महिनावारी ट्रयाक गर्ने विश्वव्यापी एप ‘ओकी’ नेपालमा पनि शुभारम्भ

  वास खबर सम्वाददाता  1462 पटक हेरिएको

काठमाडौ : महिनावारी ट्रयाक गर्ने विश्वकै पहिलो एप ओकी (Oky) नेपालमा पनि शुभारम्भ गरिएको छ । विश्व महिनावारी दिवसको अवसरमा एन्एफसीसी, सिमाभी र युनिसेफ नेपालको संयुक्त आयोजनामा ओकी नेपालको शुभारम्भ भएको घोषणा गरिएको हो । ओकी एपले महिनावारी सम्बन्धी जानकारीलाई रमाइलो, सिर्जनात्मक र सकारात्मक तरिका प्रवाह गर्दछ । महिनावारी भएको समयमा हुने शारीरिक तथा मानसिक पीडा, नैराश्यता हटाउन एपले मद्दत मिल्ने अपेक्षा गरिएको छ ।


महिनावारी ट्रयाक गर्ने ओकी एप किशोरीहरुको लागि र किशोरीहरुकै साथमा बनाइएको र संसारभरका युवाहरूलाई प्रयोग गर्नका लागि खुल्ला रहेको एन्एफसीसीका कार्यकारी निर्देशक पेमा ल्हकीले बताउनुभयो । ओकीले किशोरीहरुलाई उनीहरुको महिनावारी ट्रयाक गरेर र सबै किशोरीहरुले थाहा पाउनु पर्ने जानकारी दिएर किशोरीहरुलाई आफ्नो महिनावारी प्रति नियन्त्रित र निर्धक्क गराउने उहाँको भनाइ छ ।

ओकी एप कसरी चलाउने ?

ओकी नेपाल एप प्रयोग गर्नको लागि, शुरुमा https://okyapp.info लग इन गरी ओकी नेपाल एप डाउनलोड गरी इन्स्टल गर्नुपर्दछ । त्यसपछि आफ्नो खाता खोल्नुपर्छ । खाता खोल्ने कुरा ऐच्छिक हो तर खाता खोल्दा तपाईंले आफ्नो महिनावारी र अन्य स्वास्थ्य जानकारीहरु (जस्तै शरीर, मुड, गतिविधि र तपाईंको दैनिक डायरी कार्ड) ट्र्याक गर्न अनुमति दिन्छ । तपाईंले खाता खोल्नु भएन भने पनि एपको विश्वकोशमा (इन्साइक्लोपेडिया) मा उल्लिखित जानकारी हेर्नसक्नुहुनेछ ।
खाता खोल्ने समयमा तपाईंलाई प्रयोगकर्ताको नाम उल्लेख गर्न वा तपाई जन्मेको साल र महिना, तपाईंको लिङ्ग र स्थान (देश र प्रदेशको नाम) सहित नाम उल्लेख गर्नुपर्दछ । बिशेष गरी १८ बर्ष भन्दा कम उमेरको किशोरीहरुलाई आफ्नो पहिचान हुन सक्ने गरी वास्तबिक नाम तथा अन्य जानकारीहरु नराख्न प्रोत्साहन गरिएको छ ।

 

ओकि नेपाल महिनाबारीको बारेमा निगरानी गर्न सिकाउने साथै महिला स्वास्थ्य बारे जानकारी प्रदान गर्ने एप हो । काठमाडौ उपत्यकाका ७ वटा स्कुलका १७० जना किशोरीहरुले यस एपको प्रयोग गरी परिक्षण गरिसकेका छन् । ती किशोरीहरुलाई एपको प्रयोगबारे अभिमुखीकरण गराई एक महिना पछाडि फलोअप गरिएको NFCC की प्रोग्राम म्यानेजर रुबिना छन्त्यालले बताउनुभयो ।

