सरकारले फोहोर व्यवस्थापनका लागि संस्थागत प्रबन्ध मिलाउने

फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र पुनःस्थापना गर्ने संकेत

  वास खबर सम्वाददाता  359 पटक हेरिएको

काठमाडौ : सरकारले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नीतिगत तथा संस्थागत प्रबन्ध गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न भू‐भागका ठूला शहरको फोहरमैलाको दिगो र निर्वाध व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिने उल्लेख गरिएको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ठूला शहरको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि संस्थागत प्रबन्ध मिलाउनुका साथै स्थानीय तहहरूलाई फोहोरमैला व्यवस्थापन र बहुउपयोगका लागि आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराइने बताउनुभयो ।

मुलुक संघीय संरचनामा जानु अघि ‘फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र’ नामक संस्था थियो । सहयोग केन्द्रले फोहोरमैलाको व्यवस्थापन गर्न प्राविधिक सहयोग उपलब्ध गराउँथ्यो ।

संघीयता कार्यान्वयन सँगै खारेज भएको ‘फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र’ को पुनःस्थापना हुनुपर्नेमा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले माग गर्दै आएका छन् । सरकारको नीति तथा कार्यक्रमले उक्त मागलाई सम्बोधन गर्न खोजिए जस्तो देखिन्छ ।

फोहोरमैला व्यवस्थापनको क्षेत्रमा केन्द्रीय नियामक निकाय नहुँदा विभिन्न नीतिगत निर्णयहरु गर्न कानुनी व्यवधान सिर्जना हुने गरेका विभिन्न दृष्टान्तहरु समेत छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार