका लागि आवश्यक ऐन, नियम, कार्यविधिहरु नगर परिषदबाट पारित गरेर अगाडि बढाईने र खानेपानी र सरसफाइ सम्बन्धी योजना कार्यान्वयनका लागि ‘वास फण्ड‘ खडा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाको वास शाखाका प्रमुख सुरेन्द्र लामिछानेले जनप्रतिनिधी र वास सहजकर्ताहरु सम्मिलित टोलीले स्याङ्जाको वालिङमा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्रको अध्ययन अवलोकन समेत गरेको जानकारी गराउँदै आफ्नो नगरपालिका भित्र निर्माणमा ढिलाई गर्न नहुने बताउनुभयो ।
उहाँले यसको निर्माणबाट वातावरणीय सफाइमा सुधार आउने, मानवीय स्वास्थ्यको रक्षा हुने र सरसफाइको कमीबाट कसैले ज्यान गुमाउनु नपर्ने बताउनुभयो ।



2262 पटक हेरिएको 