NFCC ले दोस्रो चरणमा ४ वटा विद्यालयका ८० जना किशोरीहरु र ७१ जना अभिभावकहरुसँग इन्टरनेट तथा मोबाइलको उपलब्धता लगायत बिषयमा सर्वेक्षण गरिएको थियो । त्यस क्रममा अधिकांश किशोरीहरुले मोबाइल फोन र इन्टरनेटको पहुँच रहेको बताएका थिए ।

तेस्रो चरणमा ओकी एप प्रयोग गर्न सक्ने किशोरीहरुको सम्भावित विभिन्न रुप (Avatar) निर्माण गरिएको थियो भने चौथो चरणमा ५ वटा विद्यालयका ३६ जना किशोरीहरुलाई ६ वटा समूहमा विभाजन गरी ओकी एपको फिचरहरु एवं नयाँ बिषयवस्तुका बारेमा लक्षित समूह छलफल गरिएको प्रोग्राम म्यानेजर छन्त्यालले बताउनुभयो ।

Oky नेपालका विशेषताहरु :


ओकी नेपाल प्रयोगकर्ताले आफ्नो एप खोलेपछि क्यालेन्डर देख्नसक्नुहुन्छ । उक्त क्यालेन्डरले प्रत्येक महिना तपाईंले कहिले महिनावारी हुने सम्भावित दिन हो उक्त कुरा बताउँछ । तपाईं दिन वा महिनाको लागि विभिन्न क्यालेन्डर दृश्यहरू छनौट गर्न सक्नुहुन्छ र तपाईं अनुरूप महिनावारीको पूर्वानुमान प्राप्त गर्न सक्नुहुन्छ । याद गर्नुपर्ने कुरा के हो भने ओकी नेपालले पूर्वानुमान मात्रै गर्छ, र किनकी धेरै जसो किशोरीहरूमा अनियमित महिनावारी हुने गर्दछ, यसले गर्दा पूर्वानुमान सधैँ ठिक नहुन सक्छ ।

 

 


तपाईंलाई एप चलाउन सहज गराउने तपाईंको ओकी साथी छनौट गर्नुहोस् र आफु अनुसारको थिम (विषयवस्तु) छानेर ओकी लाई आफ्नो बनाउनुहोस् । तपाईंले जुनै समयमा पनि आफ्नो इच्छा अनुसार तपाईंको ओकी साथी र थिम परिवर्तन गर्न सक्नुहुन्छ ।

ओकी एपमा रहेको ‘इन्साइक्लोपेडिया’ ज्ञानको भण्डार हो । ओकीको इन्साइक्लोपेडियामा तपाईंले महिनावारी र तपाईंको शरीर बारे थाहा पाउन पर्ने सबै कुरा छन् । यो भरपर्दो र गुणस्तरीय जानकारीले भरिपूर्ण छ, जसको जाँच विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरुले गरेका छन् ।

आफूलाई चिन्नको लागि हरेक दिन तपाईं कस्तो महसूस गर्नुहुन्छ त्यसको बारेमा ट्रयाक राख्न सक्नुहुन्छ । साथै, स्वस्थ र खुसी रहन टिप्स प्राप्त गर्न सक्नुहुन्छ । तपाईंलाई रमाइलो तरिकाले सिक्न सहयोग गर्नको लागि हाजिरी जवाफहरुमा सहभागी हुन सक्नुहुन्छ ।

ओकी एप किशोरी केन्द्रित हुनुका साथै आकर्षक रहेको छ । गेमिफाईड अप्प्रोचको प्रयोग गरेर यसले सिकाईलाई रमाइलो र महिनावारी ट्रयाकिंगलाई विवेकपूर्ण बनाउछ । ओकीको गेमिफाईड डिजाइनद्वारा, प्रयोगकर्ताहरुले एप लाई व्यक्तिगत रुपमा ढाल्न, आफ्नो अवतार र थिम (विषयवस्तु) छनौट र अनलक गर्न, हाजिरी जवाफहरु खेल्न र आफ्नो अवतारहरू बाट म्यासेज प्राप्त गर्न सक्छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार