जहाँ वडाभरिका महिलाले निःशुल्क प्याड पाउँछन्

  वास खबर सम्वाददाता  168 पटक हेरिएको


सुर्खेत : सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं. १ भरिका महिलाहरुले स्यानिटरी प्याड निःशुल्क पाउँछन् । वडा नंं. १ को कार्यालयले धारापानी आधारभूत स्वास्थ्य केन्द्र मार्फत वडाभरिका महिलाहरुको लागि निःशुल्क प्याडको व्यवस्था मिलाएको हो ।

वडा अध्यक्ष दिनेश खत्रीले आमाका लागि छोरीले र छोरी गएर आमाको लागि स्यानिटरी प्याड लिन सकिने बताउनुभयो । बस्तीहरु छरिएर रहेकाले महिनै पिच्छे स्वास्थ्य चौकी पुगिरहन नसक्ने भएकाले एकैपटक दुई महिनाका लागि प्याड उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

‘उहाँहरु स्वास्थ्य चौकी जानुहुन्छ, नाम टिपाउनुहुन्छ । हामीले सुरुमा सम्बन्धित व्यक्ति नै उपस्थित गराएर मात्र दियौ । त्यसपछि चाहिं एकाघरका व्यक्ति भन्दा बाहिरकाको लागि नदिउ तर आमाको लागि छोरीलाई र छोरीको लागि आमालाई सम्म दिउँ भनेर अहिले यसरी वितरण भईरहेको छ’ वडाध्यक्ष खत्रीले भन्नुभयो ।

सबै महिलासँग प्याड किन्ने आर्थिक हैसियत नहुँदा जथाभावी कपडाहरु प्रयोग गर्ने र फोहोर कपडाको प्रयोगले संक्रमण हुने सम्भावना भएकाले वडाले निशुल्क प्याडको व्यवस्था गरिएको हो । वडाले यसको व्यवस्थापनमा पनि ध्यान दिईरहेको र वितरण गर्ने बेला नै स्वास्थ्य चौकीले पनि प्याडको सुरक्षित व्यवस्थापन बारे बताउँदै आएको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

महिनावारीका बेला पर्याप्त सरसफाई नहुँदा हुनसक्ने स्तन तथा पाठेघरको जोखिम र अन्य यौन रोगहरुबाट बच्न निःशुल्क प्याड वितरण कार्यक्रमले सहयोग पुगेको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । ‘महिनावारीका बेला प्याडको अभावले धेरैजसो महिला दिदीबहिनीहरुको पूर्ण सरसफाई हुँदैन, यसबाट हुन सक्ने जोखिम तथा संक्रमणबाट बच्न निशुल्क प्याड वितरणले सहयोग पुर्‍याएको छ’ उहाँले भन्नुभयो ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निशुल्क प्याड वितरण गरेपनि महिलाहरुका लागि भने यस्तो सुविधा छैन। यो कार्यक्रमले महिलाहरुलाई महिनावारीका बेला स्वास्थ्य, सरसफाई र स्वच्छताका बारेमा समेत खुलेर कुरा गर्ने वातावरण सिर्जना भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार